८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले गर्छ संविधान संशोधनः देउवा

वीरगन्ज – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीले संविधान संशोधन गर्न नदिएको आरोप लगाउँदै कांग्रेसले संविधान संशोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभामा उनले कांग्रेस पार्टी सधैं मधेसी जनताको पार्टी रहेको दाबी गरे । 

देउवाले एकदलीय कम्युनिस्ट शासन स्थापना गर्ने प्रयास भइरहेको भन्दै यसबाट सचेत रहन सबैसँग आग्रह गरे । कम्युनिस्टहरूले जिते अब पनि संविधान संशोधन हुन नसक्ने उनको दाबी थियो । ‘नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई बहुमतका साथ जिताउनुस्, संविधानमा आवश्यक संशोधन हामी गर्छौं,’ देउवाले भने, ‘कम्युनिस्टले जिते लोकततन्त्र खतरामा पर्नेछ । अहिले देश र लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने कांग्रेस नै एकमात्र शक्ति छ।’

‘स्थानीय तह निर्वाचन सम्पन्न भएर अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएपछि देशमा राजनीतिक स्थायित्व कायम हुनेछ,’ उनले भने ‘मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा कांग्रेस नेतृत्वको सरकार लागिपरेको छ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धितिर देशलाई लैजान यो निर्वाचन महत्त्वपूर्ण हुनेछ।’ 

कांग्रेसको विजय भए लोकतन्त्र रहने र जनताले आफ्ना अधिकार पाउने देउवाले दाबी गरे । कांग्रेसको नेतृत्वमा स्थापना भएको लोकतन्त्रलाई समाप्त पार्दै कम्युनिस्ट पार्टीहरू मिलेर राष्ट्रपति शासनमार्फत एकदलीय तानाशाही व्यवस्था ल्याउने प्रयास गरिरहेको उनको आरोप थियो। 

त्यस्तै सिरहाको भगवानपुरमा बिहीबार आयोजित चुनावी सभामा देउवाले वाम गठबन्धनले राष्ट्रपतीय शासन व्यवस्थाको वकालत गरेर देशमा तानाशाही र एकदलीय शासन व्यवस्था थोपर्न खोजेको टिप्पणी गरेका छन् । कम्युनिस्ट शासन व्यवस्थामा लेख्न, बोल्न, सरकार बदल्न नपाइने उनले बताए। 

‘वाम गठबन्धनको नाममा कम्युनिस्ट तानाशाही शासन व्यवस्था ल्याउन खोजिँदैछ,’ उनले भने, ‘यस्तोे व्यवस्था आए देशका लागि दुर्भाग्य हुनेछ । झन् मधेसका लागि त यो व्यवस्था हितम छैन ।’ 

उनले भने, ‘कांग्रेसले मधेसी जनताको भावनालाई कदर गरेर संशोधन प्रस्ताव ल्यायो, एमालेले फेल गरिदियो ।’ एमाले आफूलाई मधेसविरोधी पार्टी भनेर स्थापित गरेको छ । मधेसी जनतालाई अधिकार दिन खोज्दा एमालेले रोकेको छ ।’      आसन्न निर्वाचनमा कांग्रेसको विजय निश्चित रहेको दाबी गर्दै उनले फेरि पनि प्रधानमन्त्री हुने व्यतिm आफू नै भएको र  संविधान संशोधन गराएर मधेसका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: १५ मंसिर २०७४ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App