७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनावको लागि मनाङको नार पुगेका सुरक्षाकर्मी बिरामी

पोखरा- उच्च हिमाली भेगमा निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी चिसो मौसमका कारण बिरामी पर्न थालेका छन्। हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम नार गाउँमा निर्वाचन गराउन पुगेका सुरक्षाकर्मी बिरामी परेपछि फिर्ता ल्याउनु परेको छ।

मनाङ सदरमुकाम चामेबाट दुईदिन पैदल हिडेर नार पुगेका सशस्त्र प्रहरीका निरीक्षक कैलाश कटुवाल ‘हाई अल्टिच्यूड’ लागेर बिरामी भएपछि फिर्ता भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कटुवाललाई हेलिकोप्टरबाट पोखरा ल्याइएको छ । ‘क्षेत्रीय सुरक्षा समितिले बिरामी परेका निरिक्षकलाई थप उपचारका लागि पोखरा लगेको छ,’ उनले भने ।

उच्च भेगमा खटिएका कर्मचारीलाई चिसोको समस्या बढी रहेको उनले बताए । ‘सुरक्षाको भन्दा पनि भौगोलिक विकटता बढी चुनौती भएको छ,’ पन्तले भने, ‘निर्वाचन गराउन पुगेका सुरक्षाकर्मी र अन्य कर्मचारी पनि बिरामी हुने थप डर छ ।’ उनका अनुसार कर्मचारीलाई चिसोसँगै हाई अल्टिच्यूडको डर बढी हुन्छ । नारमा खटिएका कर्मचारीका अनुसार हाई अल्टिच्यूड लागेर कटुवालले बान्ता गरेका थिए । त्यसपछि टाउको दुख्ने र रिंगटा लाग्ने भएपछि उनलाई हतारहतारमा तीनघन्टा हिडाएर तल झारेर हेलिकोप्टरमा पठाइएको थियो ।

समुन्द्री सतहदेखि करिब ४२ सय मिटर उचाईमा रहेको नार र त्यही हाराहारीमा पर्ने फू मनाङका सबैभन्दा दुर्गम मतदानस्थल हुन्। नार र फू एकै उचाईमा भएपनि एकअर्का गाउँमा आउजाउ गर्न कम्तिमा १ दिन लाग्छ । ‘थोरै संख्यामा मतदाता रहेपनि भौगोलिक कठिनाई बढी छ,’ पन्तले भने । खटिएका कर्मचारी बिरामी पर्न थालेको र मौसम बिग्रदै जान थालेपछि मतदान पछि मतपेटिका सदरकुमामसम्म ल्याउनका लागि हेलिकोप्टर माग गरेको उनले बताए ।

हिमाली जिल्ला मनाङमा जम्मा ५ हजार ८ सय ८१ जना मतदाता छन् । ती मतदाताले २८ वटा मतदानस्थलबाट मत दिनेछन्। मनाङमा एक मतदानस्थलमा एक केन्द्र रहेका छन् । सबैभन्दा दुर्गम नार–फू मा मात्र ५ वटा मतदानस्थलमा २ सय ७१ मतदाता रहेका छन् । नारमा खटिएका मतदान अधिकृत रामकृष्ण तामाङले चिसो र तिब्रगतिको हावाका कारण घरबाहिर निस्कन समेत नसकिने अवस्था रहेको बताए । ‘मतदाता थोरै भएर मात्र सहज हुने रहेछ । सुरक्षाको चुनौती छैन, तर, मौसमी डर छ,’ नारबाट टेलिफोनमा नागरिकँग भने, ‘दिउँसो घाम लाग्दा केही सहज भएपनि बेलुकी भएपछि घरबाहिर निस्कन सकिन्न ।’

अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि सबै तयारी पुरा भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि तयारी पुरा भएको बताए । ‘शान्ति सुरक्षाको बलियो व्यवस्था भएको छ । तर, मौसमी चुनौती छ,’ उनले भने, ‘अहिलेसम्म कतै अप्ठेरो आईपरेको छैन ।’ मुस्ताङमा सबैगरि ९ हजार ४ सय २७ जना मतदाता छन् । मुस्ताङमा ३७ वटा मतदानस्थलमा ३७ केन्द्र रहेका छन्।

प्रकाशित: ९ मंसिर २०७४ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App