६ वैशाख २०८१ बिहीबार
राजनीति

‘कम्युनिस्टले जिते लगानीका स्रोत बन्द’

नेपाली कांग्रेस कास्कीले बुधबार पोखराको अमरसिंहचोकमा आयोजना गरेको जनसभा । तस्बिर : उमेश पुन

विशन क्षेत्री/मोहन गुरुङ
कास्की/स्याङ्जा – कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टले चुनाव जिते देशमा आन्तरिक तथा बाह्य लगानीका स्रोत बन्द हुने बताएका छन् । कम्युनिस्टहरु विदेशमा असफल भइसकेको साम्यवाद लाद्न खोजेर देशलाई थप अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ । 

‘साम्यवाद लागू भएमा विदेशी लगानीकर्ताले लगानी गर्न पाउँदैनन्, लगानीको स्रोत नभएपछि देशको समृद्धि झन् पछाडि धकेलिन्छ,’ कांग्रेस कास्कीले बुधबार पोखरामा आयोजना गरेको चुनावी सभामा देउवाले भने, ‘देश समृद्ध बनाउँछौ भन्ने तर लगानीको ढोका बन्द गर्ने, यो जनताअगाडि गरिएको झूटको खेतीबाहेक केही होइन ।’ उनले वाम गठबन्धनले गर्दा मुलुक आर्थिक रुपमा पनि जोखिममा पर्ने बताए।

वाम गठबन्धन लोकतन्त्रविरोधी भएको उनले बताएका छन् । उनले एमालेले नेपालमा एकदलीय शासन लाद्न खोजेको आरोप लगाए । अमरसिंहचोकमा आयोजित सभामा सम्बोधन गर्दैै देउवाले जनताको भावनाविपरीत संविधान परिवर्तन गर्ने तयारी भइरहेको बताए । ‘नेपालमा एकदलीय कम्युनिस्ट तानाशाही लाद्न खोजिएको छ,’ देउवाले भने, ‘जनताको भावनालाई र चाहनालाई समान रुपमा अधिकार दिइएको संविधान परिवर्तन गर्न खोज्नु जनताको अधिकार खोस्नु हो ।’
उनले वाम गठबन्धनका नेताहरुबाट संविधानको मर्ममाथि आघात पुग्ने किसिमका अभिव्यक्ति आउन थालेको बताए । उनले वाम दलबीचको गठबन्धनले नेपाल र नेपालीको भलो नगर्ने बताए । ‘यो गठबन्धनले नेपालको भलो गर्दैन, यो अनिष्टको संकेत हो । अहिले संविधानले जुन अधिकार दिएको छ त्यसको कार्यान्वयन संसदीय व्यवस्थामा मात्र हुन्छ,’  देउवाले भने। 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा जे पनि हुने भन्दै वाम एकतालाई विचित्रको संज्ञा दिएका थिए । ‘नेपालमा जे पनि हुन्छ भन्ने वामएकताले देखाएको छ,’ उनले भने, ‘संविधानमा राजनीतिक प्रणालिको टुंगो लाग्दा संविधानमा हस्ताक्षर गर्ने पार्टीका उम्मेदवारको मसी नसुक्दै दुई तिहाइ ल्याएर संविधान संशोधन गर्छु भन्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु हो।’ 

कार्यक्रममा उद्योगी समेत रहेका विनोद चौधरीले कांग्रेसले २०४८ सालमा ल्याएको आर्थिक उदारीकरणको नीतिले नै मुलुकमा अर्थतन्त्रले गति लिएको बताए । कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस चुनाव प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड, पूर्वअर्थमन्त्री डा. रामशरण महत, धनराज गुरुङ लगायतका नेताहरु वाम गठबन्धनका शीर्ष नेताविरुद्ध खनिएका थिए। 

स्याङ्जामा भएको कार्यक्रममा बोल्दै देउवाले वाम गठबन्धनले लोकतन्त्रमा धावा बोलेको बताए । उनले भने, ‘वाम गठबन्धन एकदलीय, दमनकारी र तानाशाही ल्याउने गठबन्धन हो । केपी ओली महेन्द्र र प्रचण्ड जंगबहादुर बन्ने दाउमा छन् ।’ राष्ट्र र राष्ट्रियताका लागि एक हुनुपर्ने बेला आएको उनले बताए । कांग्रेसलाई भोट दिए देश समृद्धितर्फ जाने उनको दाबी थियो।

वरिष्ठ नेता पौडेलले चुटकिला भनेर देश नबन्ने बताए । ‘मुखले समृद्धि भनेर मात्र हुन्छ ? समृद्धिका लागि योजना चाहिन्छ’ पौडेलले भने ।   नेपाल र नेपालीको भाग्यको जिम्मा कांग्रेसले लिने उनले बताए । ‘सुखी नेपाली, समृद्ध नेपाल र समृद्धि नेपालका लागि कांग्रेसले जिम्मा लिन्छ’, उनले भने।

प्रकाशित: १४ मंसिर २०७४ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App