७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन सबै तयारी पूरा

गोरखाको माथिल्लो भेगमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्दैै ।

पोखरा- पहिलो चरणमा निर्वाचन हुने प्रदेश–४ भित्रका जिल्लाको सबै तयारी पूरा भएको छ । पहिलो चरणमा प्रदेशभित्रका विभिन्न ६ वटा जिल्लामा निर्वाचन हुँदैछ ।

कर्मचारी खटनदेखि निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित मतदानस्थलसम्म पुगिसकेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले पहिलो चरणमा निर्वाचन हुने जिल्लाको सबै तयारी पूरा भएको जानकारी दिए ।

‘२७ वटा मतदान स्थलमा हेलिकप्टरबाट आवश्यक कर्मचारी र निर्वाचन सामग्री ढुवानी गरिएको छ । सबै तयारी पूरा भएको छ । सुरक्षा व्यवस्था चुस्त पारिएको छ । मतदान गर्नबाट मतदाता त्रसित हुनुपर्ने कुनै कारण छैन ।’

निर्वाचन आयोगका पदाधिकारीसहित सुरक्षा निकायका क्षेत्रीय र प्रदेश प्रमुख बिहीबार पहिलो चरणमा निर्वाचन हुने जिल्लाको सुरक्षा अवस्था बुझ्न गएकोमा सन्तोषजनक रूपमा तयारी भएको प्रशासक अर्यालले बताए । ‘क्षेत्रस्तरीय सुरक्षा निकायको टोली बिहीबार पहिलो चरणमा निर्वाचन हुने प्रदेश–४ का विभिन्न ६ वटा जिल्लामा गएका थियौं,’ अर्यालले भने, ‘सबै तयारी पूरा भएको छ । सुरक्षा व्यवस्था चुस्त पारिएको छ । मतदान गर्नबाट मतदाता त्रसित हुनुपर्ने कुनै कारण छैन ।’
प्रदेशभित्र पहिलो चरणमा मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, लमजुङ र गोरखामा निर्वाचन हुँदैछ । क्षेत्रीय प्रशासक अर्यालले सहज र मोटरबाटो पुगेको ठाउँसम्म मोटर र उच्च हिमाली भेगमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरेको जानकारी दिए । ‘अब सबै तयारी पूरा भएको छ । मतपत्र, मतपेटिकासहित आवश्यक सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी मतदानस्थनमा पुगेका छन्,’ उनले भने, ‘बिहीबार बेलुकीसम्म सबैजसो मतदानस्थलमा कर्मचारी पुगिसक्छन् । दुई दिनमा कर्मचारीले अन्य व्यवस्थापनको काम गर्नेछन् । पहिलो चरणमा ६ वटा जिल्लाका ५ लाख ६३ हजार मतदाताले मतदान गर्नेछन् ।
अर्यालका अनुसार उच्चहिमाली र पहाडी क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको छ । गोरखाको उच्चहिमाली भेगमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको अर्यालले बताए । ‘गाडी पुग्न नसक्ने ठाउँमा हेलिकप्टरले आवश्यक सामग्री ढुवानी भएका छन् । बाँकी ठाउँमा गाडीबाटै पुगेका छन्,’ उनले भने । चिसो बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमपात हुने हो कि भन्ने त्रास रहेकोमा अहिलेसम्म हिउँ नपरेपछि निर्वाचन गराउन सहज भएको उनले बताए । ‘हिउँ नपरेपछि सहज भएको छ । सबै ठाउँमा कर्मचारी पुगिसकेकाले अब प्राकृतिक प्रकोपबाट पनि डर छैन,’ उनले भने ।
मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले हिमाली जिल्लाको सबै तयारी पूरा भएको बताए । मतदान अधिकृत र कर्मचारी बिहीबारसम्म सबै मतदानस्थलमा पुगिसकेको उनले बताए । ‘सदरमुकाम चामेबाट सबैभन्दा टाढा फु मा कर्मचारी २ दिन पैदल हिँडेर पुगिसकेका छन्,’ ढकालले भने, ‘टाढामध्येको नार मा पनि मतदानका लागि तयारीसहितको टिम बिहीबार बेलुकी पुग्नेछ ।’ खटिएका कर्मचारीले मतदानअघिको २ दिन अवधिमा मतदान केन्द्र व्यवस्थापन गर्ने, दलसँग बैठक गर्ने उनले बताए । मनाङको दुर्गम नार र फुमा निर्वाचनका लागि खटिएका कर्मचारी र आवश्यक सामग्री लैजान हेलिकप्टर माग गरेपनि निर्वाचन आयोगले नपठाएपछि कर्मचारी हिँडेरै गएको उनले बताए ।
गोरखाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले माथिल्लो भेगमा समेत निर्वाचनमा खटिएका कर्मचारी आवश्यक निर्वाचन सामग्रीसहित पुगेको बताए । उनका अनुसार माथिल्लो गोरखामा केही भौगोलिक चुनौती भए पनि मतदानका लागि आवश्यक कर्मचारी र सामग्री पुगेपछि तयारी पूरा भएको बताए । ‘आवश्यक जनशक्ति सहयोगी कर्मचारी र सुरक्षाकर्मीसहित खटाएका ठाउँमा पुगेका छन्,’ उनले भने ।
उनका अनुसार उत्तरी दुर्गमका सबैभन्दा टाढाको मतदानस्थलमा छिटो गरी कर्मचारी र सामग्री पुगिसकेका छन् । नगरपालिका क्षेत्रमा बिहीबार बेलुकीसम्म पुगेका छन् । उनका अनुसार गोरखाका २७ वटा मतदान स्थलमा हेलिकप्टरबाट आवश्यक कर्मचारी र निर्वाचन सामग्री ढुवानी गरिएको छ । ‘गोरखाका २७ वटा मतदानस्थलमा हेलिकप्टरबाट सामान र जनशक्ति पु¥याएका छौं,’ उनले भने, ‘४–५ वटा मतदानस्थललाई आधार मानेर हेलिकप्टरबाट जनशक्ति पठाएका छौं ।’ उनका अनुसार ४–५ वटा मतदानस्थललाई पायक पर्नेगरी हेलिकप्टरबाट सामग्री र मान्छे पु¥याएपछि केही घन्टा हिँडेर मतदानस्थलमा पुगिसकेका छन् ।
प्रदेश–४ का प्रहरी प्रमुख एआइजी कमलसिंह बमका अनुसार मतदानस्थलमा म्यादी, प्रहरीबाहेक सशस्त्र र सेनाले पनि सुरक्षा दिनेछ । जिल्लामा अति संवेदनशील भनिएका मतदानस्थलमा १५ जना, संवेदनशीलमा ११ र सामान्यमा ८ जना सुरक्षाकर्मी प्रहरीको तर्फबाट खटिँदैछन् । तीबाहेक एक मतदान केन्द्रमा ४ जनाको दरले थप सुरक्षाकर्मी थपिनेछन् । सबैतिर सुरक्षा व्यवस्था बलियो र भरपर्दाे भएकाले निर्वाचनमा मतदान गर्न जानबाट कोही डराउनुनपर्ने सुरक्षा निकायले बताएको छ ।

प्रकाशित: ८ मंसिर २०७४ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App