८ वैशाख २०८१ शनिबार
राजनीति

‘चुनावपछि घोषणापत्रै बिर्सन्छन् नेता’

काठमाडौंको जैशीदेवलका सुरेन्द्रकुमार क्षेत्रीलाई चुनावका बेला नेताले बाँड्ने ठुल्ठूला आश्वासनको मतलब छैन । उनलाई आफ्नो टोलको जैशीदेवल मन्दिर चाँडै पुनर्निर्माण भइदिए हुन्थ्यो भन्ने चिन्ता छ । अरू आश्वासन बाँड्नुको साटो साढे दुई वर्षअघिको भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माण गर्नेलाई भोट दिने सुरुमा छन् उनी। 

‘नेताले फेरि यो गर्छु, त्यो गर्छु भन्दा पनि आफ्नो घोषणापत्रमा भएका कुरा पूरा गरिदिए हुन्थ्यो,’ उनले भने, ‘यसो भए देशको भलो हुने थियो ।’ सहरमा खानेपानी, ढल, तथा सडकका समस्या उस्तै रहेको उनले बताए। 

‘घोषणापत्रमा नेताले सबै कुराको सम्बोेधन गर्छन्,’ उनले भने, ‘चुनावपछि घोषणापत्रै बिर्सने रोगले उनीहरूलाई सताउने गरेको छ।’ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ९ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा– १२, १४, २१ र २२, चन्द्रागिरि नगरपालिकाका वडा– १, १२, १३, १४ र १५ तथा नागार्जुन नगरपालिकाका वडा– ६, ७, ८, ९ र १० पर्छन् ।
यस क्षेत्रका धेरै मतदाताको मत सुरेन्द्रकुमारकै जस्तो छ । वाचा गर्ने तर चुनावपछि बिर्सने नेताका प्रवृत्तिले जनता दिक्क भइसकेको उनीहरू बताउँछन्। 

‘अब  आश्वासन होइन, डेलिभरि चाहियो,’ बल्खुका ७४ वर्षीय चन्द्रमणि पाठक भन्छन्, ‘तब मात्र जनताले नेताप्रति विश्वास गर्छन् ।’ यस क्षेत्रमा धुलो र खानेपानी समस्या छ । धेरैपटक मतदान गरिसकेका उनले नेताका कुरा पनि थुप्रैपटक सुनिसके । अब उनलाई काम गर्ने नेता चाहिएको छ । ‘बोलेको कुरा पूरा गर्ने नेता चाहियो,’ उनले भने, ‘तब मात्र मुलुक राम्रो बाटोमा हिँड्न सक्छ।’

यो क्षेत्रमा वाम गठबन्धनबाट कृष्णगोपाल श्रेष्ठ, लोकतान्त्रिक गठबन्धनबाट ध्यानगोविन्द रञ्जित र विवेकशील साझाबाट मिलन पाण्डे मुख्य प्रतिस्पर्धामा छन् । मतदाता भने उम्मेदवार र चुनावबाट दिक्क हुन थालिसकेको बताउँछन् । ‘चुनाव धेरै भए, नेता धेरै आए,’ चन्द्रमणिले भने, ‘अब साँच्चिकै विकास गर्ने मान्छे चाहिएको छ।’

यस क्षेत्रमा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय निर्वाचनमा यो क्षेत्रमा परेका काठमाडौं महानगरपालिकाका चारवटै वडामा एमालेले जितेको थियो । जसले चुनाव जिते पनि नेताले जनताको समस्या नसुनेको कतिपयको गुनासो छ । 
यसपालिको स्थानीय निर्वाचनमा यस क्षेत्रमा परेका नागार्जुन नगरपालिकाका सबै वडामा कांग्रेसले जितेको थियो । निर्वाचनमा यस क्षेत्रमा कुल ३८ हजार ६७ मत खसेको थियो । खसेकामध्ये वाम गठबन्धनले २० हजार चार सय ६५ र लोकतान्त्रिक गठबन्धनले १६ हजार एक सय ९९ मत पाएका थिए । क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा चार हजार दुई सय ६६ मत बढी ल्याएको थियो। 

क्षेत्र– १० 
कीर्तिपुर नयाँबजारकी रेजी शाही पनि नेताले वाचा पूरा नगरेको गुनासो पोख्छिन् । नेताले चुनावमा ठूला वाचा गर्ने तर चुनावपछि बिर्सने शाही बताउँछिन् । कीर्तिपुरमा खानेपानी मुख्य समस्या रहेको उनले बताइन्। 

‘घोषणापत्रमा ठूला कुरा गर्छन्, तर सानो काम पनि गर्दैनन्,’ उनले भनिन्, ‘पानी किनेर खानुपर्ने बाध्यताको अन्त होस् भन्ने चाहन्छौँ ।’ सहरमा बढ्दो जनसंख्या अनुपातमा सडक र बस्ती व्यवस्थित हुन नसकेको उनले सुनाइन् । ‘बस चढौँ सिट छैन,  हिँडाँ बाटो छैन,’ उनले भनिन्, ‘हामी यो समस्याबाट मुक्ति चाहन्छौँ।’

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– १० मा चन्द्रागिरि नगरपालिकाका वडा– २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका पर्छन् ।  यस क्षेत्रमा वाम गठबन्धबाट  हितमान शाक्य, लोकतान्त्रिक गठबन्धनबाट राजेन्द्रकुमार केसी र विवेकशील साझा पार्टीका तर्फबाट प्रदीप ढकाल प्रतिस्पर्धामा छन्। 

‘नेताले देशको विकास हैन, देशले चाहिँ नेताको विकास गरेजस्तो  देखिन्छ,’ रेजी भन्छिन्, ‘नेता धेरै भेटिन्छन्, तिनका काम भेटिन्नन्।’

स्थानीय तह निर्वाचनका बेला यस क्षेत्र अन्तर्गतको चन्द्रागिरि नगरपालिकाका १० वटा वडामध्ये ६ वडामा एमाले, तीन वडामा कांग्रेस र एउटामा माओवादीले जितेका थिए । यस्तै, कीर्तिपुर नगरपालिकामा एमालेले जितेको थियो भने दक्षिणकाली नगरपालिकामा कांग्रेसले। 

काठमाडौं क्षेत्र– १० मा गएको स्थानीय निर्वाचनमा कुल २८ हजार पाँच सय ९८ मत खसेको थियो, जसमध्ये वाम गठबन्धनले १५ हजार नौ सय एक र लोकतान्त्रिक गठबन्धनले ११ हजार आठ सय १६ मत पाएका थिए।

प्रकाशित: १५ मंसिर २०७४ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App