८ वैशाख २०८१ शनिबार
राजनीति

बागीले आधिकारिक उम्मेदवार तनाबमा

बुटवल- रुपन्देहीका पुराना कांग्रेस नेता कृष्णप्रसाद पौडेल स्थानीय तह चुनावमा तिलोत्तमा नगरपालिकामा मेयर पदका आकांक्षी थिए । राजनीतिक रुपमा खारिएका र सामाजिक रुपमा भिजेका पौडेलले मेयरमा आकांक्षा राख्नेबित्तिकै धेरै कार्यकर्ता उत्साहित देखिए, उनको लबिङमा लागे । सामाजिक छवि राम्रो बनाएका पौडेलले  टिकट पाए जित्ने भएकाले उत्साहित कार्यकर्ताको अन्तिममा केही जोर चलेन । मेयर पदको टिकट पाए, कांग्रेस नेता बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्णले । मेयरका आंकाक्षी पौडेल टिकट नपाए पनि दिनरात चुनाव जिताउन खटे ।

 प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा मौका पाइएला भन्ने ठानेका उनको अहिले पनि केही जोर चलेन् । मेयरको बलियो दाबेदारी छाडेकाले प्रदेश सदस्यमा पौडेलले सजिलै टिकट पाउँछन् भन्ने धेरैको आशा र अपेक्षा थियो तर त्यो पूरा भएन् । कांग्रेस रुपन्देहीका सभापति एंव रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अब्दुल रज्जाकको रोजाइमा परे हरि न्यौपाने । यिनै न्यौपानेलाई काखी च्याप्ने र पुराना नेता पौडेललाई पाखा लगाउने रज्जाकको चाल अन्ततः उनैलाई गलपासो भएको छ ।

सधैंभरि भित्तामा पु¥याउन खोजेपछि पौडेललाई पनि झोंक उठ्यो, उनी रुपन्देही–१ को प्रदेशसभा–(ख) बाट बागी बनेका छन् । ‘नेताहरूले चाकरी र पैसा खोजे, त्यो मबाट सम्भव भएन्, राजनीतिमा इमान बचाएर काम गर्न अप्ठेरो भएको महसुस भएको छ,’ चुनावी प्रचारमा रहेका पौडेलले भने ।  टिकट नपाए पनि पौडेल बागी बन्लान् भन्ने नठानेका रज्जाक अहिले अप्ठेरोमा छन् । रज्जाकले पैसामा टिकट बेचेको आरोप लगाउँदै पौडेलले चुनावी प्रचार गरेपछि कांग्रेसका आधिकारिक उम्मेदवार न्यौपाने झनै अप्ठेरोमा छन् । एमाले–माओवादी गठबन्धनकोे कडा टक्करभन्दा उनले आन्तरिक लफडा झेल्न कठिन देखेका छन् ।

रुपन्देही–१ को प्रदेशसभा (ख) मा प्रबल दाबेदार थिए, कांग्रेसका युवा नेता बैजनाथ साहनी । राप्रपा प्रजातान्त्रिकका नेता  दीपक बोहराका प्रियपात्र  ताहिर अलि अन्सारीलाई टिकट दिँदा साहनी फालिए । आक्रोशमा रज्जाकविरुद्ध नै बागी दिएका उनले उम्मेदवारी त फिर्ता लिए तर चुनावी अभियानमा उत्साहित भएर हिँडेका छैनन्। ‘नेताहरूले योगदान, पार्टीभित्रको सन्तुलन र मतदातामा राम्रो छवि बनाएकालाई टिकट नदिँंदा समस्या देखिएको छ,’ साहनीले भने ।

रुपन्देही–१ को प्रदेशसभा (ख) मा मात्रै नभएर अरु क्षेत्रमा पनि टिकट वितरणमा ख्याल नगर्दा कांग्रेसमा बागी उम्मेदवारी परेको छ । एमालेमा भने रुपन्देही–५ को प्रदेशसभा (क) मा बागी परेको छ । एमालेसहित अरु दलको तुलनामा कांग्रेसमा धेरै बागी परेको छ । रुपन्देहीमा पाँच निर्वाचन क्षेत्र छन् । तीमध्ये रुपन्देही–४ बाहेक अरु  क्षेत्रका केही प्रदेश क्षेत्रमा कांग्रेसमा बागी परेको छ ।

एमाले–माओवादीसहितका वामपन्थी दलहरू एक भएर चुनावमा भिडेका बेला कांग्रेसमा आन्तरिक लफडा बढ्दा नेतृत्वले मिलाउन भूमिका नखेलेको कांग्रेस कार्यकर्ताले बताएका छन् । ‘बागी’ लाई कुनै रेस्पोन्स नगरेकाले अहिले समस्या देखिएको रुपन्देही कांग्रेसका का एक पुराना  नेताले बताए । बागी उम्मेदवारी दिएका साहनीले रज्जाकको आग्रहमा फिर्ता लिए तर अन्य क्षेत्रमा फिर्ता लिनेगरी नेतृत्वले पहल गरेन् । ‘गुटबन्दीलाई मात्रै ध्यान दिएकाले असन्तुष्टको कुरा सुनिएन्,’ साहनीले भने ।

