७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुरक्षा सतर्कता उच्च, कारबाही फितलो

गोरखा- आसन्न मंसिर १० गते हुने प्रदेश र प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा गोरखामा सुरक्षा चुनौती बढेको छ। एक पछि अर्को गरी हातहतियार भेटिन थालेपछि सर्वसाधारण त्रसित छन्। शीर्ष नेताबीचको प्रतिस्प्रर्धाले सुरक्षार्थ खटिएका प्रशासकलाई कानुनी कारबाही गर्न जटिल बनेको छ।

कात्तिक २१ गते प्रहरीले माओवादी कार्यकर्ताको साथबाट तीन राउण्ड गोली सहित पेस्तोल भेट्नु, २२ गते खुकुरी सहित दुई जना पक्राउ पर्नु, हरेक दिनजसो चेकजाँचमा साना हतियार भेटिनुले गोरखाको सुरक्षा चुनौती बढेको सर्वसाधारणले समेत आँकलन गर्न थालेका छन्। पेस्तोल वरामद हुनु , बोकेर हिड्ने भिमसेन गाउँपालिका ४ का गुणराज खनाल फरार हुनु, उनी सँगै माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार शुसीला सिम्खडा मोटरसाईकल चढेर हिँडेको बेला भेटिनुले राजनीतिक दलको आडमा अपराधिक क्रियाकलाप बढेको प्रष्ट हुन्छ। सिम्खडाले हतियार सहित भेटिएका खनाललाई नियमित आफ्नो चुनावी कार्यक्रममा लिएर जाने गर्थिन्। प्रहरीले समान्य सोधपुछ गरी लिफ्ट मागेर आएको भन्ने उनको झुटो भनाईलाई आधार बनाएर छाडिदियो। माओवादी नेताको दबावमा प्रशासनले समानुपाती उमेद्धवार सिम्खडालाई थप अनुसन्धानको दायरामा ल्याउन सकेन।

पेस्तोल सहित भेटिएका खनाल प्रहरीको आँखा छलेर छिनमै चेकजाँच भएको स्थानबाट भागेका थिए । उनी अहिले सम्म पक्राउ पर्न सकेका छैनन । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए । उनलाई हातहतियार एवं खरखजना मुद्दा दर्ता गरि कारबाही थालिएको छ। उक्त घटनामा जिल्लाका प्रशासकले ठूलो राजनीतिक दबाब खेप्नुपर्‍यो । कात्तिक २२ गते प्रहरी चेकजाँचको क्रममा भिमसेन गाउँपालिकाबाट अमृत तामाङ र भिमबहादुर सुनार पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले खुकुरी बरामद गर्‍यो । निर्वाचन कार्यक्रमलाई प्रभावित गर्न उनीहरु हातहतियार सहित हिडेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । एकपछि अर्को गरी भएका अपराधिक घटनामा पक्राउ परेकाहरु कुनै न कुनै दल निकटका छन् । राजनीतिक दल निकटका ब्यक्ती भएकै कारण कानुनी कारबाहीमा दबाब आउने गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।

‘राजनीतिक र अपराधिक घटना छुट्याएर हामी अपराधिक घटनामा संलग्नलाई कानुनी कारबाही गर्छौ’ उनले भने। हरेक घटनामा राजनीतिक दवाब आएपछि कानुनी कारबाहीमा भने कुनै कसुर बाँकी नराख्ने बताईरहँदा यस अघिका घटनामा संलग्न पक्राउ नपर्नु, कारबाहीमा ढिलासुस्ती हुनुले सुरक्षामाथी प्रश्न उठेको छ । घटनाको रिजल्ट नआउँदा र कारबाही नहुँदा सम्म केही नभएको जस्तो देखिएको बताउँदै उनले अपराधिक क्रियाकलापमा संलग्नलाई जसरी पनि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए।

गोरखा प्रदेश नम्बर ४ को सबैभन्दाबढी संवेदनशिल जिल्ला हो। यहाँ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, माओावदी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका मुख्य सचेतक चिजनकाजी श्रेष्ठ, माओवादी प्रदेश नम्बर ४ का इन्चार्ज हरि अधिकारी जस्ता ठूला नेताबीच प्रतिस्प्रर्धा हुँदैछ। राष्ट्रिय राजनीतिमा र सरकारमा सिधै पहुँच राख्ने नेताहरु बिचको चुनावी भिडन्तले यहाँको शान्ति सुरक्षार्थ  चुनौती बनेको महशुस कर्मचारीले गरेका छन् । आफ्ना कार्यकर्ता, नेताले गरेको नराम्रो कामलाई ढाकछोप गर्ने, कानुनी कारवाहीबाट उम्काउन खोज्ने र अर्को दलको कार्यकर्ता भए कारबाहीका लागि निरन्तर प्रशासकलाई दबाब दिने परिपार्टीले सुरक्षा संवेदनशिलता टिकाईराख्न सुरक्षा प्रमुखहरुलाई पनि चुनौती देखिन्छ।

पछिल्लो समय प्रहरीले गोरखा सदरमुकाम भित्रने, गाउँ गाउँ जाने र बाहिरिने नाकामा पनि चेकजाँच बढाएको छ । प्रहरीको शक्रियता बढेपछि अपराधिक क्रियाकलापको मानसिकता बोकेर हिँडेकाहरु हतियार सहित पक्राउ पर्न थालेका छन् । तर पक्राउ परेकालाई कानुनी दायरामा ल्याउन राजनीतिक दबाब निरन्तर भईरहँदा भने कार्यन्वयन फितलो देखिन्छ । पछिल्लो समय गोरखामा भएका घटनाले मंसिर १० गते सम्मको सुरक्षा चुनौती झनै बढेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् । हरेक मतदान केन्द्रमा १५ देखि २५ मिनेट भित्र थप सुरक्षाकर्मी पुग्ने गरी ब्यवस्था मिलाइएको छ । अति संवेदनशिल क्षेत्रमा थप संख्यामा सुरक्षाकर्मी परिचालन गरिने, शसस्त्र प्रहरी खटाईने तयारी सुरक्षा समितिको छ । मंसिर १० को निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन र अपराधिक मानसिकता बोकेका दलका नेता कार्यकर्तालाई कानुनी दायरामा ल्याउन प्रशासनलाई ठूला नेताको चुनावी भिडन्तले असिनपसिन बनाएको छ।

 

प्रकाशित: २६ कार्तिक २०७४ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App