८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचारको मैजारो गर्दै उम्मेदवार

इलाम– मतदाताबीचमा आफ्नो ‘भाग्यपरीक्षा’ गराउन २ दिन मात्रै बाँकी रहँदा प्रदेश नम्बर १ का उम्मेदवार आज (सोमबार) चुनावी प्रचारलाई मैजारो गर्दैछन् । ‘हेभिवेट’सहितका उम्मेदवार आइतबारसम्म चुनावी आमसभा र घरदैलोमै व्यस्त रहेपनि सोमबर घरदैलो छाडेर जिल्लास्तरका आमसभा आयोजना गर्दैछन् ।
    सोमबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले शुक्रबार, शनिबार र आइतबार उम्मेदवार चुनावी प्रचारको दौडधुपमा लागेका थिए । प्रचार अवधि छोटिँदै गएपनि एकै दिन १५ वटासम्म साना–ठूला औपचारिक कार्यक्रममा उम्मेदवार व्यस्त भइरहेका थिए ।
    प्रदेश १ का १४ मध्ये ७ जिल्ला इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर, धनकुटा र तेहथुममा आउँदो २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदैछ । यो प्रदेशका ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, संखुवासभा र भोजपुरमा गत १० गते नै निर्वाचन सकिएकाले मतगणना मात्रै बाँकी छ ।
    निर्वाचन हुन लागेका ७ जिल्लाका उम्मेदवार दिन–रात मतदाता रिझाउन लागिपरेका छन् । आउँदो निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरू सुनीलबहादुर थापा, ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्रीहरू मिनेन्द्र रिजाल, कृष्णप्रसाद सिटौला, महेश आचार्य, लालबाबु पण्डितलगायतका नेतासमेत भिड्दै गरेकाले प्रदेशभर चुनावी सरगर्मी बढेको छ । प्रचार गर्न पाउने अन्तिम दिन सामेबार गाउँ र टोलभन्दा पनि जिल्लास्तरका कार्यक्रमका नेता–कार्यकर्ता भेला भइरहेका छन् ।
    झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष ओली दिनहुँ दर्जनौं औपचारिक र अनौपचारिक कार्यक्रमको दौडधुपमा थिए । उनी शनिबार दमकको आमसभा सकेर इटहरी हुँदै उदयपुरको कार्यक्रममा पुगे । ओलीले आफ्नो क्षेत्रका मतदातामाझ शनिबार भने, ‘अब म अरू जिल्लाको कार्यक्रममा जानुछ, तपाइँहरूसँग विजयोत्सवमा भेटौंला ।’ ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मात्रै ७ आमसभामा सम्बोधन गरेका थिए ।
    ‘यो निर्वाचन क्षेत्रमा चुनावका लागि सबै तयारी पूरा भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले नागरिकसँग भने, ‘अध्यक्ष ज्यू राति करिब ३–४ घण्टामात्रै सुतेर सबै समय मतदातासँगको भेटघाटमै व्यस्त हुनुहुन्छ ।’ ओलीले झापामा रहुञ्जेल सम्भव भएसम्म टोल–टोल पुगेर मतदातालाई भेटेको अधिकारीले बताए । तर, सबै मतदाताको घरैसम्म पुग्न भने सम्भव नभएको उनले जनाए ।
    सुनसरी–३ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले चुनावी तयारी अन्तिम चरणमा पु¥याएका छन् । दिनहँुजसो कोणसभा, आमसभा र घरदैलो अभियानसमेतमा पुगेका गच्छदार अब जिल्लास्तरको आमसभामा व्यस्त छन् । नेपाली कांग्रेस सुनसरीका रोहित प्रसाईंका अनुसार गच्छदारले चुनावी अभियान अन्तिम चरणमा पु¥याएका छन् । ‘उहाँ (गच्छदार)को चुनावी कार्यक्रमको तालिका शनिबारसम्मको मात्रै थियो,’ प्रसाईंले भने, ‘अब जिल्लाको आमसभामा गच्छदार सहभागी हुनुहुनेछ ।’
    एउटा मात्र निर्वाचन क्षेत्र रहेको धनकुटाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनीलबहादुर थापा गाउँ–गाउँका चुनावीसभामा सहभागी थिए । उनले जिल्लाका सबैजसो गाउँ आफैं पुगेर भोट माग्न भ्याएको उनको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ । तर, थापाले पनि चुनावी अभियानलाई अन्तिम रूप दिएका छन् । धनकुटामा २ वटा निर्वाचन क्षेत्र हुँदा थापा ०७० सालको चुनावमा २ नम्बरबाट विजयी भएका थिए ।
    साविकको धनकुटा क्षेत्र १ नम्बरका मतदातालाई थापाले चुनावी अभियानमा प्राथमिकता दिएका छन् । ‘पहिला जितेकोभन्दा हाम्रो पार्टीले गुमाएको १ नम्बरका मतदाताले थापाबाट अलि बढी आस गरेकाले जित निश्चितझैं छ,’ थापाका स्वकीय सचिव मदन घिमिरेले भने, ‘करिब ५ हजार मतले थापाले जित्नुहुन्छ ।’ थापा धनकुटालाई प्रदेश १ को राजधानी बनाउने प्रस्ताव लिएर मतदातासम्म गएको घिमिरेले बताए । ‘प्रदेशको राजधानी धनकुटालाई बनाउने पहिलो एजेन्डा हो,’ उनले भने, ‘मतदाताले बाटो, बिजुली, शिक्षा, स्वास्थ्यलगायतका माग पनि राखेका छन् ।’ उसो त धनकुटा, मोरङ र सुनसरीका सबैजसो दलका सबै उम्मेदवारको मुख्य नारा नै ‘आफ्नो जिल्लालाई प्रदेश १ को राजधानी बनाउने’ छ ।