वाम गठबन्धन बनेपछि कांग्रेसले चुनाव जित्न राप्रपा लगायतसँग कतिपय क्षेत्रमा सहकार्य गरेको छ, त्यसअनुसार रुपन्देही–३ का उम्मेदवार छन् राप्रपा प्रजातान्त्रिकका नेता बोहरा । रुपन्देही–३ को प्रदेशसभा (क) मा विजय गच्छदारसँगै कांग्रेस पसेका देवी चौधरी मैदानमा छन् । भैरहवा नगरपालिका समेत पर्ने रुपन्देही–३ मा राप्रपा प्रजातान्त्रिकका बोहरालाई उम्मेदवार बनाइएपछि  प्रदेशसभा (क) मा कांग्रेसमा पहिलेदेखि काम गर्दै आएकालाई टिकट दिनुपर्ने माग बेवास्ता गरिएपछि त्यहाँ युवा नेता ओम श्रेष्ठ बागी छन् ।

रुपन्देही  कांग्रेसमा कुनैबेला कोइराला परिवारका भित्रिया मानिने रामकृष्ण ताम्राकारको डाडुपन्यु चल्थ्यो । शक्तिमा रहेका बेला भैरहवामा उनले राम्रै गरी आफ्नो समूहलाई हुर्काए । अहिले रुपन्देही कांग्रेसलाई निर्देशित गर्ने भूमिकामा आएका छन्, प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवाका भित्रिया मानिने बालकृष्ण खाँण।  खाँणले ताम्राकारलाई ठेगान लगाउन  निकटवर्तीहरूलाई टिकट वितरणमा भेदभाव गरेको आरोप लगाउँदै श्रेष्ठले उम्मेदवारी दिएपछि राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बोहरालाई समेत समस्या भएको छ ।

खाँण र ताम्राकारको झगडाको घानमा राजनीतिका चतुर खेलाडी बोहरा परेका छन् । यो झगडाको घानबाट उनी उम्किन्छन् कि पिसिन्छन्, त्यो केही सातामै देखिनेछ ।

रुपन्देही–४ को प्रदेशसभा (क) बाट टिकट नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै उम्मेदवारी दिएका विनोद श्रीवास्तवले पछि फिर्ता लिए । तर प्रदेशसभा (२) बाट बागी वीरेन्द्र कलवारले चुनावी मैदानमा दौड कायम राखेपछि कांग्रेसका आधिकारिक उम्मेदवार बसुद्दीन खाँलाई अप्ठेरो परेको छ ।

रुपन्देही–५ मा देउवा निकट नेता भरत शाह जित दोहो¥याउने दाउमा छन् । एमाले—माओवादी गठबन्धनले माओवादीका डिलाराम आचार्यलाई उम्मेदवार बनाएपछि हल्का महसुस गरेका उनलाई बागीले टाउको दुखाइ भएको छ । मधेसी समाजमा प्रभावशाली मानिएका अमरिका कहार कांग्रेसका पुराना नेता हुन् । सुरुमा प्रदेश समानुपातिक उम्मेदवार सूचीमा परेपछि चित्त बुझाएका उनको एकाएक अन्तिममा नाम काटियो । समानुपातिक उम्मेदवारबाट नाम काटिएपछि उनको आक्रोश रोकिएन् । उनले क्षेत्र नम्बर ५ प्रदेशसभा (२) मा बागी उम्मेदवारी दिएका छन् । बागी दिनुको बाध्यता नेता शाह भएको आरोप लगाइरहेका छन् उनले । शाहले केही साताअघि संघीय समाजवादी फोरमबाट प्रवेश गरेका फकरुद्दीन  मियाँलाई प्रदेश–(ख) मा रोजेपछि समस्या भएको हो  ।

कांग्रेस निकट बुद्धिजीवी गोपाल पाण्डे पार्टीमा दुःख धेरै गर्ने तर मूल्यांकन नभएको महसुस भएपछि बागी दिनेहरू बढेको बताउँछन् । अर्का बुद्धिजीवी डा. सुदर्शन नेपाल बागी दिनु गलत भएको बताउँछन् । बागी उम्मेदवारी दिनु केवल आत्मसन्तुष्टि मात्रै भएको उनको बुझाइ छ ।

एमालेमा पनि बागी

बागी र असन्तुष्टि कांग्रेसमा धेरै देखिए पनि एमाले पनि अछुतो छैन् ।  रुपन्देहीमा पार्टीभित्र ‘लेनिन’ भनेर चिनिने पुराना र इमानदार नेता भवानीशंकर सापकोटा बागी उम्मेदवार बन्नुपर्ने दिन आउला भनेर सायदै कसैले सोचेका थिए । बागी उम्मेदवारी  दिए पनि अहिले फिर्ता लिएका सापकोटा पद्धतिभन्दा व्यक्ति केन्द्रत राजनीति हाबी हुँदै  गएकाले समस्या भएको बताउँछन् ।

तत्कालीन सालझन्डी गाविसका पूर्वअध्यक्ष मीनप्रसाद घिमिरेले रुपन्देही–५ को प्रदेशसभा (क) बाट बागी उम्मेदवारी दिएका छन् । घिमिरेले आकांक्षा राखेको रुपन्देही–५ को प्रदेशसभा (क) बाट एमालेले भूमिश्वर ढकाललाई उम्मेदवार बनाएको छ ।

कांग्रेस र एमाले एकले अर्कोलाई हराउन गठबन्धन बनाएर मैदानमा ओर्लिएका बेला पार्टीभित्रकै आन्तरिक लफडा मिलाउन समस्या भएको छ । बागीले जित्ने अवस्था नदेखिए पनि चुनावी परिणाम आकलन गरेभन्दा फरक आउने सम्भावना देखिँदैछ । ‘बागीले सके आफैं जित्ने प्रयास गर्छन्, त्यस्तो नदेखिए आधिकारिकलाई हराएर आफ्नो हैसियत देखाउन खोज्छन्, अहिले त्यस्तै देखिँदैछ,’ राजनीतिक विश्लेषक माधव पन्थीले भने ।

प्रकाशित: ६ मंसिर २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App