coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बूढानीलकन्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी आफ्नो क्षेत्रका अधिकांश स्थानमा घरदैलो सकाएर अन्तिम दिन भोट माग्न बूढानीलकन्ठको चपली पुगेका थिए ।

सेना र प्रहरीको सुरक्षा घेरामा हिँडेका प्रधानमन्त्री, मन्त्री र पूर्वमन्त्रीसमेत आक्रमणकारीको निसानामा

सहयोगीसहित चपली पुगेका उनी घरदैलो कार्यक्रममा अग्रपंक्तिमा थिए । समर्थक नाराबाजीसहित पछिपछि थिए । एक्कासि केही पड्किएको आवाज आयो । थापालाई कसैले केही पदार्थले हिर्काएझै लाग्यो । भागाभाग भयो । थापाको कानबाट रगत आइरहेको थियो ।  प्रचारमा हिँडेकासहित १० जना विष्ष्फोटबाट घाइते भए । थापासँगै घाइते भएका जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रवीन्द्र कार्की, काशीलाल श्रेष्ठ, पर्शुराम थापा र सुमन खड्कालाई तत्कालै उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगियो ।
कान र ढाडमा चोट लागेका थापा उपचारपछि चुनावी प्रचारमा खटिए भने अन्य घाइते अस्पतालमै छन् । घाइतेमध्ये लामिछाने, राजकाजी, रेणु र श्यामको अवस्था गम्भीर छ ।
प्रहरीको अनुसन्धानमा चुनावी अभियानलक्षित गरेर बाटोमा बम प्लान्ट गरी रिमोट कन्ट्रोलमार्फत पड्काएको देखिएको छ । घटना कसले गराएको हो भन्नेबारे सुरक्षा निकायले खुलाएको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रामदत्त जोशीका अनुसार घटनामा संलग्न रहेको आशंकामा ४० जनालाई पक्राउ गरिएको छ । उनले भने, ‘घटनास्थलमा फलामका टुक्रा फेलापरेका छन् । वरिपरिका घरका शिशा फुटेका छन् । विस्फोटको प्रकृति हेर्दा ठूलै मानवीय क्षति गराउन खोजेको देखिन्छ । तर, संयोगले ठूलो क्षति हुन पाएन ।’  
पहिलो चरणको निर्वाचन प्रचारप्रसार सुरु भएलगत्तै बम प्रहारका घटना बढेका हुन् । पहिलो चरणको मतदान सकिएसँगै दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये काठमाडौं, ललितपुर र भक्तपुरकेन्द्रित विस्फोटका घटना बढ्नसक्ने भन्दै गृहमन्त्रालयले विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको थियो । उपत्यका प्रवेश गर्ने नाकामाा कडाइ, आकस्मिक जाँचसँगै काठमाडौंमा मात्रै ६२ स्थानमा विशेष जाँचलाई निरन्तरता दिइएको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार महानगरीय प्रहरी आयुक्तको कार्यालयले काठमाडौंको जोरपाटी,  नयाँबस्ती, कपन, बूढानीलकन्ठ, गौरीघाट र भित्री सहरी इलाका, पाटन, ललितपुरको दक्षिणी भेग र कीर्तिपुरका केही क्षेत्रलाई नेत्रविक्रम चन्द ‘विप्लव’ प्रभावित क्षेत्रको सूचीमा राखेको छ ।
प्रहरी विश्लेषणमा ललितपुरको आस्राङ, कालेश्वर, गिम्दी, ठूलो दुर्लुङ, सानो दुर्लुङ, प्युटार, माल्टा सुरक्षाको दृष्टिले जोखिमयुक्त देखिएका छन् ।  सुरक्षा विश्लेषण आधारमा ती क्षेत्रमा जाँचमा कडाइ गरिएको प्रहरीले दाबी गर्दै आएको छ । तर ती क्षेत्रमै विस्फोटका घटना बढेका छन् ।
थापामाथि बम प्रहार भएको क्षेत्रलाई प्रहरीले पहिल्यै निर्वाचन विरोधी समूह क्रियाशील रहेको सूचीमा राखेर विशेष सुरक्षा रणनीति अपनाएको दाबी गरेको थियो । सोहीअनुसार कपन, बूढानीलकन्ठ क्षेत्रमा चुनावी प्रचारमा खटिने उम्मेदवारसँगै सुरक्षाकर्मी पनि खटिने गरेका थिए ।
आयुक्त कार्यालयका प्रवक्ता पूर्णचन्द्र जोशीका अनुसार चुनावी सुरक्षा रणनीतिअन्तर्गत घेराउ र जाँच, क्विक रेस्पोन्स टिम, पुल, नाका चेकिङ, होटल र लजकेन्द्रित जाँच, उम्मेदवारलाई अगंगरक्षक र सादा पोसाकमा प्रहरी परिचालन बढाएको छ ।
प्रहरीले चुस्त सुरक्षा प्रबन्ध मिलाएको दाबी गरे पनि विष्फोटका घटना रोकिएका छैनन् । सोमबार घरदैलोमा निस्किएका थापा सुरक्षाकर्मीसँगै थिए । तर सम्भावित खतराको आँकलन, सुरक्षा अवस्था विश्लेषण गरी उम्मेदवारकेन्द्रित सुरक्षामा चुक्दा थापा घाइते भए ।
सोमबार नै काठमाडौंको लाजिम्पाटस्थित एभरेस्ट बैंकअगाडि क्यान बम, महाराजगन्जमा विस्फोटक पदार्थ, ललितपुरको च्यानडाँडास्थित जंगलमा र भक्तपुरको गुन्डुमा प्रेसरकुकर बम फेलापरेको छ ।
यसअघि प्रधानमन्त्रीको बूढानीलकन्ठस्थित निजी निवासनजिकै बम विस्फोट भएको थियो भने रक्षामन्त्री भीमसेनदास प्रधानको घरनजिक बम फेलापरेको थियो । ललितपुरको युएनपार्कमा, लगनखेल र भक्तपुरमासमेत विस्फोट भएका छन् । सोमबारको घटनाबाहेक अन्य विस्फोटमा कोही घाइते भएका छैनन् ।
 

