coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

किन दोलखामा सधैँ बुथ कब्जा?

दोलखा— २०७० मंसिर २ गते। दोस्रो संविधान सभाको निर्वाचन हुनु भन्दा दुई दिन अघि करिब ४ बजे तिर ३० ओटा मोटरसाईकलमा अपरिचित युवा जिल्लाको दक्षिणी किर्ने बजारबाट शहरे तर्फ उकालो लागे।

हाल तामाकोशी गाउँपालिकाको वडा नं.५ मा पर्ने तत्कालिन शहरे गाविस प्रवेश गरे लगतै ती युवा गाउँमा चुनाव प्रचारमा जुटेका एमालेका कार्यकर्ताहरुको पंङक्तीमा मिसिन पुगे। प्रायले कपाल पालेका र बुट लगाएका थिए। केहीले झोला बोकेका थिए। संसदिय चुनावहरुमा प्राय एमालेको दबदबा रहने यो गाउँमा त्यही साँझबाट काँग्रेसका कार्यकर्तालाई चुनाव हुने दिन सम्मका लागि गाउँ छाड्न उर्दी लगाइयो।

काँग्रेसका तत्कालीन महासमिति सदस्य सिर्जना सुवेदी र उनका पति पार्टी जिल्ला सदस्य नरहरि सुवेदी सहित केही साँझबाटै गाउँ छाडेर किर्नेटार झरेर बसे। गाउँको गोगनटारमा रहेका कांग्रेस कार्यकर्ता धमाधम कुटिन थाले। यमबहादुर केसी, रामबहादुर केसी र स्थानिय महिला नैना केसी माथी कुटपिट भयो।

एमाले कार्यकर्ताको पहिलो निशानामा थिए काँग्रेसी कार्यकर्ता। भोलीपल्ट बिहान ७ बजे देखि मतदान शुरु भयो। ती युवालाई मतदान केन्द्रको बाहिर घेरा हाल्न लगाएर भित्रपट्टी बसेका एमालेका स्थानिय अगुवा कार्यकर्ताले शुरुमा माओवादीका केहि कार्यकर्तालाई मत हाल्न बोलाए। करिब २ सय भन्दा बढी माओवादी समर्थकको भोट खसिसकेको थियो, त्यहाँ केी अरु स्थानियले पनि भोट हाले। अब माओवादी कार्यकर्ता निशानामा परे। उनीहरुलाई लखेट्न शुरु भयो । त्यसपछि एमाले कार्यकर्ता र समर्थकले मतपत्र माग्दै एकलौटी मतदान शुरु गरे। एमाले कार्यकर्ताले ८ सय ९१ मत खसालेपछि नेपाली सेनाका क्याप्टेनको कमाण्डमा सेनाको टोली मतदान केन्द्र भित्रै पसेर नियन्त्रण गर्‍यो।

गाविस पिच्छेको मत गणना गर्ने उम्मेदवारहरुको अड्डीका कारण पछि सदरमुकाममा यो गाउँको मतगणना गर्दा एमालेले ८ सय ९१, माओवादीले २ सय ४९ र कांग्रेसले ५० मत पाएको थियो। अर्को दक्षिण पुर्वी गाउँ ठुलोपातल, हालको जिरी नगरपालिकामा पर्छ। यहाँ समेत उक्त चुनावमा त्यस्तै भयो । बिहान तत्कालिन एकिकृत नेकपा माओवादीका कार्यकर्ताले बिहानै मतदान शुरु भए लगतै एमालेका कार्यकर्तालाई मतदान केन्द्रबाटै लखेट्न थाले। दुवै पक्ष मतदान केन्द्र कब्जा गर्ने तयारी सहित पुगेका कारण घरेलु हतियार, लाठी सहित दुई पक्षबीच झडप शुरु भयो।

२०६४ को संविधान सभाकी सभासद शान्ति पाख्रिन माथी खुकुरी प्रहार भयो। अरु पनि कार्यकर्ता घाईते भए। लगतै मतदान केन्द्र पुगेको नेपाली सेनाको टोलीले फायर खोल्यो। सदरमुकाममा रहेको सेनाको हेलिकप्टर तत्कालै घटनास्थल पुगेर हवाई गस्ती थाल्यो। मत हाल्न आएका त्रसित मतदाता घर फर्किए। एमाले र कांग्रेसका कार्यकर्ता भागे। मतदान केन्द्रमा सुरक्षाकर्मी सगैं बसेका केही मतदाताले मात्र मत खसाले। दिनभरी सेनाको नियन्त्रणमा भएको मतदानमा यो गाविसको जम्मा मतदाता संख्या करिब २९ सय मध्ये ४ सय ७० मत मात्र खस्यो। एमालेले ६५,  माओवादीले २ सय ७१ र कांग्रेसले १ सय २२ मत पाए।

