१६ चैत्र २०८० शुक्रबार
राजनीति

मतदाता शिक्षा कार्यक्रम नहुँदा मतदाता अलमलमा

खोटाङ, कार्तिक २२ – मतदाता शिक्षा कार्यक्रम संञ्चालनमा ढिलाइ हुँदा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका मतदाता अलमलमा परेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिए पनि आवश्यक मतदाता शिक्षा कार्यक्रम लागू नहुँदा अधिकांश मतदाता अलमलमा परेका हुन् ।

निर्वाचन मिति नजिकिदैं गर्दा दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छैन । निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि संञ्चालन गरिने मतदाता शिक्षाको अभावमा मतदातामा अस्पष्टता र मलमल देखिएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए । ‘मताधिकारका विषयमा अहिले जनता धेरथोर जानकार छन् नै,’ सचिव जोशीले भने, ‘तर पनि मतदाता शिक्षा पर्याप्त मात्रामा पुग्न सकेको छैन । कतिपय मतदाता अन्यौलमा देखिन्छन् ।’ निर्वाचन आयोगले हालसम्म नमूना मतपत्र समेत नपठाउँदा मतदातालाई बुझाउन सकस परिरहेको उम्मेद्वारहरुको भनाई छ ।
निर्वाचन सम्वन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम संञ्चालन गर्ने गरेको छ । मतदाता शिक्षा कार्यक्रम अन्तरगत सबै जात, जाति, लिंग वर्ग वा समुदायका मतदातालाई स्थानीय तहको निर्वाचन सम्वन्धी जानकारी गराउँदै निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचन सम्वन्धी राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने, निर्वाचन प्रणाली र सरकार गठन सम्वन्धी व्यवस्था बारे स्पष्ट बनाउने, हरेक दलका घोषणा पत्र हेर्न आग्रह गर्ने, मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्ने लगायतका विषयमा जानकारी दिइन्छ ।

तर, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाइ भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका उम्मेद्वार तथा नेताहरुको भनाई छ । चुनावी तालमेल एकले अर्काको चुनाव चिन्हबाट लडिरहेका बेलामा मतदाता शिक्षा नपुग्दा मतदाता अलमलिने अवस्था देखिएको एमालेका जिल्ला उपसचिव कुमार आचार्यले बताए । ‘यो बेलासम्ममा मतदाता शिक्षा हरेक नागरिकले पाइसक्नु पर्ने हो, तर मतदाता शिक्षा शुन्या छ,’ उप–सचिव आचार्यले भने, ‘गाउँ–गाउँमा पुग्दा कसरी भोट हाल्ने, कस्ता मान्छेलाई भोट हाल्ने भन्ने अलमलमा परेको भेटिन्छ । निर्वाचनमा यस्तो हुनु राम्रो होईन ।’आसन्न निर्वाचनमा खोटाङका एक लाख २५ हजार १ सय ८३ मतदाताले भोट हाल्दैछन् ।


गाउँका दलित, महिला समुह, वडानागरिक मञ्च, नागरिक सचेतना केन्द्रका सदस्य, युवा समुह, वन समुह लगायतसँग अन्तरक्रिया गर्दै मतदातालाई निर्वाचनकालागि तयारी अवस्थामा रहन आग्रह गर्ने, निर्वाचनको दिन, समय र स्थानका विषयमा स्पष्ट बनाउने, मतदानका लागि आवश्यक कागजात, मतपत्र तथा सही तरिकाले मतदान गर्ने बिधिकाबारेमा जानकारी दिने, निर्वाचन सम्वन्धीका पर्चा, पोष्टरहरु बितरण गर्ने, लगायतका क्रियाकलापका लागि कार्तिक २५ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक खटाइने जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी निदेश खत्रीले बताए । ‘अघिल्लो दिन तालिम दिन्छौं र दोश्रो दिनदेखि नै मतदाता शिक्षाका लागि स्वयंसेवकलाई खटाउने छौँ,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘सकेसम्म धेरै बदर मत घटाउनेगरी कार्यक्रम सञ्चालन हुन्छ ।’ एक सय ३६ मतदानस्थल र १ सय ७९ मतदान केन्द्र कायम गरिएको जिल्लामा एलजिसिडीपीका सामाजिक परिचालक, बालबिकास केन्द्रका सहयोगी कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेबिका लगायतलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: २२ कार्तिक २०७४ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App