८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानीवासीलाई नै थाहा छैन कसरी भोट हाल्ने

कोटेश्वर महादेवस्थानस्थित सावित्रीदेवी गौतमको खाजा पसलमा साँझ–बिहान चिया पिउँदै राजनीतिक गफ गर्नेको भीड लाग्छ। 

गौतमको पसलअगाडि बेन्च र महादेवस्थान मन्दिरको पेटीमा बसेर राजनीतिक गफ गर्नेका लागि अचेल साझा अजेन्डा बनेको छ– प्रतिनिधि र प्रदेशसभा निर्वाचन । उनीहरू चियाको चुस्कीसँगै कुन पार्टीले चुनाव जित्छ भन्ने अड्कल काटिरहेका हुन्छन्। 

ग्राहकका गफ सुन्दासुन्दा गौतममा पनि राजनीतिक चेतना निकै बढेको छ । विभिन्न पार्टी र नेता एवं तिनका चुनावी अजेन्डाबारे उनी परिचित छन् । तर, चुनावनजिकै आइसक्दा पनि गौतमलाई एउटै कुराले भने अन्योलमा पारेको छ, ‘खेर नजाने गरी भोट कसरी हाल्ने ?’

प्रतिनिधिसभा काठमाडौं क्षेत्र– २ की मतदाता उनलाई आफ्नो अमूल्य मत बदर भएर योग्य उम्मेदवारले हार्छन् कि भन्ने चिन्ता छ । ‘भोट हाल्ने दिन नजिकै आइसक्यो, अहिलेसम्म कसरी भोट हाल्ने थाहा नै छैन,’ उनले भनिन्, ‘उम्मेदवारहरू लावालस्कर लिएर भोट माग्न त आइराखेका छन् तर कसरी भोट हाल्ने भनेर कसैले सिकाएनन्।’

स्थानीय तह निर्वाचनका बेला रेडियो र टिभीमा राजधानी काठमाडौंमै समेत धेरै मत बदर भएको सुनेकी उनले भोट हाल्ने सही जानकारी पाउनुपर्ने बताउँछिन् । त्यसका लागि दल र निर्वाचन आयोगले मतदाताको घरघर पुगेर भोट तरिका सिकाउनुपर्ने उनको ठहर छ। 

‘मेरो चियापसलमा राजनीतिक गफ धेरै हुन्छ,’ उनले भनिन्, ‘अहिलेसम्म न भोट माग्न आउनेले सिकाएका छन्, न त चुनाव गराउने निर्वाचन आयोगले नै भोट कसरी हाल्ने भनेर सिकाएको छ ।’ उनले घरका सबैलाई भोट हाल्न नसिकाए पनि कम्तीमा एकजनालाई भने अनिवार्य रूपमा भोट हाल्न सिकाउनुपर्ने बताइन्। 

भक्तपुर क्षेत्र– २ का मतदाता राकेश सुवाललाई पनि गौतमलाई जस्तै चिन्ता छ– आफूले हालेको भोट खेर जाने हो कि ? 
उनलाई पनि कसैले भोट हाल्ने तरिका सिकाएको छैन । पेसाले निर्माण मजदुर उनी दिनभर काममा खटिन्छन्।

‘प्रत्यक्षतर्फ भोट हाल्न त जानेकै छु,’ उनले भने, ‘समानुपातिकतर्फ लोकतान्त्रिक र वाम गठबन्धन भनिरहेका छन्, दुवै पार्टीलाई भोट हाल्ने हो कि ? एउटालाई मात्रै हो, अझैसम्म थाहा पाउन सकेको छैन।’ 

भक्तपुर क्षेत्र– २ मा पर्ने झौखेलका अर्का मतदाता कान्छा कासुला राजनीतिक प्रचार–प्रसार र मतदाता शिक्षा कार्यक्रम सहर केन्द्रित भएको बताउँछन् । ‘नेताहरूले बजार क्षेत्रमा मात्रै प्रचार–प्रसार गरेको देखिन्छ, गाउँघरतिर त नेता देख्नै मुस्किल हुन्छ,’ उनले भने, ‘खोई अहिलेको चुनावमा तीनवटा मतपत्र छ रे, कसरी भोट हाल्ने अहिलेसम्म कसैले सिकाएका छैनन्।’ 

दैनिक गुजाराका लागि काम गर्नुपर्दा पनि भोट हाल्ने तरिका सिक्न नपाएको उनले बताए । ‘हामीलाई त बिहान–बेलुका काम नगरी खानै पुग्दैन,’ उनी भन्छन्, ‘कसरी भोट हाल्ने भनेर सिक्न पाएका छैनौँ ।’ राजनीतिक दलले चुनावका बेला मात्रै भोट माग्ने तर अरुबेला जनतालाई बेवास्ता गर्ने गरेको उनी बताउँछन्। 

