१५ चैत्र २०८० बिहीबार
राजनीति

युवा उम्मेदवारबीच रोचक भिडन्त

सिन्धुपाल्चोक- पूर्वसभासद्, लडाकु र युवा सम्मिश्रणसहितको त्रिकोणात्मक भिडन्तले सिन्धुपाल्चोक प्रतिनिधिसभा–२, प्रदेशसभा (क) र (ख) को चुनाव तरंगित भएको छ । कलिलै उमेरमा जिल्लामा सशक्त युवा नेताको पहिचान बनाएर राजनीतिमा फड्को मार्दै गरेका वाम–लोकतान्त्रिक गठबन्धनबीचको द्विपक्षीय प्रतिस्पर्धाले यहाँको चुनावले सर्वत्र चासो बढाएको छ ।

कांग्रेस–राप्रपा (प्रजातान्त्रिक) को लोकतान्त्रिक गठबन्धनले प्रदेश (क) मा विकास तामाङ र (ख) मा निमा लामालाई चुनावी मैदानमा उतारेको छ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट क्रमशः युवराज दुलाल र दावा तामाङ प्रतिस्पर्धामा होमिएका छन् । चारै प्रतिस्पर्धी युवा हुन् भने दावाबाहेक अरू नयाँ हुन् ।

गठबन्धन बनाइए पनि कांग्रेस–माओवादी केन्द्रबीचको भिडन्तले यो प्रदेशको चुनावलाई रोचक बनाएको छ । अझ रोचक त माओवादी केन्द्रका दावा र दुलालको उम्मेदवारीले थपेको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई हराएर दावा राष्ट्रियस्तरमै ‘सेलिब्रिटी’ बनेका थिए ।

पूर्वलडाकु रहेका वाइसिएलका केन्द्रीय नेता दुलालले शान्ति प्रक्रियापछि लामो समय पार्टी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षा कमान्डर रहेर काम गरे । कांग्रेसका उम्मेदवारद्वय विकास र निमाले उनीहरूलाई कडा टक्कर प्रस्तुत गरेपछि पञ्चायतकालीन राजनीतिक हस्ती पशुपतिशमशेर राणाको परम्परागत गढ समेटिएको यहाँको चुनाव रोमाञ्चक बनिरहेको छ ।

राप्रपाको परम्परागत गढमा लोकतान्त्रिक गठबन्धनले उनै राणालाई प्रतिनिधिसभा सदस्यमा अघि सारेको छ । उनलाई वाम गठबन्धनबाट साबिक विजेता एमाले केन्द्रीय सदस्य तथा युवा नेता शेरबहादुर तामाङले चुनौति पेस गरेपछि प्रतिनिधिसभा–२ को निर्वाचनले मुलुककै ध्यान तानेको छ ।  

तत्कालीन क्षेत्र नं. ३ को सबै भूगोल हालको क्षेत्र नं. २ मा पर्दा पुरानो क्षेत्र नं. २ को आधा भूभाग थपिएको छ । २०४७ को परिवर्तनपछि २०४८, २०५१ र २०५६ मा भएका तीनवटै निर्वाचन राप्रपा नेता राणाले यही क्षेत्र (तत्कालीन क्षेत्र नं. ३) बाट जितेका थिए । राष्ट्रिय पञ्चायत सदस्यको चारवटा निर्वाचन सिन्धुपाल्चोकबाटै जितेका राणालाई उनको साढे तीन दशक लामो अपराजित राजनीतिक पहिलोपटक हार चखाएका थिए, माओवादी केन्द्रका दावाले ।

उनको नाम प्रतिनिधिसभाका लागि सिफारिस भए पनि वाम गठबन्धन बनेपछि दावा प्रदेश (ख) मा झरेका थिए । सय भोटले बाजी मारेर सभासद् बन्दा राणा तेस्रो स्थानमा खुम्चिएका थिए । एमालेका शेरबहादुर निकटतम् प्रतिस्पर्धी बनेर दोस्रो स्थान रहे । त्यतिबेला दावाले १३ हजार २ सय र शेरबहादुरले १३ हजार १ सय मत पाउँदा राणाले १० हजार भोट ल्याएका थिए ।

२०६४ मा मुलुकभरबाट दर्जन जोडी संविधानसभामा पुग्दा दावा एक थिए । उनकी पत्नि कुमारी मोक्तान मकवानपुरबाट विजयी भएकी थिइन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दावा चुनाव बहिष्कारको नीति लिएको वैद्य माओवादीमा लागेपछि शेरबहादुरले साढे २ हजारको मतान्तरसहित राणाविरुद्ध सहज जित निकालेका थिए । माओवादी नराम्ररी पराजित हुँदै चौथो स्थानमा पुग्यो ।

