१६ जेष्ठ २०७७ शुक्रबार
राजनीति

प्रदेश–५ बाँके : अस्थिर मतदाता, अस्थिर परिणाम

नेपालगन्ज- बाँके ‘अस्थिर’ मतदाताको बाहुल्य भएको जिल्ला हो । त्यसैले यो कुनै राजनीतिक दलको ‘किल्ला’ रहेन। २०४८ यताका पाँचवटा निर्वाचनमा कांग्रेस, एमाले, राप्रपा, माओवादी र मधेसवादी दलले परिणाम बाँडे। त्यसैले यसपटकको निर्वाचनमा परिणाम कसको पोल्टामा जान्छ भनेर कसैले आकलन गर्न सकेको छैन । कांग्रेस नेता मेघराज ओली भन्छन्, ‘चुनावको बेला जतातिर हावा चल्यो, परिणाम उसैको पक्षमा ढल्किन्छ ।’

२०४६ को परिवर्तनपछि भएको पहिलो आमनिर्वाचनमा हावा कांग्रेसतिर लाग्यो । सुशील कोइराला, कृष्णसिंह परियार र मेराज अहमद साह सांसद चुनिए । तर, कांग्रेसले विजयको झन्डा लामो समय फहराउन पाएन । २०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेस एकैपटक ‘शून्य’ मा झ¥यो । पञ्चायत ढलेको पाँच वर्षमै पञ्चहरुको पार्टी राप्रपाले जिल्लाका तीनै सिटमा कब्जा जमायो । प्रजातान्त्रिक आन्दोलनमा पश्चिमको केन्द्र बनेको बाँकेबाट प्रेमबहादुर भण्डारी, शान्तिशमशेर राणा र फत्तेसिंह थारु संसद्मा पुगे । ‘पञ्चायतको पीडा नभुल्दै बाँकेका जनताले यस्तो नतिजा दिनु आफंैमा अप्रत्याशित घटना थियो,’ ओली भन्छन्, ‘तर त्यही चुनावले बाँके अस्थिर मतदाताको जिल्ला हो भन्ने पहिचान दिन सुरु ग¥यो ।’

२०५६ को निर्वाचनमा मतदाताको मन फेरि कांग्रेसतिर ढल्कियो । सुशील कोइरालासँगै ज्ञानु केसी र कैलाशनाथ कशौधन सांसद चुनिए । पुनरागमनबाट कांग्रेसले सोच्यो– अब त बाँके जिल्ला पक्का ‘कांग्रेस किल्ला’ बन्यो । तर, गणतन्त्र स्थापनापछिको पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसको मुठ्ठीभित्र हावामात्र बाँकी रह्यो । चुनावी हावा भने माओवादी र मधेसवादीतिर बह्यो । माओवादीका तिलक परियार र पूर्णा सुवेदी तथा मधेसी जनअधिकार फोरमका सर्वदेव ओझा र मोहम्मद इस्तियाक राई निर्वाचित भए ।

राप्रपादेखि माओवादीसम्मलाई जिताएका बाँकेका मतदाताको मन एमालेतिर ढल्किन २२ वर्ष लाग्यो । २०७० को निर्वाचनमा जिल्लाका चारमध्ये तीन निर्वाचन क्षेत्रमा एमालेले पहिलोपटक विजयको झन्डा फहरायो । कांग्रेसबाट सुशील कोइरालामात्र विजयी भए । एमालेबाट देवराज भार, दिनेशचन्द्र यादव र दलबहादुर सुनार संसद्मा गए । ‘यहाँका मतदाता बडो विवेकशील छन्, एकपटक भोट हालेर हेर्छन्, राम्रो काम गरेन भने अर्कोपटक अर्कैलाई छान्छन्,’ लामो समय निर्वाचन रिपोर्टिङ गरेका नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष रुद्र सुवेदी भन्छन्, ‘मतदाताको यही स्वभावको कारण कुनै पनि निर्वाचनमा परिणाम पूर्वानुमान गर्न निकै कठिन हुनेगर्छ ।’