***

त्यही सालको चुनाव शुरु हुनु अघिल्लो दिन करिब ३ बजे तिर जिल्लाको दक्षिणी गैरीमुदी गाउँमा करिब ३० ओटा मोटरसाईकलमा हतियारधारी युवा प्रवेश गरे। उनीहरु मध्ये अधिकांश बाहिरिया थिए । कांग्रेसका स्थानिय कार्यकर्ता मतदानस्थल रहको स्थानिय बिष्णु माविमा बसेका थिए । केही बेरमा ति युवाले कांग्रेस कार्यकर्ता बसेको स्थान र उनिहरुका घर घेरेर लखेटे । कांग्रेसी कार्यकर्ता जंगल तर्फ भागे।

गाउँमा बाहिरिया युवाले चुनावको अघिल्लै साँझ देखि कब्जा जमाउन थालेपछि जंगल तिर भागेका कार्यकर्ता एकिकृत भएर गाउँ माथीको डाँडाबाट ति युवाको जमात माथी ढुंगा मुढा गर्न थाले । त्यही साँझ जिल्ला प्रहरी कार्यालयले ईन्सपेक्टर कैलाश कुमार राईको कमाण्डमा टोली खटायो । बाटोभरी रुख ढालिएका कारण राईलाई घटनास्थल पुग्न तगारो तेर्सियो । साँझ छपक्कै ढलक्दा उनी गाउँ त पुगे तर त्यहाँ पार्किङ गरी राखिएका ति युवाका मोटरसाईकलमा आगजनी भईसकेका थिए । केही स्थानिय झडपमा परी घाईते थिए । गाउँ रणभुमिमा परिणत भईसकेको थियो।

रातभरी झडप भएपछि बिहानीपख ति युवाको टोली पारी पट्टी रहेको पुतलीकाठ मतदान केन्द्र तर्फ अघि बढ्यो । उनिहरु एमाले कार्यकर्ता सगैं गाउँकै पुतलीकाठ बुथ तर्फ लागे। बिहान मतदान शुरु भएलगतै कांग्रेसका कार्यकर्ताले बिष्णु मावि मतदान केन्द्रमा एकलौटी मत हाले । पारी रहेको गाउँकै पुतलीकाठ स्थित जनज्योती मावि मतदान केन्द्रमा बसेर ति युवा र एमाले कार्यकर्ताले एक लौटी मत हाले । दुवै बुथमा एकले अर्कालाई छिर्न दिएनन । कांग्रेसका कार्यकर्ताले बिष्णु मावि मतदान केन्द्रबाट आफ्ना उम्मेदवार जिपछिरिङ लामालाई ८ सय ६७ र एमाले कार्यकर्ताले आफ्ना उम्मेदवार पार्वत गुरुङलाई १२ सय १७ मत एकलौटी हालेर पठाए । माओवादीका उम्मेदवार बिशाल खड्काले १ सय ५० मत पाए ।

***

मध्यपुर्वी पहाडको दोलखाका यि तिन ओटा घटना प्रतिनिधि घटना मात्र हुन् । दोलखाको क्षेत्र नं १ हालको प्रदेश सभा (क) का अधिकांश मतदान केन्द्र चुनावमा यस्तै अशान्त हुन्छन् । निर्वाचनमा गुण्डा परिचालन गर्ने र बुथ कब्जा हुने यो क्षेत्रमा हरेक निर्वाचनमा दलहरु त्यस्ता गतिविधि दोहो¥याउने गर्छन् । बुथ कब्जा नगरी जितिदैन भन्ने मानसिकता प्रतिष्पर्धी दलका नेताहरुमा छ।

निर्वाचनमा मतदाता प्रभावित पार्न, बलजफ्ती गर्न र बुथ कब्जा गर्न उम्मेदवारहरु ठुलो रकम खर्चिन्छन् । जसका कारण हरेक निर्वाचनमा दोलखामा हिसांत्मक घटना हुन्छन्। जसका कारण गत स्थानिय चुनावमा जुंगु र पवटीमा दुई जना सर्वसाधारणले ज्यान गुमाए । चुनाव सकिए लगतै ज्यान मार्ने अभियोग, कुटपिट, लगातयका मुद्धा सबै जसो दलका कार्यकर्ताले हरेक पटक ब्यहोर्दै आएका छन्।

माथिका घटना मध्ये शहरेमा एमालेका तत्कालिन जिल्ला सचिव एवं अधिवक्ता प्रोण प्रताप केसीले महिला माथी हातपात गरेको र कांग्रेस कार्यकर्ता कुटेको मुद्धा लामो समय सम्म बोके । केही तारेख बोकेपछि अदालतबाटै कुटपिट मुद्धामा मेलमिलाप भयो।