हेलम्बु, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकाका १० वटा वडा समेटिएको प्रदेश (ख) तामाङ, शेर्पा, गुरुङ र ह्योल्मो बहुल क्षेत्र हो । माओवादी केन्द्रका दावा र कांग्रेसका निमा जनजाति ‘सेन्टिमेन्ट’ तानेर चुनाव जित्ने रणनीतिमा छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले हेलम्बु तथा एमालेले पाँचपोखरीसहित मेलम्ची नगरपालिका जितेका थिए । एक जितसँगै हारेका तहमा समेत कांग्रेसको राम्रै मत रहेको र त्यहाँ राप्रपाको समेत भोट थपिने भएकाले वाम गठबन्धनबाट असन्तुष्ट मतदाता, कार्यकर्ता तानेर सहज जित निकालने दाउमा निमा देखिएका छन् ।

कांग्रेसको पूर्वजिल्ला सदस्य रहेका निमाको तुलनामा दावा ‘हेभिवेट’ उम्मेदवार हुन् । पार्टीको केन्द्रीय सदस्यसमेत भइसकेका द्वन्द्वकालीन ‘जनसरकार प्रमुख’ दावा एमालेको मतमा पार्टीको भोट थपिएपछि जित्नेमा विश्वस्त देखिएका छन् । चुनाव लडेको अनुभव रहेकाले उनी उत्साहीसमेत छन् ।

प्रदेश (क) प्रतिस्पर्धी माओवादी केन्द्रका युवराज र कांग्रेसका विकासले पनि चुनाव जित्ने आआफ्नै रणनीति अघि सारेका छन् । एमालेको मतले सजिलो जित निकाल्ने दाउमा युवराज रहँदा विकास वाम गठबन्धनको असन्तुष्ट कार्यकर्ता तानेर बाजी मार्ने रणनीतिमा छन् ।

यो प्रदेशमा मेलम्ची नपाको तीनवटा वडा, इन्द्रावती गाउँपालिका र चौतारा–साँगाचोकगढी नगरपालिकाका नौवटा वडा समेटिएका छन् । स्थानीय चुनावमा कांग्रेसले इन्द्रावती जित्दा मेलम्ची एमाले र चौतारा माओवादी केन्द्रले जितेको थियो । चौतारा नगरमा चर्चित नेताको हैसियत बनाएका माओवादीका युवराज इन्द्रावती गाउँपालिका उताको क्षेत्रमा कम परिचित छन् ।

सोही विशेषता लागू हुन्छ कांग्रेसका विकासका लागि पनि । मेलम्चीदेखि इन्द्रावतीसम्म लोकप्रिय रहेका उनी ठूलो संख्यामा मतदाता रहेको चौतारा नगरमा परिचित छैनन् । त्यसैले दुवै नेता कम परिचित क्षेत्रका मतदाता आकर्षित गर्न तल्लीन छन् । तामाङ भएकाले दुईपटक महाधिवेशन प्रतिनिधि जितेर पार्टीको केन्द्रीय विकास विभागमा काम गरेका विकासलाई यो प्रदेशमा जनजाति मत तान्ने अवसर रहँदा उमेरले ३५ वर्ष मात्रै पुगेका युवराजलाई थपिएका ‘फ्रेस’ मतदाता आकर्षित गर्ने अवसर रहनेछ ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने (क) र (ख) दुवै प्रदेशमा वाम गठबन्धन बलियो अवस्थामा छ । प्रदेश (क) मा वाम गठबन्धनसँग २१ हजार २६ मत छ । लोकतान्त्रिक गठबन्धनसँग भने १२ हजार ३ सय ३१ मत देखिन्छ । साढे ८ हजारभन्दा बढी मतले यहाँ बाम गठबन्धन अगाडि छ ।

स्थानीय तहको मतकै आधारमा प्रदेशसभा (ख) मा भने दुवै गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ थोरै मतले मात्र वाम गठबन्धन अगाडि छ । वाम गठबन्धनसँग १९ हजार ७ सय ७२ र लोकतान्त्रिक गठबन्धनसँग १८ हजार १ सय २५ मत छ । वाम गठबन्धन १ हजार ६ सय २७ मतले मात्र अगाडि छ । तर यो प्रदेशमा दुवै संविधानसभा निर्वाचनको तुलनामा स्थानीय चुनावमा राप्रपा र माओवादी केन्द्रको उल्लेख्य मत हराएकाले त्यो भोटसँगै नयाँ मतदाताको मतले जितहार निर्धारण गर्ने देखिन्छ । दुवै प्रदेशमा औसत ७÷७ हजारले झन्डै १४ हजार नयाँ मतदाता थपिएका छन् ।

प्रकाशित: २१ कार्तिक २०७४ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App