coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अधिनायकवाद नेपाली जनतालाई स्वीकार्य छैन: उपप्रधानमन्त्री थापा

नेपालगन्ज- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणाले आशंका पैदा गरेको बताएका छन्। यसले प्रजातन्त्रको भविष्य, राजनीतिक स्थायित्व र मुलुकको समग्र आर्थिक विकासमा समेत आशंका उब्जाएको बताए।

 नेपालगन्जमा बुधबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उपप्रधान तथा उर्जामन्त्री समेत रहेका थापाले भने, ‘जुन पृष्ठभुमिमा अप्रत्यासित र हठात रुपमा एमाले र माओवादीका बीचमा चुनावी तालमेलका साथै एकता गर्ने घोषणा भयो, दुबै पार्टीका नेताबाट दुई तिहाई बहुमत प्राप्त गरी नेपाललाई कम्यूनिष्ट देश बनाउने जुन उद्घोष भयो, त्यसले स्वभाविक रुपमा सन्सय र आशंका पैदा गरेको छ।’

  अध्यक्ष थापाले एक्काईसौं सताब्दीमा लोकतन्त्रको विकल्प नरहेको बताउँदै कुनैपनि प्रकारको ‘अधिनायकवाद’ नेपाली जनतालाई स्वीकार्य नहुने जिकिर गरे। अहिले नै एमाले र माओवादीको गठबन्धन र एकताप्रति नकारात्मक रुपमा आफुले टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै उनले भने, ‘केवल एकता र एकतापछि व्यक्त भएका अभिव्यक्तिले निश्चय पनि केही सन्सय र आशंका पैदा गराएको छ, भोलीका दिनमा यो सन्सय र आशंकालाई कसरी निराकरण गर्ने, प्रजातन्त्रप्रतिको उहाँहरुको निष्ठालाई कुन रुपमा उहाँहरु प्रस्तुत गर्नूहुन्छ त्यसको आधारमा नै मुल्यांकन हुनेकुरा हो।’

  माओवादीले प्रमुख प्रतिपक्षसँग एकता गर्ने, तर सरकारमा बसिराख्ने, दुबै पार्टी मिलेर नयाँ कम्यूनिष्ट पार्टी बनाउने र दुई तिहाई ल्याएर नेपालमा कम्यूनिष्ट शासन ल्याउने घोषणाले नेपाली जनतामाझ सन्सय र आशंका पैदा गरेको अध्यक्ष थापाले दोहोर्‍याए। वर्तमान राजनीतिक घटनाक्रमको पृष्ठभुमिमा कांग्रेस, राप्रपा लगायत लोकतान्त्रिक शक्तिबीच गठबन्धन निर्माण भएको स्पष्ट पार्दै उनले यसलाई ‘अत्यन्तै स्वभाविक र परिस्थितीजन्य आवश्यकता’ भएको दाबी गरे। ‘लोकतान्त्रिक गठबन्धनको निर्माण कसैका विरुद्धमा भएको होईन्,’ थापाले थपे ‘प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरण, राष्ट्रिय एकता र अखण्डताको संरक्षण र उदार अर्थनीतिको आधारमा मुलुकको समग्र आर्थिक विकास र समृद्धी लोकतान्त्रिक गठबन्धनको मुख्य लक्ष्य रहेको छ ।’ पछिल्लो राजनीतिक घटनाक्रमको परिणाम स्वरुप नेपालको राष्ट्रिय राजनीति तिव्र गतिले धु्रविकृत भइरहेको र एमाले–माओबादी बीचम चुनावी तालमेल तथा पार्टी एकता समेत गर्ने घोषणाले राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भएको बताए ।

  राप्रपाले लोकतान्त्रिक गठबन्धनको मुल्य र मान्यता प्रति पूर्ण रुपमा प्रतिवद्ध रहदै आगामी निर्वाचनमा नेपाली काँग्रेससँगको सहकार्यलाई सफल बनाउने अध्यक्ष थापाले ठोकुवा गरे । ‘यो सहकार्य निर्वाचन सम्मलाई मात्र होईन, निर्वाचनपछि पनि प्रजातन्त्रको रक्षा, साथै मुलुकको समग्र आर्थिक विकासमा नेपाली काँग्रेससँग हाम्रो सहकार्य जारी रहनेछ भन्ने मैले आशा र विश्वास लिएको छु,’ उनले थपे।

 

प्रकाशित: २२ कार्तिक २०७४ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App