दुई लाख ७६ हजार सात सय मतदाता रहेको बाँकेमा तीमध्ये ठूलो हिस्सा अस्थिर स्वभावको छ । यस्ता मतदाता दलभन्दा पनि उम्मेदवारको अनुहारलाई बढी प्राथमिकता दिन्छन् । नेपालगन्ज उपमहानगरपालिकासमेत रहेको क्षेत्र नं. २ अझ बढी अस्थिर मानिन्छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यसको स्पष्ट संकेत देखिएको थियो । कांग्रेसले २३ मध्ये आठवटा वडा र उपमेयर जित्दासमेत मेयर राप्रपाको पोल्टामा गयो । तीनवटा वडामा सीमित रहेको राप्रपाका धवलशमशेर राणा विजयी भए । जब कि यिनै धवल २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट मेयर विजयी भएका थिए ।

त्यसैले धेरैको आकलन छ– यसपटक पनि बाँकेका मतदाताले आप्mनो परम्परागत स्वभाव प्रकट गर्नेछन् । यो स्वभावसँग राम्ररी परिचित प्रमुख दलका नयाँ अनुहार चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका माधवराज खत्री र वाम गठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराज मैदानमा छन् । ‘यसअघिका निर्वाचन परिणामलाई हेरेर जितहारको अनुमान गर्नु उचित हुँदैन,’ कोहलपुरका एक एमाले कार्यकर्ता भन्छन्, ‘जनताले पार्टीभन्दा पनि उम्मेदवारको अनुहार हेरेर फैसला गर्ने हुँदा हामी अहिलेसम्म सम्भावित परिणामबारे अन्योलमै छौं ।’

२ नम्बर क्षेत्रमा रोचक प्रतिस्पर्धा छ । कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई मैदानमा पठाएको छ । वाम गठबन्धनबाट सूर्य चिह्न लिएर स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्र प्रतिस्पर्धामा उत्रिएका छन् । संघीय समाजवादी फोरमबाट पूर्वमन्त्रीसमेत रहेका मोहम्मद इस्तियाक राई र राजपाबाट विजयकुमार गुप्ता मैदानमा छन्। सधैं अप्रत्याशित नतिजा दिने यो क्षेत्रका जनताले यसपटक कसलाई चुन्छन्, यसै भन्न सकिने अवस्था छैन । यो क्षेत्रमा कुन पार्टीको संगठन कति बलियो भन्ने कुराले समेत अर्थ राख्दैन । यहाँ राजनीतिकभन्दा भावनात्मक भोट बढी निर्णायक हुनेगर्छ । ‘त्यसैले यो क्षेत्रमा यी चारै उम्मेदवार उत्तिकै सशक्त हुन्, अहिल्यै कसैलाई अरुभन्दा बलियो भन्न सकिँदैन,’ नेपालगन्जका एक कांग्रेस समर्थक भन्छन्, ‘जित्नलाई त राजनीतिक भावनालाई बढी प्रभावकारी बनाउनुपर्छ ।’

लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका बादशाह कुर्मी र वाम गठबन्धनबाट एमालेका नन्दलाल रोकायाबीच प्रमुख प्रतिस्पर्धा हुने क्षेत्र नं. ३ पनि सांगठनिकभन्दा भावनात्मक भोटबाट प्रभावित हुने क्षेत्र हो । यहाँ मधेसी र पहाडी समुदायको उत्तिकै प्रभाव छ । निवर्तमान सांसद कुर्मी र एमालेका पुराना राजनीतिक हस्ती रोकायामध्ये कसले बाजी मार्छ भन्ने चुनावी हावाले निक्र्योल गर्नेछ ।

देशभर गठबन्धन दैनिकजसो कसिलो हुँदै जाँदा बाँकेमा भने दुईटै गठबन्धनभित्रका बागी र असन्तुष्टको स्वर चर्को बन्दै गएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा करिब एक दर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसले पनि यहाँका नेता÷कार्यकर्ता आआप्mनो दलप्रति पूर्ण प्रतिबद्ध नभएको संकेत गर्छ । ‘यहाँका मतदातामात्र होइन, नेताकार्यकर्ता पनि दलको पूर्ण नियन्त्रणमा रहँदैनन्,’ वाम गठबन्धनका एक नेता भन्छन्, ‘जता हावा चल्यो उतै बहन्छन्, त्यसैले अहिल्यै परिणामबारे के बहस गर्नु ?’

 

प्रकाशित: ६ मंसिर २०७४ ०८:११ बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App