८ वैशाख २०८१ शनिबार
राजनीति

राप्तीका तीन जिल्लामा तयारी पूरा

दाङ- मंसिर १० मा निर्वाचन हुने प्रदेश नम्बर पाँचअन्तर्गतका तीन जिल्लामा निर्वाचनको तयारी पूरा भएको छ । पश्चिमी रुकुम, पूर्वी रुकुम र रोल्पामा निर्वाचनको तयारी पूरा गरिसकिएको निर्वाचन अधिकृतको कार्यालयहरूले जानकारी दिएका छन् । निर्वाचनको मौन अवधिको पूर्वसन्ध्यामा निर्वाचनको तयारीलाई पनि टुंग्याइएको छ ।  
एउटा निर्वाचन क्षेत्र कायम भएको पश्चिम रुकुममा बिहीबार निर्वाचनका सम्पूर्ण सामग्रीहरु निर्वाचन केन्द्रमा पठाइसकेको जिल्ला अदालतका श्रेस्तेदार तेजप्रसाद ओलीले जानकारी दिए । उनका अनुसार पश्चिम रुकुममा ८ सय ८८  कर्मचारी खटिएका छन् । जिल्लामा कुल १ सय ११ मतदान केन्द्र तोकिएका छन् । ‘१ सय ११ मतदान केन्द्रका लागि ८ सय ८८ जना कर्मचारी खटिएका छन्,’ उनले भने, ‘मतपत्रदेखि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित कर्मचारी खटिइसकेको अवस्था हो ।’ सुरक्षाकर्मी पनि मतदान केन्द्रमा खटिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले शुक्रबारदेखि निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे अनुगमन थाल्ने भएको छ । ‘शुक्रबारदेखि मौन अवधिमा निर्वाचन आचारसंहिता पालना भएनभएको अनुगमन हुनेछ,’ उनले भने, ‘बाँकी तयारीको काम त सबै पूरा भइसकेको छ ।’ पश्चिम रुकुममा कुल ८७ हजार मतदाता छन् ।
यसैगरी पूर्वी रुकुममा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए । उनका अनुसार एउटा निर्वाचन क्षेत्र कायम भएको यो जिल्लामा पनि बिहीबारै निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । ‘निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन्,’ उनले भने, ‘केही स्थानमा निर्वाचन आचारसंहिताका बारेमा सर्वपक्षीय छलफल भइसकेको पनि जानकारी प्राप्त भएको छ ।’  उनका अनुसार ४२ मतदान केन्द्र कायम गरिएका पूर्वी रुकुममा ३ सय ३४ कर्मचारी खटिएका छन् ।
मौन अवधिमा निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमनलाई कडाइ गर्ने पनि मुख्य निर्वाचन अधिकृत भुसालले जानकारी दिए ।
रोल्पामा सदरमुकामबाहेकका अन्य सबै स्थानका मतदान केन्द्रहरुमा कर्मचारी खटिइसकेका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको रोल्पा भ्रमणका कारण रोल्पा सदरमुकामभित्रका मतदान केन्द्रहरुमा भने कर्मचारी खटनपटन हुन नसकेको रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए । ‘अन्य सबै मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिइसकेका छन्,’ उनले भने, ‘सदरमुकामका केही मतदान केन्द्रहरुमा मात्रै कर्मचारी खटनपटनको काम बाँकी छ, त्यो पनि शुक्रवार बिहानै हुन्छ ।’ एक निर्वाचन क्षेत्र कायम भएको रोल्पामा ८० मतदान केन्द्र तोकिएका छन् । डिएसपी फुँयालका अनुसार जिल्लाको निर्वाचन सुरक्षा योजनाअन्तर्गत जिल्लाभर सात सयको हाराहारीमा नेपाल प्रहरी परिचालित हुनेछन् ।
रुकुमबाट गणेश बिकको सहयोगमा

प्रकाशित: ८ मंसिर २०७४ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App