१६ चैत्र २०८० शुक्रबार
राजनीति

काभ्रेमा कसले मार्ला बाजी ?

बनेपा- नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट काभ्रे क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवार बनेका तीर्थबहादुर लामा जित दोहोर्याउने अवसरको खोजीमा छन् । उनका प्रतिस्पर्धी एमाले–माओवादी गठबन्धनका गंगाबहादुर तामाङ पहिलोपटक उम्मेदवार बनेका हुन् । उनी माओवादी पोलिटब्युरो सदस्य हुन् ।

काभ्रेमा प्रतिनिधिसभाका दुई सिट र प्रदेशसभाका चार सिटका लागि फरकफरक क्षमता र योग्यताका उम्मेदवार  भए पनि  उनीहरूले चुनावी नारा भने एकै खालका अघि सारेका छन् ।

प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र १ (क) बाट कांग्रेसका चन्द्रबहादुर तामाङ र बाम गठबन्धनबाट माओवादीका रत्नप्रसाद ढकाल मैदानमा छन् । तामाङ पार्टीको पूर्वजिल्ला कोषाध्यक्ष र ढकाल क्रान्तिकारी विद्यार्थी संगठनको पूर्वकेन्द्रीय अध्यक्ष र पोलिटब्युरो सदस्य हुन् । यी दुवै पहिलोपटक उम्मेदवार बनेका हुन् ।
निर्वाचन क्षेत्र १(ख) बाट  कांग्रेसका गणेश लामा र वाम गठबन्धनबाट चन्द्रबहादुर लामा उम्मेदवार छन् । २०७० सालको संविधानसभा चुनावमा तत्कालीन काभ्रे क्षेत्र नं २ बाट लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेका लामा पराजित भएका थिए । फोरम कांग्रेसमा विलय भएपछि लामालाई  उम्मेदवार बनाइएको हो । एमालेको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष चन्द्रबहादुर पहिलोपटक चुनावी मैदानमा उत्रेका हुन् । यी दुवै उम्मेदवार निर्माण व्यवसाय क्षेत्रका पनि प्रतिस्पर्धी हुन् ।
    लोकतान्त्रिक गठबन्धनबाट काभ्रे क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका मधुप्रसाद आचार्य कांग्रेस जिल्ला सभापति हुन् । पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनी कांग्रेस केन्द्रीय प्रशिक्षण विभागको कार्यकारी निर्देशक पनि थिए । आचार्यका प्रतिस्पर्धी एमाले केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटा छन् । आचार्य पहिलोपटक उम्मेदवार बनेका हुन् भने बाँस्कोट २०७० सालको संविधानसभा चुनावमा तत्कालीन क्षेत्र नं ३ बाट उम्मेदवार बनेर पराजित भएका थिए । बाँस्कोटा विगतका कमीकमजोरी सच्याउँदै जित्ने अभियानमा जुटेका छन् । यी दुवै उम्मेदवार बौद्धिक भएकाले काभ्रेलीले यस क्षेत्रको निर्वाचनलाई विशेष चासो र महŒवका साथ हेरिरहेका छन् ।
    निर्वाचन क्षेत्र २ (क) मा कांग्रेसका सुन्दरमणि आचार्य र वाम गठबन्धनका लक्ष्मण लम्सालबीच टक्कर छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा पुगेका यी दुवैजना पहिलोपटक उम्मेदवार बनेका हुन् ।
सांसद हुँदै राज्यमन्त्रीसम्म बनेका कांग्रेसका कञ्चनचन्द्र बादे यसपटक प्रदेशसभा सदस्यका लागि २ (ख) बाट उम्मेदवार बनेका छन् । उनी विजयी हुनेमा ढुक्क छन् । एमाले काभ्रे जिल्ला सचिवालय सदस्य बसुन्धरा हुमागाईंलाई २ (ख) मा वाम गठबन्धनले  उम्मेदवार बनाएको छ । विगतदेखि नै सामाजिक कार्यमा संलग्न रहँदै आएका भलादमी नेताका रुपमा परिचित उनी पनि आफूले जित्ने ढुक्क नै देखिन्छन् ।
 

