८ वैशाख २०८१ शनिबार
राजनीति

‘निर्वाचनका लागि सीमामा उच्च सुरक्षा’

वीरगन्ज– मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा समन्वयका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक बुधबार वीरगन्जमा सम्पन्न भएको छ । नेपालमा आसन्न निर्वाचनका लागि चुनाव अघि देखि नै सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइने बैठकमा सहभागि दुई देशका सुरक्षा अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

बैठकमा निर्वाचनको सुरक्षा व्यवस्था तथा सीमा आरपार सुरक्षा समन्वयबारे छलफल भएको सहभागी अधिकारीले बताएका छन् । दुवै देशका सुरक्षा अधिकारीहरुबीच भएको छलफलमा सीमाक्षेत्रमा हुने आपाराधिक गतिविधि नियन्त्रण तथा निगरानी गर्ने, सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गर्ने, मतदानको दिन सीमा बन्द गर्ने, सुरक्षा तथा अन्य आवश्यक विषयका सूचना आदानप्रदान गर्ने लगायतको छलफल तथा समझदारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

निर्वाचनको मुखमा विभिन्न ठाउँहरुमा बम विष्फोटका घटना दोहोरिएकाले सुरक्षा चुनौतीहरु बढेको नेपालका सुरक्षा अधिकारीहरुले विश्लेषण गरिरहेको बेला दुवैदेशका सुरक्षा अधिकारीहरुबीच छलफल महत्वपूर्ण मानिएको छ । ‘यी कुराहरु हाम्रो आन्तरिक सूरक्षा चुनौति हुन हामीले दैनिकरूपमा बस्ने जिल्ल सूरक्षा समितिको बैठकमा यसबारे विचार गरेर सुरक्षा रणनीति बनाइरहेका छौं,’ पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले भने, ‘बैठकमा पनि महत्वपूर्ण छलफल भएको हो ।’ भातरसँग सीमा जोडिएका जिल्लाहरु बढी संवेदनशील भएकाले सूरक्षा रणनीति बनाउन सीमापारीका सुरक्षा सयन्त्रसँगको समन्वय महत्वपूर्ण पाटो मानिएको छ ।

नाका जोडिएका सीमावर्ती जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरुबीचको नियमित बैठक नेपाल र भारत दुवैतिर हुने हरेक निर्वाचनको समयमा पनि हुने गरेको छ । पछिल्लो समयमा नेपालमा साना हतियारको बिगबिगी बढिरहेको छ भने आपाराधिक घट्नामा संलग्नहरु पक्राउ पर्ने क्रम पनि देखिएको छ । पक्राउ पर्नेमा भारतबाट आएका पेशेवर अपराधी पनि छन् । सीमापारीका अपराधीबाट पनि नेपालमा थप सुरक्षा चुनौती देखिएको हो ।

बुधबार सम्पन्न बैठकमा नेपालबाट पर्सा, बारा, रौतहट, चितवन र नवलपरासीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका जिम्मेवार अधिकारीहरु र भारतका तर्फबाट पूर्वी चम्पारणका डिएम रमन कुमार, पश्चिमी चम्पारणका डिएम डा. निलेश देव, भारतको बिहार प्रहरी र सशस्त्र सुरक्षा बलका अधिकारीहरुको सहभागिता थियो ।

प्रकाशित: ७ मंसिर २०७४ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App