१६ चैत्र २०८० शुक्रबार
राजनीति

दोस्रो चरणमा ७० प्रतिशत सिट जित्ने एमाले दाबी

काठमाडौं- नेकपा एमालेले आइतबार हुने दोस्रो चरणको चुनावमा सत्तरी प्रतिशत सिट जित्ने दाबी गरेको छ । पहिलो चरणमा असी प्रतिशत सिट जित्ने बताएको एमालेले दोस्रो चरणमा वाम गठबन्धनको पक्षमा लहर आएको दाबी गरेको छ ।
नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन समितिमा प्रवक्ता विष्णु रिमालले दोस्रो चरणमा वामपन्थी गठबन्धनले प्रतिनिधिसभातर्फ ९० स्थानमा जित्ने बताए । ‘दोस्रो चरणमा गठबन्धनले ७० प्रति स्थानमा जित्नेछ । प्रतिनिधिसभा र प्रदेशसभामा दुई चार स्थानमा मात्रै तलमाथि पर्ने हो,’ रिमालले भने, ‘इतिहासमा पहिलो पटक वामपन्थी दलले स्पष्ट बहुमत आउनेछ ।’
दोस्रो चरणमा ४७ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ स्थानमा लागि आइतबार मतदान हुँदैछ । प्रतिनिधिसभा तथा प्रदेशसभामा चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबीच ६० र ४० को अनुपातमा सिट बाँडफाँट भएको छ । रिमालले मेची अञ्चलसहित पूर्वी पहाडी क्षेत्रमा वामपन्थी गठबन्धनले क्लिन स्विप गर्ने बताए ।
उनले स्थानीय तह चुनावयताको जनमतमा खासै परिवर्तन नभएका कारण गठबन्धनको जित सहज रहेको दाबी गरे । बापमन्थी गठबन्धन, गठबन्धनको नेतृत्व मात्रै नभएर विपक्षीतर्फ गठबन्धन बन्न नसक्नु पनि आफ्नो जितको आधार भएको उनले बताए ।
‘लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिएको देश भएकाले पनि जनता स्थिर सरकारको पक्षमा छन्’, रिमालले भने, ‘स्पष्ट बहुमतका साथ सरकारको आधार वामपन्थी गठबन्धनले मात्रै दिन सक्ने भएकाले पनि हाम्रो पक्षमा मत आउँछ ।’ स्थानीय चुनावमा एमाले पहिलो र माओवादी केन्द्र तेस्रो दल बनेका थिए ।
रिमालले पहाडी क्षेत्रमा वामपन्थी गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भए पनि प्रदेश नम्बर २ सहित तराई मधेसका कतिपय स्थानमा त्रिपक्षीय प्रतिस्पर्धा हुने बताए ।
रिमालले लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको प्रयास समेत असफल भएका कारण आफूहरुलाई सहज भएको बताए । ‘पुराना र थोत्रा कुरा गरेर कांग्रेस चुनावी प्रतिस्पर्धामा छ । अधिनायकवाद र लोकतन्त्रको खतरा जस्तो चुनावी मुद्दालाई जनताले पत्याउने छैनन्,’ रिमालले भने ।

प्रकाशित: १८ मंसिर २०७४ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App