१५ चैत्र २०८० बिहीबार
राजनीति

सोलुको तिङलामा शून्य भोट

सोलुखुम्बु- सोलुखुम्बुका तिङलावासीले निर्वाचन बहिष्कार गरेका छन् । प्रशासनिक सुगमताको माग पूरा नभएकाले उनीहरु प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी नभएका हुन् । उनीहरु स्थानीय तहको निर्वाचनमा समेत सहभागी भएका थिएनन् ।
गत चैत १ गते आन्दोलन सुरु गरेका तिङलावासीले असार १५ मा भएको स्थानीय तह निर्वाचनमा पनि ‘नो भोट, नो क्यान्डिडेट’ अभियान सफल पारेका थिए । जिल्ला निर्वाचन कार्यालयले तिङला क्षेत्रका ५ मतदान केन्द्रमा एक भोट पनि नखसेको बताएको छ ।  १ सय १८  मतदान स्थल र १ सय २५ मतदान केन्द्र रहेको जिल्लामा अन्यत्र भने सम्पूर्ण मतदान केन्द्रमा सौहाद्र्रपूर्ण वातावरणमा मतदान भएको मुख्य निर्वाचन अधिकृत नारायण सुवेदीले जानकारी दिए ।
तिङलाको सिंहकाली मावि मतदान केन्द्रमा एक भोट पनि नखसेको मतदान अधिकृत खेमराज भट्टराईले जानकारी दिए । पुनःसंरचनाअघि गाविस रहेको तिङलामा २ हजार ५ सय ७५ मतदाता छन् । उनीहरुले प्रशासनिक सुगमताको माग पूरा नभएको भन्दै निर्वाचनमा भाग नलिएका हुन् । तिङलावासी मतदानपूर्वको सर्वदलीय बैठक र मतदाता परिचयपत्र वितरण कार्यक्रममा समेत सहभागी भएका थिएनन् ।
राज्य पुनःसंरचनाका क्रममा अपायक क्षेत्र नेचासल्यान गाउँपालिकामा गाभेको भन्दै आन्दोलन थालेका तिङलावासी सोलुदुधकुण्ड नगरपालिकामा समावेश हुन चाहेका छन् ।
कुन नेताले कहाँबाट गरे मतदान
सोलुखुम्बुमा मुख्य प्रतिस्पर्धामा रहेका वाम र कांग्रेस नेताले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार बलबहादुर केसीले नेचासल्यान गाउँपालिकाको बीपी संस्कृत माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे ।
त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकुमार राई सुरवीरले फुर्के सामुदायिक वनको भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरे । कांग्रेसतर्फबाट प्रदेशसभा ‘क’ का उम्मेदवार प्रकाश सिंह कार्कीले नेचासल्यान गाउँपालिकाको रुँगास्थानी आधारभूत विद्यालय र प्रदेशसभा ‘ख’ का उम्मेदवार आङगेलु शेर्पाले तामाखानीको पिके माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे । त्यस्तै वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘क’ का उम्मेदवार उत्तम बस्नेतले दुधकोसीका गाउँपालिकाको काँगेल बाउन्डीमा रहेको मतदान केन्द्र र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले सोलुदुधकुण्ड नगरपालिकाको छुल्यामु आधारभूत विद्यालयको केन्द्रबाट मतदान गरे ।
यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा ९१ वर्षीय वृद्धले मतदान गरेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका–१ बुक्सा आधारभूत विद्यालयको भवनमा रहेको मतदान केन्द्रबाट खार्ते निवासी ९१ वर्षीय पेम्बालकी शेर्पाले मतदान गरेका हुन् । शेर्पाले बिहान ७ बजे पहिलो भोट खसालेको मतदान अधिकृत गणेश राईले जानकारी दिए ।

प्रकाशित: ११ मंसिर २०७४ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App