coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश २ : यस्ता छन् सम्भावित मुख्यमन्त्री

काठमाडौं- त्रिपक्षीय रुपमा कडा प्रतिस्पर्धा हुने देखिएको प्रदेश नम्बर २ मा भावी मुख्यमन्त्रीका रुपमा विभिन्न नेतालाई प्रदेशसभातर्फ उम्मेदवार बनाइएको छ । यो प्रदेशमा कांग्रेस, वामपन्थी गठबन्धन र मधेस केन्द्रित गठबन्धनको बीचमा तीव्र प्रतिस्पर्धा हुने अवस्था छ ।

मधेस केन्द्रित दलमध्ये महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय फोरमले सम्भावित मुख्यमन्त्रीको अनौपचारिक निर्णय गरेर प्रदेशसभाबाट उम्मेदबार बनाउने काम गरेका छन्, जसअनुसार संघीय फोरमबाट उपाध्यक्ष मोहम्मद लालबाबु राउत र राजपाबाट महामन्त्री जितेन्द्र सोनाललाई पहिलो सूचीमा राखेर अगाडि बढाइएको छ ।

उपाध्यक्ष राउत पर्सा–१ (ख) बाट प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवार छन् भने प्रतिनिधिसभाका लागि फोरमले जिल्ला अध्यक्ष प्रदीप यादवलाई उम्मेदवार बनाएको छ । प्रदेशसभामा उठाएका राउत संघीय फोरमका सबैभन्दा ‘हेभीवेट’ नेता हुन् । ‘मुख्यमन्त्री हो कि प्रदेश सांसद हो, त्यो पार्टीले नै निर्णय गरेर जिम्मेवारी दिनेछ’, राउतले नागरिकसँग भने, ‘पार्टीले प्रदेशमा उठ भन्यो, उठें, अब के जिम्मेवारी दिन्छ, त्यो पार्टीको निर्णयमा भर पर्छ ।’

राजपाले महामन्त्री सोनाललाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्र्र्दै प्रदेशसभाबाट उम्मेदवार बनाएको छ । बारा–४ (ख) बाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । प्रदेशसभाबाट उठ्ने उनी ‘हेभीवेट’ उम्मेदवार हुन् । ‘राजपा र संघीय फोरमको गठबन्धनले नै प्रदेश नम्बर २ मा बढी सिट ल्याउनेछ, सोही गठबन्धनले मुख्यमन्त्री पाउनेछ,’ सोनालले नागरिकसँग भने, ‘पार्टीले मुख्यमन्त्रीको जिम्मेवारी दियो भने म तयार नै छु तर सबै निर्णय पार्टी र गठबन्धनले गर्नेछ ।’

माओवादी केन्द्रका तर्फबाट भने सम्भावित मुख्यमन्त्रीका रुपमा पूर्वसभासद् भरत साह देखिएका छन् । सिरहाका विश्वनाथ साह र महोत्तरीका रामकुमार शर्माले टिकट नपाएपछि प्रदेशसभामा निर्वाचन लड्ने ‘हेभीवेट’ उम्मेदवारको रुपमा साह एक्ला छन् । उनी पार्टी केन्द्रीय सचिवालयका सदस्य पनि हुन् । ‘गठबन्धनले बहुमत ल्याएमा पार्टीले निर्णय लिन्छ, त्यसमा मेरो आपत्ति रहने छैन,’ साहले नागरिकसँग भने । साहलाई प्रतिनिधिसभामा नउठाई पार्टीले प्रदेशसभामा उठाएर सम्भावितः मुख्यमन्त्रीको रुपमा उभ्याएको माओवादीले बताएका छन् ।

उता एमालेले स्थायी समिति सदस्यसमेत रहेका पूर्वमन्त्री सत्यनारायण मण्डललाई पनि प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ । सप्तरी–१ (क) बाट उम्मेदवारी दिएका मण्डल सबैभन्दा ‘हेभीवेट’ नेतामा पर्छन् । मधेस केन्द्रित दल र वामपन्थी गठबन्धनको मतपरिणाम हेरेर गठबन्धन गरी मुख्यमन्त्री बनाउने दाउमा एमाले छ । तर, मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिएका मण्डलविरुद्ध उनकै पार्टीका नेता प्रकाश खतिवडाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसो त एमालेले स्थायी समिति सदस्य शंकर पोखरेलसहित प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, शेरधन राईलगायतलाइ पनि प्रदेशसभातर्फ प्रतिस्पर्धा गराएको छ । प्रदेशसभामा ‘हेभीवेट’ उम्मेदवार राख्नेमा एमाले अग्रस्थानमा छ ।

यस्तै नेपाली कांग्रेसले मुख्यमन्त्रीको रुपमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादवलाई अगाडि सारेको छ । डा. यादवलाई मुख्यमन्त्री बनाउने सर्तमा खानेपानी मन्त्री महेन्द्रप्रसाद यादवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको कांग्रेस स्रोतले बताएको छ । अघिल्लो पटक डा. यादवलाई प्रत्यक्षतर्फ दिएर मन्त्री यादवलाई समानुपातिकतर्फ राखिएको थियो । ‘यो पटक डाक्टर साहेबलाई मुख्यमन्त्री बनाउने सर्तमा प्रतिनिधिसभाको दाबी छाड्न लगाइएको हो’, एक नेताले भने । उनका अनुसार डा. यादव रामचन्द्र पौडेल पक्षधर हुन् भने मन्त्री यादव सभापति शेरबहादुर देउवा पक्षधर मानिन्छन् ।

प्रकाशित: २३ कार्तिक २०७४ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App