सुरक्षा घेराभित्रै आक्रमण
सोमबार विस्फोटमा परी घाइते भएका थापाले पूर्वस्वास्थ्यमन्त्रीको हैसियतमा एक प्रहरी सुरक्षाकर्मी पाएका छन् । ती सुरक्षाकर्मी सधैं थापासँगै हुन्छन् । उम्मेदवारको सुरक्षाका लागि काठमाडौं परिसरले छुट्टै सुरक्षाकर्मीसमेत खटाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी ३ लाख बढी सुरक्षाकर्मी चुनावी सुरक्षामा परिचालन गरे पनि सेना र प्रहरीको सुरक्षा घेरामा हिँड्ने प्रधानमन्त्री, पूर्वप्रधामन्त्री, मन्त्री र पूर्वमन्त्रीसमेत विस्फोटबाट जोगिन सकेका छैनन् । उनीहरू लक्षित विस्फोटका घटना भएका छन् ।
विस्फोटको प्रारम्भ नै प्रहरी र सशस्त्रको सुरक्षा घेरामा रहेका विनाविभागीय मन्त्री जनार्दन शर्मामाथि आक्रमणबाट भएको थियो । प्रधानमन्त्री सहभागी हुने कार्यक्रमस्थल वरिपरि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो सुरक्षा घेरा हुन्छ । जिल्ला सुरक्षा समितिले प्रधानमन्त्री सहभागी कार्यक्रमका लागि उच्चतहको सुरक्षा घेरा बनाएको हुन्छ ।
दाङको तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सभानजिकै बम पड्कदा म्यादी प्रहरी विनोद चौधरीको ज्यानै गयो । आइतबार धनगढीमा देउवा बस्ने होटलको ३ सय मिटरमै बम फेलापरेको थियो ।
राज्यमन्त्री शम्भुलाल श्रेष्ठको सर्लाहीमा रहेको घरमा पनि विस्फोट भएको छ  । पूर्वउपप्रधानमन्त्री रामचन्द्र पौडेल, पूर्वअर्थमन्त्री रामशरण महत, वर्षमान पुन, पूर्वगृहमन्त्री कृष्ण सिटौला, पूर्वमन्त्री शेरधन राई, पूर्वसभामुख ओनसरी घर्तीसमेत आक्रमणकारीको निसानामा परिसकेका छन् ।
बहालवाला र पूर्वपदाधिकारीको हैसियतमा यी सबै उम्मेदवार आवश्यकताअनुसार सेना, प्रहरी र सशस्त्रको सुरक्षा घेरामा हिड्छन् । आफ्नै सुरक्षा घेरामा रहेका उम्मेदवारलाई समेत विस्फोटबाट जोगाउन नसक्नु ठुलो सुरक्षा कमजोरी हो ।
 

