१६ चैत्र २०८० शुक्रबार
राजनीति

मेची पहाडका मतदाता भन्छन्- 'सडक, खानेपानी र बिजुली देऊ'

भीम चापागाईं/इलाम, खगेन्द्र अधिकारी/ताप्लेजुङ, गिरिराज बाँस्कोटा/पाँचथर
इलाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन्– सडक, पुल, खानेपानी र बिजुली ।
    इलाम मात्र होइन, मेची पहाडका जिल्लामा वर्षाैंदेखिका मुख्य समस्या र अभाव हुन् यी । गाउँमा सडक छैन, पुलपुलेसा छैनन्, खानेपानीका लागि संघर्ष गर्नुपरेको छ, बिजुली छैन । हरेक स्थानीय र संसदीय निर्वाचनमा दलहरूले ल्याउने अजेन्डा पनि यी विषयभन्दा फरक खासै छैनन् । तर, दलहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न नसक्दा सर्वसाधारण वर्षाैंदेखि तिनै पुराना माग दोहो¥याउन बाध्य छन् ।
    मेचीका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा सडक ठूलो समस्या छ । हिँउदभर मुस्किलले ल्यान्डरोभरसम्म चल्ने कच्ची सडक वर्षा याममा पूरै ठप्प हुन्छन् । वर्षामा सर्वसाधारणले सदरमुकाम आउजाउ गर्न दुईचार दिन लगाउनुपर्छ । खोलामा पुल नहुँदा यी जिल्लाका कतिपय गाउँलेको भेटघाट वर्षामा निकै पातलो हुन्छ । बिजुलीको सुविधा इलाम र पाँचथरमा सन्तोषजनक रहे पनि ताप्लेजुङका सबैजसो नागरिक ये सेवाबाट वञ्चित छन् । तीनटै जिल्लामा खानेपानीजस्तो आधारभूत आवश्यकता पूरा हुन सकेको छैन । त्यसैले वर्षौंदेखि एउटै अजेन्डा र समस्यमा दोहो¥याउन बाध्य छन् उम्मेदवार र सर्वसाधारण ।
    ‘गाउँगाउँमा बाटो छैन, बिजुली छैन । तरकारी फलायो डोकामा बोकेर बजार पु¥याउनुपर्छ । गाई पालेर दूध बनायो बिक्दैन । निकै दुःख छ गाउँमा,’ देउमायाले थपिन्, ‘बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ । भोट दिने बेला आयो भन्छन् फेरि । अहिले त म जनताको दुःख हेर्ने, बाटोघाटो, पुल, स्कुल बनाउने, केटाकेटीलाइ निःशुल्क पढाउने व्यवस्था गरिदिने नेता को होे भन्ने बुझेरमात्रै भोट हाल्छु ।’ उनलाई कुन पार्टीको कुन चुनावचिह्न हो भन्ने हेक्का छैन ।
    इलामलाई सुगम जिल्लाका रूपमा बुझ्नेको संख्या धेरै हुनसक्छ तर स्थानीयले भोग्नुपरेको दुःख भने दलका नेताले कहिल्यै नबुझेको सर्वसाधारण बताउँछन् । ‘पार्टीमात्रै धेरै भए । विकास गर्नेखालको पार्टी आवश्यक छ । जसले खानेपानी, बिजुली, बाटोे टोलमा पु¥याउँछ, उसैलाई भोट दिन्छु,’ इलाम जमुनाका हरिप्रसाद भट्टराई भन्छन् । उनले गरिब, सुत्केरी, वृद्धवृद्धालाई हेरचाह गर्नेखालको सरकार बन्नुपर्ने बताए ।  
    पाँचथरको कुम्मायक गाउँपालिका, स्वाबरुम्बाकी गंगामाया खनाललाई लाग्छ नेताले खानेपानी, बिजुली ल्याइदिउन्, सडक राम्रो बनाइदिउन् । उनी भन्छिन्, ‘झट्ट सुन्दा यी माग ठूला होइनन्जस्तो लाग्छ । तर, यी माग चुनावमा आउने नेताहरूसँग राखेको धेरै समय बित्यो, अहिलेसम्म पूरा भएनन् । यति पूरा  गरिदिए ठूलो राहत हुनेथियो । खै कामै गर्दैनन् ।’
    कुम्मायक गाउँपालिकाको मुख्य समस्या खानेपानी हो । खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ । पानीपछि सडक र बिजुली यहाँको आवश्यकता हो । गाउँपालिकावासीको माग छ– फिदिम–यासोक सडक कालोपत्रे, खानेपानी, तमोर जलाशययुक्त आयोजना र सुविधासम्पन्न अस्पताल ।
