२५ श्रावण २०७७ आइतबार
राजनीति

नेपालका हरेक युवा मेरा लागि ‘प्रकाश’ : दाहाल

चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशका हरेक युवा–युवती अब मेरा लागि ‘प्रकाश’ भएको बताएका छन् । 

दक्षिण चितवनको माडीमा आज साँझ भएको चुनावी सभामा उनले यही मंसिर ३ गते छोरा प्रकाश बितेर आफू शोकमा रहेको उल्लेख गर्दै अब देशका हरेक युवा–युवती ‘प्रकाश’ भएको बताए । 

'तपाईंहरुलाई थाहा भयो होला, हाम्रा एक मात्र छोरा प्रकाशको हृदयघातले निधन भयो,' अध्यक्ष दाहालले भने, 'बाबु हुनुको नाताले हामी शोकमा छौँ, तर, अब मेरा लागि नेपालका प्रत्येक युवा–युवती प्रकाश हुन्।'

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले सम्पूर्ण जीवन तिनै छोराछोरीको भविष्य निर्माणमा खर्चिने संकल्प लिएको बताउँदै कम्युनिस्ट एकतापछि नेपालमा विकास रेल इन्जिनको गतिमा अघि बढ्ने दाबी गरे। 

'कम्युनिस्ट एकता चुनाव जित्नका लागि मात्रै नभई नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिनका लागि भएको छ,' उनले भने।

चुनावी अभियानका क्रममा अध्यक्ष दाहालले स्थानीय जनतासँग अन्तरक्रिया र स्थानीयवासीका समस्याबारे चासो राखेका थिए। सो अवसरमा कलाकारहरु बद्री पंगेनी, चेतन सापकोटालगायतले जनवादी गीत–संगीत प्रस्तुत गरेका थिए। 

आज बिहान अध्यक्ष दाहालले माडीको बाँदरमुढेमा रहेको सशस्त्र युद्धका क्रममा मृत्यु भएका नागरिकको स्मृतिमा निर्मित स्मारकमा माल्यार्पणसमेत गरेका थिए भने विकट बस्ती बाँदरझुलामा पुगेर घरदैलो अभियानमा सरिक थिए।

प्रकाशित: ११ मंसिर २०७४ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App