अधिक बम नक्कली
पहिलो चरणको निर्वाचन प्रचार सुरु भएदेखि दोस्रो चरणको मतदान निकटसम्म मुलुकभर ५० बढी विस्फोटका घटना भइसकेका छन् । सोमबार मध्यरात १२ बजेबाट मौन समय सुरु हुने भएपछि सोमबार दोस्रो चरणको निर्वाचनका उम्मेदवार प्रचारप्रसारमा व्यस्त हुँदा विस्फोटका घटनाको संख्यासमेत बढ्यो । सोमबार धनगढी उपमहानगरपालिका–५, हसनपुरमा टिफिन बम फेलापरेको थियो ।
तनहुँको आबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय अभियान श्रेष्ठको घरबाट मेड इन युएसए लेखेको पेस्तोल ४ थान, त्यसको गोली ३९ राउन्ड र म्याग्नमको गोली ४८ राउन्ड फेला प¥यो । श्रेष्ठ, विजय गुरुङ र सोही ठाउँका जय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबारै डडेल्धुराको पर्शुराम नगरपालिका–१२, लालढुंगा बसपार्कनजिक प्रेसरकुकर बम फेलाप¥यो । माटोमुनि बोरामा राखिएको बम सेनाले निष्क्रिय बनाएको थियो । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–९, नयाँबजारमा पनि प्रेसरकुकर बम फेलापरेको थियो ।
प्रहरी प्रवक्ता मनोज न्यौपाने फेलापरेका अधिकांश बम नक्कली भेटिएको बताए । क्यान, प्रेसरकुकरलगायतमा तार र ब्याट्री जोडेर राखेपछि निष्क्रिय बनाउँदा माटो, भुस भरेर राखेको भेटिने गरेको उनले बताए । ‘रक्षामन्त्रीको घरनजिक शंकास्पद वस्तु रहेको सूचना आधारमा निष्क्रिय बनाउने टोली खटियो तर नक्कली रहेछ,’ न्यौपानेले भने, ‘निर्वाचन विरोधी समूहले आफ्नो उपस्थिति देखाउन नक्कली बम राख्ने गरेको देखियो ।’
 

पक्राउ ८ सयमा ८ बम पड्काउने
निरन्तर विस्फोटक पदार्थ पड्किए पनि गृहले अहिलेसम्म घटनामा संलग्न समूहबारे केही खुलाएको छैन । निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले ८ सय बढीलाई पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउमध्ये ८ जना बम विस्फोट गराउन संलग्न देखिएका छन् ।
निर्वाचन विरोधी र बम पड्काएको आरोपमा पक्राउ परेका अधिकांश विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता छन् । प्रहरी प्रवक्ता न्यौपानेका अनुसार कास्कीको ३ ठाउँमा बम पड्काएको आरोपमा मिलन राई, कुमार तामाङ र दिलबहादुर सुनार पक्राउ परेका छन् । तीनैजना विप्लव समूहका सदस्य हुन् ।
बारामा काजी तिमल्सिना, संखुवासभामा बम पड्काउने छत्रमणि अधिकारी, भोजपुरमा महेन्द्र  तामाङ पक्राउ परेका छन् । यी सबै विप्लवका कार्यकर्ता हुन् । सिरहामा प्रहरी गस्तीमा गोली हान्ने तीनजना पक्राउ परिसकेको न्यौपानेले बताए । ती लुटेरा रहेको र उनीहरूले प्रहरीबाट जोगिन आक्रमण गरेको खुलेको न्यौपानेले जानकारी दिए ।
 

आवश्यकताअनुसार बल प्रयोग गर : गृह
गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधिमा संलग्न समूहविरुद्ध आवश्यक बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । सोमबार काठमाडौंमै विस्फोटमा परी उम्मेदवार गगन थापासहित सर्वसाधारण घाइते भएपछि गृहले केन्द्रीय, क्षेत्रीय र जिल्लास्थित सुरक्षा निकाय र समितिलाई सशक्त सुरक्षा कारबाही र कानुनबमोजिम बल प्रयोग गर्न निर्देशन दिएको हो ।
स्थानीय प्रशासन ऐनले सुरक्षा चुनौती विश्लेषण आधारमा सामान्य बल प्रयोग गर्नेदेखि गोली प्रहार गर्नेसम्मको अधिकार सुरक्षाकर्मीलाई तोकेको छ । निर्वाचलाई निस्पक्ष र भयरहित बनाउन मन्त्रालयले कडा सुरक्षा कारबाही गर्न कुनै कसर बाँकी नराख्ने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
 

आक्रमणको निन्दा
थापामाथि भएको बम आक्रमणको चौतर्फी निन्दा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रमणको निन्दा गर्दै ट्विटमार्फत भनेका छन्, ‘यस्ता कृत्यमा संलग्न हुनेलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ शान्तिसुरक्षाका जिम्मेवारी रहेको गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा रहेको छ ।
एमाले नेता प्रदीप ज्ञवाली, विकेकशील साझा पार्टीका सहअध्यक्षहरु रवीन्द्र मिश्र र उज्ज्वल थापासहित समाजका विभिन्न तह र तप्काबाट सो घटनाको भत्र्सना भएको छ । आक्रमणकारीलाई काँतरको संज्ञा दिँदै रवीन्द्रले लेखेका छन्, ‘काँतरहरुले संसारमा कहिल्यै पनि जित्न सक्दैन । गगन थापालाई आक्रमण गर्ने काँतरहरुमाथि कडा कारबाही होस् ।’

प्रकाशित: १९ मंसिर २०७४ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App