७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेका बागी उम्मेदवार पार्टीबाट निस्कासित

उदयपुर— बाम गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिने यहाँका एक एमाले नेता पार्टी कारबाहीमा परेका छन्। उदयपुरको प्रदेशसभा २ (१) मा स्वतन्त्रबाट उम्मेद्वार बनेका एमाले जिल्ला कमिटी सदस्य होमबहादुर दाहाल खत्रीलाई पार्टीको मंगलबार बसेको पूर्ण जिल्ला कमिटी बैठकले सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

एमाले अध्यक्ष ईश्वरमणि राउतले बाम गठबन्धनको आधिकारिक उम्मेद्वार हुँदाहुँदै पार्टीको नीति निर्देशनविरुद्ध बागी उम्मेद्वार बनेका दाहाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताए। कारबाही गर्नुअघि उनलाई स्पष्टीकरण दिने मौका दिइएकोमा दाहालले वास्ता नगरेपछि बाध्य भएर कारबाही गर्नुपरेको राउतले बताए। उम्मेद्वारी मनोनयन गरेलगत्तै उनी मोवाईलसमेत अफ गरेर पार्टी सम्पर्कभन्दा बाहिर रहेका छन्। उम्मेद्वारी फिर्ता लिन पटक पटक सम्पर्क गर्न खोज्दा नभएपछि उनीमाथि कारबाही गर्नुपरेको पार्टीले जनाएको छ।

गठबन्धनले सो प्रदेशसभामा माओवादीका सहइन्चार्ज नारायण बुर्जा मगरलाई उठाएको छ। बुर्जाले पनि बागीकै रुपमा मनोनयन दर्ता गरेका थिए। उम्मेद्वार सिफारिसमा पार्टीबाट पहिलो नम्बरमा नाम परे पनि निवर्तमान सांसद भेषकुमारी राउत कोपिलालाई पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका बुर्जाले बागी भएर मनोनयन दर्ता गरेका थिए। अन्तिम अवस्थासम्म उनले फिर्ता लिन नमानेको तथा सो क्षेत्रमा ६० प्रतिशत हिस्सा मगर समुदायको बाहुल्यता रहेको मनन गर्दै पार्टीले कोपिलालाई फिर्ता बोलाएर बुर्जालाई आधिकारिक उम्मेद्वार घोषणा गरेको हो।

स्वतन्त्रबाट मनोनयन गरेर आधिकारिक उम्मेद्वार घोषित भए पनि बुर्जाले हसिया हथौडा चिन्हबाट भने चुनाव लड्न पाउने छैनन्। उनलाई भ¥याङ चुनाव चिन्ह दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ‘आधिकारिक उम्मेद्वार भए पनि पार्टीको तर्फबाट पहिले उठेका उम्मेद्वार फिर्ता भएपछि दलीय चिन्ह पाइदैन’ सहायक निर्वाचन अधिकृत रितबहादुर पुलामीमगरले भने ‘त्यसैले उहाँ आधिकारिक भए पनि चुनाव चिन्ह भर्‍याङ दिनु परेको हो।'

उता दाहालले भँगेरा चुनाव चिन्ह पाएको निर्वाचन कार्यालयले जनाएको छ। यसअघि सम्पन्न स्थानीय तह चुनावमा पनि उनले रौतामाई गाउँपालिका अध्यक्षमा बागी उम्मेद्वारी दर्ता गरेका थिए। अध्यक्षका आकांक्षी दाहालले अन्तिम समयमा टिकट नपाएपछि बागी उम्मेद्वारी हाले पनि अन्तिममा फिर्ता लिएका थिए। त्यसबेला आधिकारिक उम्मेद्वारबाट २० लाख रुपैंया लिएर मनोनयन फिर्ता लिएको आरोप लागेको थियो।

दाहाल ०५४ को स्थानीय निकाय निर्वाचनमा साविक भुट्टार गाविसमा पनि स्वतन्त्र उम्मेद्वार भएरै अध्यक्ष जितेका थिए । एमालेबाट टिकट नपाएपछि आधिकारिक उम्मेद्वार ज्ञानेन्द्र शाहीविरुद्ध बागी हालेर चुनाव जितेका उनी शाही शासनताका तत्कालीन जिल्ला विकास समिति सदस्य मनोनित भएका थिए । तर, सशस्त्र संघर्षरत तत्कालीन माओबादी र उनी आबद्ध एमाले दुवैले कारबाही गर्ने चेतावनी दिएपछि उनले २ महिनामै राजीनामा दिएका थिए।

उदयपुर एमाले बैठकले बामपन्थी गठबन्धनबाट उठेका सबै उम्मेद्वारलाई जिताउन चुनावी अभियान थालेको जनाएको छ। बैठकले २ वटै संघीय प्रतिनिधिसभा तथा ४ वटै प्रदेशसभा चुनावमा गठबन्धनलाई जिताउन पार्टी नेता कार्यकर्ता, विद्यार्थी, युवा, महिला, मजदुर, ट्रेडयुनियन र पार्टीनिकट पत्रकार संगठनको छुट्टाछुट्टै प्रचार समिति गठन गरेको जनाएको छ । एमाले र माके दुवै पार्टीको एकता प्रचार समिति पनि बनाएर चुनावमा खटाईसकेको एमालेले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७४ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App