    इलाम क्षेत्र १ को उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले सबैजसो मतदातालाई आफूले भेटिसकेको बताए । ‘साविकका गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गरिसकेको छु,’ खनालले भने, ‘अब प्रचारप्रसारको कार्यक्रम अन्तिम चरणमा छ ।’
    एमालेले क्षेत्र १ को फिक्कलमा सोमबार चुनावी सभा गर्दैछ । खनालले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘सबै मतदाताको घरैसम्म त पुग्न सम्भव भएन तर सकेसम्म नजिक पुगेर मतदातासँग भलाकुसारी गरेको छु,’ खनालले नागरिकसँग भने, ‘अब जित निश्चित भएको छ ।’
    इलामकै क्षेत्र २ का उम्मेदवार तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ ‘एकसरो’ गाउँ घुमिसकेका छन् । उनी आइतबार इलामकै चुलाचुलीको आमसभामा सहभागी भए । नेम्बाङ सोमबार इलाम बजारमा हुने चुनावी सभामा सहभागी हुँदैछन् । ‘सम्भव भएसम्म गाउँघरका सबै साथीभाइसँग भेटघाट गरिसकियो, जित अब निश्चित नै बनाएको छु,’ नेम्बाङले नागरिकसँग भने, ‘मतदातालाई भेट्दा सबैजनाले मेरो योगदानको प्रशंसा गर्नुभएको छ, विपक्षीले समेत मत दिने विश्वास दिलाउनुभएकाले प्रचारप्रसार प्रभावकारी नै भएको ठानेको छु ।’ उनले बाँकी गाउँमा चुनावी प्रचारको कार्यक्रम नभएको र मौन अवधि सुरु हुन लागेकाले प्रचारप्रसारका कार्यक्रम सोमबार नै बिट मार्ने बताए ।
    झापा–१ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा शनिबारसम्म दिनहुँ १५ वटासम्म चुनावी कार्यक्रममा सहभागी हुँदैथिए । बिहानदेखि बेलुकासम्म उनी मतदातासँगह हात मिलाइरहन्थे । कतिपय कार्यक्रमहरूमा आफू उपस्थित हुन नसकेर यो क्षेत्रमा उनले प्रदेसभाका उम्मेदवारसँग बाँडेर सम्बोधन गरेका छन् ।
     ‘यो क्षेत्रका १६ हजार हाराहारी घरमध्ये सबैमा त जान सकिएन तर धेरै घरका धेरै मतदातासँग चाहिँ शर्माको भेट भइसक्यो,’ शर्माका सहयोगीले भने, ‘अब प्रचारको मैजारो गर्दैछौं ।’ उनले शर्माले आफू विजयी हुनेगरी चुनावी तयारी गरेको नेपाली कांग्रेस झापाले जनाएको छ ।
    एमालेका सचिव भीम आचार्य सुनसरी १ (ख) का उम्मेदवार छन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ र संघीय समाजवादी फोरमका केन्द्रीय नेता अशोक राई सुनसरी–१ का उम्मेदवार छन् । उनीहरूले पनि चुनावी अभियान बिट मार्दैछन् । तेह«थुमबाट प्रतिनिधिसभामा उठेका एमालेका भवानी खापुङ र कांग्रेसकी सीता गुरुङले पनि चुनावी प्रचार सक्न लागेका छन् । खापुङ शनिबार छथर शुक्रबारे र गुरुङ सिम्लेको फोक्लाबाङमा आयोजित चुनावी सभामा सहभागी भए ।
    झापा–३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । लिङ्देन वाम गठबन्धनसमेतको उम्मेदवार बनेका छन् । लिङ्देनलाई गठबन्धनले सघाएवापत् राप्रपाले मेचीका इलाम, पाँचथर, झापा र ताप्लेजुङमा गठबन्धनका उम्मेदवारलाई सघाएको छ । ‘आजसम्म जति मतदातालाई भेटियो, जित निश्चित भएझैं लाग्छ,’ उनले भने, ‘म ५० हजार मतान्तरले जित्छु, विपक्षीलाई जमानत जोगाउन धौधौ छ ।’ उनले घर–घरै पुगेर मत माग्न नभ्याएपनि मतदाताले आफूलाई जिताउने विश्वास रहेको बताए ।
    मोरङ र उदयपुरका उम्मेदवार पनि चुनावी अभियानमा जोडतोडसाथ लागेका छन् । पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डित र कांग्रेसका शेखर कोइराला मोरङ–६ बाट प्रतिस्पर्धी छन् । कांग्रेसकै मिनेन्द्र रिजाल मोरङ–२ तथा कांग्रेसकै महेश आचार्य मोरङ–४ बाट उम्मेदवार बनेका छन् । उनीहरू दिनहुँ चुनावी प्रचारमा थिए । सोमबार पनि जिल्लाका विभिन्न स्थानमा आमसभा रहेको मोरङ कांग्रेसले जनाएको छ । प्रदेश १ मा प्रतिनिधिसभाका २८ सिट र प्रदेशसभाका ५६ सिटमा प्रतिस्पर्धा हुँदैछ । यीमध्ये हिमाल र उच्च पहाडी ७ जिल्लामा प्रतिनिधिसभाका ७ सिट र प्रदेशसभाका लागि १४ सिटमा मंसिर १० मै मतदान भइसकेको छ । बाँकी सिटका लागि आउँदो २१ गते मतदान हुन लागेको हो ।

प्रकाशित: १८ मंसिर २०७४ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App