४ वैशाख २०८१ मंगलबार
राजनीति

मतदान शान्तिपूर्ण, ६५ प्रतिशत भोट खस्यो

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा आइतबार उत्साहपूर्ण मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ । आयोगका अनुसार अन्तिम विवरण आउँदासम्म खसेको मत प्रतिशत अझै बढी हुनेछ ।
दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणनाको काम सुरु हुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । आइतबारका मतपेटिका सुरक्षित गरी जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्न थालिएको उनले बताए । ‘सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने व्यवस्था गरिएको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको छ ।’
हिमाली र पहाडी ३२ जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदाताको सहभागितामा चुनाव भएको आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ क्षेत्रमा मतदान भएको हो । पहिलो चरणको निर्वाचनका लागि तय गरिएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटाबाहेक सबैमा शान्तिपूर्ण वातावरणमा मतदान भएको आयोगको दाबी छ ।
दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ मा हुने चुनावलगत्तै मतगणना सुरु हुने व्यवस्था मिलाइएको छ ।
स्थानीय तहको निर्वाचनपछि पहिलो चरणको चुनावमा जस्तै दोस्रो चरणको निर्वाचन सफल पार्न प्रमुख निर्वाचन आयुक्त यादवले आग्रहसमेत गरेका छन् । उनले भने, ‘स्थानीय चुनावपछि पहिलो चरणको चुनाव जस्तै गरी सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आयोग आग्रह गर्दछ ।’
आयोगका अनुसार दुईवटा मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएका कारण मतदान स्थगित भएको छ । ‘पश्चिम रुकुम बाफीकोट गाउँपालिका वडा नं. ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ’, प्रमुख निर्वाचन आयुक्त यादवले भने । स्थगित भएका मतदान केन्द्रमा फेरि मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिइसकेको छ ।
पहिलो चरणअन्तर्गत प्रतिनिसिभामा २ सय ८२ जना उम्मेदवार चुनावी प्रतिस्र्धामा छन् । त्यसमध्ये २ सय ६६ जना पुरुष उम्मेदवार र १६ जना महिला उम्मेदवारबाट जम्मा ३७ जना विजयी हुनेछन् ।
त्यसैगरी प्रदेशसभाका लागि ४ सय २० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये ४ सय पुरुष उम्मेदवार र २० महिला उम्मेदवारबाट ७४ जना विजयी हुनेछन् । पहिलो चरणमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता रहेका थिए ।
पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा चुनाव भएको हो । त्यसैगरी प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव सकिएको छ ।
प्रदेश ५ का पूर्वी रूकुम, रोल्पा, त्यसैगरी प्रदेश ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा मतदान भएको छ ।
दोस्रो चरणपछि मतगणना
आइतबारको चुनावका मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा राखिने निर्वाचन आयोगले जनाएको छ । कुनै एक ठाउँको मतले अर्को ठाउँमा प्रभाव नपारोस् भन्ने उद्देश्यले दोस्रो चरणको चुनावपछि मतगणना गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए । ‘कुनै एक ठाउँको मतपरिणामले अर्को ठाउँका मतदातालाई प्रभाव पर्न सक्छ’, उनले भने, ‘दोस्रो चरणको चुनावपछि मतगणना सुरु हुनेछ ।’
यसअघिको स्थानीय तहको चुनावमा भने तुरुन्तै मतगणना गरिएको थियो । स्थानीय चुनावमा साना एकाइ हुने र स्थानीय अजेन्डालाई एक ठाउँले अर्को ठाउँमा कुनै प्रभाव नपार्ने भएकाले तुरुन्तै मत नगनिएको प्रवक्ता ढकालले बताए ।
मतपेटिकाको सुरक्षा जिम्मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको हुने आयोगले जनाएको छ । निर्वाचन अधिकृतले आवश्यकताअनुसार जुनसुकै सुरक्षा निकायको सहयोग लिन सक्ने व्यवस्था छ ।
जिल्लास्थित राजनीतिक दल, मुख्य निर्वाचन अधिकृतको सहमतिमा सम्बन्धित जिल्लाको सबैभन्दा सुरक्षित ठाउँमा मतपेटिका राख्ने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए । सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिनेछन् ।

प्रकाशित: ११ मंसिर २०७४ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App