स्थानीय तहको परिणाम
काभ्रेमा प्रतिनिधिसभाका दुई सिट र प्रदेशसभाका चार सिटका लागि फरकफरक क्षमता र योग्यताका उम्मेदवार  भए पनि  उनीहरूले चुनावी नारा भने एकै खालका अघि सारेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले जिल्लालाई लगानी केन्द्र, सेवा केन्द्र, रोजगारको केन्द्र, कृषि, पर्यटन र उद्योगको केन्द्र बनाउँदै समृद्ध बनाउन लागि पर्ने नारा दिएका छन् । यस्तै, उनीहरूले जिल्लालाई उत्पादनको केन्द्र बनाउन पर्यटन, कृषि र ऊर्जामा व्यापक लगानी भिœयाउने अजेन्डा अघि सारेका छन् । प्रदेशका सबै उम्मेदवारको अजेन्डा र चुनावी नारा काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने, कृषि, पर्यटन, जलस्रोत विकास र युवालाई रोजगारी बनाउने छन् ।
मत माग्ने क्रममा पूर्वसांसद लामा र बादेको एउटै दाबी छ, ‘हामीले विगतमा जिल्लामा धेरै विकास निर्माणका काम ग¥यौं । बाँकी पूरा गर्न र नयाँ कामका लागि हामीलाई भोट दिनुस् ।’ तर यसपटक २०७० को चुनावमा जति यी दुवैैजना पूर्वसांसदलाई सहज छैन, किनकी त्यतिखेर तेस्रो मत प्राप्त गरेको माओवादी केन्द्रले यसपटक एमालेसँगको  गठबन्धनमा उम्मेदवारी दिएको छ ।
स्थानीय निर्वाचनमा काभ्रे का १३ वटा तहमध्ये एमालेले ७, माओवादीले २ र नेपाली कांग्रेसले चार तह जितेको अवस्था छ । स्थानीय चुनावमा पहिलो भएको एमालेले ३ सय ३१ सिट, दोस्रो भएको नेपाली कांग्रेसले २ सय २२ सिट र तेस्रो भएको  माओवादीले १ सय २७ सिट जितेको छ । स्थानीय तहमा सबैभन्दा धेरै मत एमालेले प्राप्त गरेको थियो । एमालेले ६८ हजार ६ सय ४७, नेपाली कांग्रेसले ६३ हजार १ सय ३९ र माओवादी केन्द्रले ३० हजार ४ सय ४८  मत प्राप्त गरेका थिए । वाम गठबन्धन हुँदा एमाले र माओवादी केन्द्रको सिट संख्या ४ सय ५८ र दुवै दलले पाएको मत ९९ हजार ९५ हुन्छ । यसबाट वाम गठबन्धन आफूले जित्ने दाबी गर्छ । लोकतान्त्रिक गठबन्धनमा नयाँ मत थपिँदा, फोरम, राप्रपालगायत दलले मत दिँदा उसले पनि झन्डै ८० हजार मत पु¥याउने अनुमान गरिएको छ ।
 

थपिएका र सहरी मतदाता निर्णायक
    स्थानीय तहको निर्वाचनमा २ लाख ३० हजार ८ सय ४९ मतदाता थिए । त्यसपछि ४१ हजार ४ सय ३८ मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  जिल्लाका २ लाख ७२ हजार २ सय ८७ मतदाता मत दिन योग्य छन् । कुल मतदातामा  महिला एक लाख ३५ हजार ३ सय ९७, पुरुष एक लाख ३६ हजार ८ सय ८९ र तेस्रो लिंगी एक जना छन् । स्थानीय चुनावपछि थपिएका करिब साढे ४१ हजार मतदाता नै आगामी निर्वाचनमा हारजितका लागि निर्णायक बन्न सक्ने अनुमान गरिएको छ ।
क्षेत्र नं २ मा ६८ हजार ९ सय ९० पुरुष र ६९ हजार ५ सय २२ महिला गरी एक लाख ३८ हजार ५ सय १२ मतदाता छन् ।  क्षेत्र नं १ मा ६७ हजार ८ सय ९९ पुरुष र ६५ हजार ८ सय ७५ महिला गरी एक लाख ३३ हजार ७ सय ५५ मतदाता छन् ।
    प्रदेशसभाअन्तर्गत सबैभन्दा बढी २ (ख) मा पुरुष ३५ हजार १ सय ४४ र महिला ३६ हजार १ सय ६८ गरी ७१ हजार ३ सय १२ मतदाता छन् । सबैभन्दा कम १ (क) मा पुरुष ३४ हजार २४ र महिला ३२ हजार २ सय ५९ गरी ६६ हजार २ सय ८३ मतदाता छन् ।  त्यस्तै १(ख) मा पुरुष ३३ हजार ८ सय ७५ र महिला ३३ हजार ६ सय १६ र तेस्रो लिंगी एक गरी ६७ हजार ४ सय ९२ मतदाता छन् । २ (क) मा पुरुष ३३ हजार ८ सय ४६ र महिला ३३ हजार ३ सय ५४ गरी ६७ हजार २ सय मतदाता छन् ।
    २०४८ साल र २०५१ को  निर्वाचनमा काभ्रेका सबै क्षेत्रबाट वाम दलका उम्मेदवार विजयी भएका थिए । त्यसपछिका निर्वाचनमा टुटफुटका कारण वामदलको यो वर्चस्व कायम रहेन । वाम दलले पुरानै विरासत फर्काउने दाउमा छन् भने कांग्रेस पनि आफूले पछिल्ला वर्षमा प्राप्त गरेको जित गुम्न नदिने रणनीतिमा छ ।
काभ्रेमा बढी मतदाता रहेका बनेपा, धुलिखेल, पनौती र पाँचखालका मतदाता यसपटकको निर्वाचनमा निर्णायक हुनसक्ने आँकलन गरिएको छ । विगतका निर्वाचनमा गाउँभन्दा यीनै सहरका मतले परिणाममा उथलपुथल ल्याइदिएको हुँदा अहिले उम्मेदवारको ध्यान यिनै सहरमा केन्द्रित छ ।

प्रकाशित: १८ मंसिर २०७४ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App