    पाँचथरकै याङवकर गाउँपालिकाका मतदाताले मध्यपहाडी लोकमार्ग, पर्यटन, कृषि विकासजस्ता माग राखेका छन् । मध्यपहाडी लोकमार्गको चिवा भञ्याङसम्म कालोपत्रे भए ठूलो राहत हुने स्थानीय शिव श्रेष्ठले बताए । ‘विभिन्न योजना लिएर आउने नेताले हाम्रा आधारभूत आवश्यकता पूरा गरिदेलान् भन्नेमा शंकै छ,’ उनले भने । फालेलुङ गाउँपालिकावासीले पनि सडक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेका छन् । ‘जैविक विविधता संरक्षण यहाँको अर्काे आवश्यकता हो,’ फालेलुङका महेन्द्रवीर राई भन्छन्, ‘पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षण, पर्यटनजस्ता विषयमा ध्यान दिनुपर्छ ।’
        ताप्लेजुङ, फुङलिङ नगरपालिका–६ का बादल गुरुङ पनि सबैभन्दा ठूलो समस्याका रुपमा सडक, खानेपानी, बिजुली र खाद्यान्न भएको बताउँछन् । त्यस क्षेत्रको समृद्धिका लागि उत्तर दक्षिण लोकमार्गले चिनिएको सुकेटार–ओलाङचुङगोला सडक निर्माणले पूर्णता पाउनुपर्छ । यो मार्ग सञ्चालनमा आए चीनसँग प्रत्यक्ष सडक जोडिन्छ र अन्तरदेशीय नाकासमेत खुला हुनेछ । सिङिद्वा गाउँपालिका–४ का चन्द्र पन्दाक नेताहरूले उत्तर–दक्षिण लोकमार्ग आयोजना र तमोर करिडोर पूरा गरेर जनतामाझ देखाउनुपर्ने बताउँछन् । ‘देश विकास र समृद्धिका लागि स्थायी सरकार आवश्यक छ,’ पन्दाक भन्छन्, ‘त्यस्तो सरकारले मात्रै ताप्लेजुङको समृद्धिका लागि केही गर्न सक्छ ।’
    फुङलिङ नगरपालिका–२ का बलबहादुर विक सडक निर्माणलाई नै प्राथामिकता दिनुपर्ने बताउँछन् । ‘पहाडी क्षेत्रका गाउँगाउँमा सडक पूर्वाधार पु¥याउनुपर्छ,’ उनी भन्छन्, ‘ग्रामीण क्षेत्रमा उत्पादन हुने सामग्री बजार पु¥याउन नसकिए गाउँको समृद्धि सम्भव हुँदैन ।’
    फक्ताङलुङ गाउँपालिका–५ का राम बरालले जनताको आशा विकास, समृद्धि र सुशासन भएको बताए । ‘विकासमा पनि पहिला सडक, पुलपुलेसा,  खानेपानी, बिजुली, सिँचाइ र कृषि क्षेत्रको लगानीलाई मुख्य प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘ग्रामीण बस्तीसम्म बाह्रैकाल सवारी साधन सञ्चालन भएमात्र जनताले राहत पाउनेछन् ।’ फुङलिङ नगरपालिका–४ का राजु मिश्र युवा सशक्तीकरणमा जोड दिने नेतालाई जिताउनुपर्ने बताउँछन् ।
    तर, चुनावका बेला उम्मेदवारले मतदाता फकाउनमात्र लोभलाग्दा अजेन्डा ल्याउने गरेको तीतो अनुभव मतदाताको छ । ‘पहिला सर्वहाराका लागि काम गर्छौं भन्ने नेताहरू अहिले ठूलाठूला महल बनाएर बसेका छन् । पैसाको भरमा चुनाव जित्ने परिपाटी बनेको छ,’  इलामका पूर्वशिक्षक कृष्ण बानियाँले भने, ‘पाँच वर्ष सरकार चलाउन सक्ने पार्टीलाई भोट दिनुपर्छ ।’
        पाँचथरको मिक्लाचोङका विशाल राई गाउँ विकास, विद्युतीकरण, सडक कालोपत्रे, खानेपानी अस्पताल र क्याम्पस स्तरोन्नतिमा जोड दिनुपर्ने बताउँछन् । अहिलेसम्मका सबैजसो चुनावमा उम्मेदवारले सडककै एजेन्डा मुख्य बनाए पनि पूरा गर्न नसकेको उनले बताए ।

प्रकाशित: २७ कार्तिक २०७४ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App