काठमाडौं क्षेत्र– २ का मतदाता लक्ष्मणप्रसाद पाण्डे सरकारले मतदाता शिक्षामा करोडौँ खर्चिए पनि जनताले मतदाता शिक्षाबारे जानकारी नपाएको गुनासो गर्छन् । ‘अहिलेसम्म हाम्रो घरदैलोमा मतदाता शिक्षा कार्यक्रम आएको छैन,’ उनले भने, ‘राज्यको ढुकुटीबाट ठूलो रकम खर्चिने गर्छन् तर बदर मत घट्दैन । मतदाता शिक्षामै घोटाला भएजस्तो देखिन्छ ।’ 
बानेश्वरका मतदाता रामचन्द्र नेपालले आफ्नो प्रदेशसभामा कुन–कुन वडा पर्छन् भन्ने थाहा नै नभएको बताए।

प्रदेशसभामा कुन–कुन वडा पर्छन्, अझैसम्म बुझेको छैन,’ उनले भने, ‘जनप्रतिनिधिलाई कसरी भोट हाल्ने अहिलेसम्म थाहा छैन ।’ उनले राजनीतिक दल र निर्वाचन आयोगले मतदाता शिक्षालाई व्यापक बनाउन नसकेको बताए। 

‘स्थानीय तहको निर्वाचनका बेला राजधानीमा नै धेरै मत बदर भयो,’ उनले भने, ‘मतदाता शिक्षाकै कमीले बदर भएको हो भनेर नेताको चेत अझैसम्म खुल्न सकेन।’ 

ललितपुर धोबीखोलाकी सन्ध्या गुरुङले पनि मतदाता शिक्षाबारे आफूलाई केही जानकारी नभएको बताइन् । ‘चुनावमा नारा लगाएर भोट माग्न आएको त देखेकी छु,’ उनले भनिन्, ‘यसरी भोट हाल्नुपर्छ भनेर कसैले सिकाएको छैन ।’ 
राजधानीका केही मतदाता भने सामाजिक सञ्जाल र टेलिभिजनमा हेरेर भोट हाल्न जानेको बताउँछन् । ‘मतदाता शिक्षाबारे फेसबुकमा भिडियो हेरेर नै भोट हाल्न जानियो,’ काठमाडौं क्षेत्र– ४ का मतदाता अनिल शर्माले भने, ‘सामाजिक सञ्जालमा मतदाता शिक्षासम्बन्धी भिडियो अपलोड गरेमा प्रभावकारी हुने देखिन्छ ।’ 

‘सबै मतदातासम्म पुग्न सकेका छैनौँ’
निर्वाचन आयोगले भने मतदाता शिक्षालाई प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौंका प्रमुख विनोद दाहालले काठमाडौंमा बिहीबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको बताए । ‘भर्खरै मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएका छौँ, अझै पनि मतदाता स्वयंसेवक प्रत्येक मतदाताको घरदैलोमा पुग्न भ्याइसकेका छैनन्,’ उनले भने, ‘त्यसैले मतदाता शिक्षा कार्यक्रम सबै जनताको घरदैलोमा पुग्न सकेको छैन ।’ 
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रममा हरेक मतदानस्थलमा एकजना स्वयंसेवक खटाएर घरदैलो कार्यक्रम गरिरहेको छ । त्यसका अलावा रेडियो, टेलिभिजन, पत्रपत्रिकामा निर्वाचनसम्बन्धी सूचना र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । काठमाडौं जिल्लामा सात सय ३१ मतदान केन्द्र छन्। 

दाहाल मतदाता शिक्षा कार्यक्रम एक साताभित्र जनताको घर–घरमा पुग्ने दाबी गर्छन् । उनका अनुसार काठमाडौं जिल्लामा मतदाता शिक्षाका लागि करिब एक करोडभन्दा बढी खर्च लाग्नेछ ।

कसरी गर्ने मतदान ?
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदाताले तीनवटा मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्छ । मतपत्र हरियो, कालो र रातो रङका हुन्छन् । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै दुईवटा मतपत्रमा छाप लगाउनुपर्छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एउटै मतपत्र हुन्छ । तर, त्यसको माथिल्लो क्रममा प्रतिनिधि र तल्लो क्रममा प्रदेशसभाका लागि भोट हाल्ने स्थान चिह्नसहित छुट्ट्याइएको हुन्छ। 

निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि हरियो रङको मतपत्र तयार पारेको छ । प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र कालो रङको छ । प्रतिनिधि र प्रदेशसभा समानुपातिकका लागि रातो रङको मतपत्र हुनेछ । मतदानका क्रममा मतदान अधिकृतको दस्तखत भएको मतपत्र मात्र मान्य हुन्छ । 

प्रकाशित: ४ मंसिर २०७४ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App