ठूलो पातल घटनामा एमाले निकट कार्यकर्ताले माओवादी कार्यकर्ता बिरुद्ध ज्यान मुद्धा दायर गरे । गैरीमुदी घटनामा एमाले र कांग्रेसका कार्यकर्ताले एक अर्का विरुद्ध ज्यान मुद्दा नै चलाए। कांग्रेसका एक दर्जन कार्यकर्ताले तिन बर्ष सम्म ज्यान मुद्धाको तारेख बोके भने एमालेका कार्यकर्ता विरुद्धको मुद्धा तत्कालिन जिल्ला प्रहरीमा दर्ता भएपनि प्रहरीले अदालत नपठाई थामथुम पारेर टुङ्ग्यायो। स्थानिय चुनावमा जुंगु गाउँमा एमाले कार्यकर्ताको हत्या भएपछि माओवादीका स्थायी कमिटि सदस्य गंगा कार्की, पोलिटब्युरो सदस्य देवी खड्का, हाल माओवादी केन्द्रबाट प्रदेश सभामा उम्मेदवार बनेका क्षेत्र नं क का बिशाल खड्का सहित ३९ जना नेता कार्यकर्ता विरुद्ध ज्यान मुद्धा चल्यो । उक्त मुद्धा जिल्ला अदालतमा अझै बिचाराधिन छ।

मुद्दा मामला र चुनावी तुषकै कारण हरेक निर्वाचन पछि जिल्लाका केही गाउँहरुमा लामो समय सम्म दलका कार्यकर्ता बिच द्धन्द हुने गर्छ।

बुथमा नियन्त्रण दबदबा पछि हुन्छ कब्जा
दलका नेता तथा कार्यकर्ताहरुका अनुसार बुथ कब्जाको योजना प्रतिष्पर्धी दलका नेता कार्यकर्ताले चुनावको केही दिन अघि देखि नै बनाउन थाल्छन्। मतदाता आउने बाटो र गौडाहरुमा आफ्ना विपक्षी मतदाता रोक्ने, फर्काउने, आक्रमण गर्ने देखि मतदान केन्द्रभित्र पहिला विपक्षी दलका कार्यकर्ता लखेट्ने र मतदान अधिकृतलाई धम्क्याएर मतपत्रमा सही गर्न लगाउने, रुजु गर्ने, नामावलीमा ठिक लगाउने सहित मतपेटिकामा मत खसाल्ने सम्मका सबै प्रक्रिया पु¥याउने सम्मका ‘सेटिङ’ अगाडी नै बनेर बुथ कब्जा गर्ने योजना बन्ने गरेको एक दलका जिल्ला नेताले सुनाए।

ती नेताका अनुसार मतदान केन्द्रबाट विपक्षी भगाईसकेपछि राम्रो मुखले कब्जाका लागि सघाउन आग्रह गर्दा मतदान अधिकृत नमानेमा धम्काईन्छ । उनले समेत बाहिरबाट आक्रमण हुने स्थिती नदेखेपछि हार खाएर कब्जामा सघाउ पु¥याउछन् । प्रहरी जनशक्ती न्युन हुन्छन । त्यहाँ खटिने प्रहरी जनशक्ती र कर्मचारीलाई झडप वा झगडाको तनाव व्यहोर्नु भन्दा जति सक्दो छिटो मतदान सक्न पाए हुन्थ्यो भन्ने चटारो हुने गर्छ ।

अझ बढी अशान्तको त्रास
यस अघि तिन ओटा दल चुनाव लड्दै आएकोमा यस पटक वाम तालमेल पछि एमाले र माओवादी मिलेको साथै वाम गठबन्धनका कारण आफ्ना लागि अस्तित्वको लडाई र अग्नीपरिक्षा ठानेर कांग्रेस चुनावमा होमिएका कारण प्राय अशान्त हुने दोलखामा निर्वाचन शान्तीपूर्ण हुने कि नहुने भन्ने त्रास स्थानियमा छ।

जिल्ला कांग्रेसले कम्युनिष्ट गठबन्धनले कुनै पनि मतदाता केन्द्रमा ‘धावा’ बोले जिल्लाभर प्रतिकार गर्ने चेनावनी दिएको छ । एमाले र माओवादीका नेताले कांग्रेसले एउटा मात्र बुथ चलाए सिङगै जिल्ला कब्जा गर्ने चेतावनी दिएका छन् । केही दिन अघि एमाले नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले कांग्रेसले एउटा मात्र बुथ चलाए सिङगै जिल्लाका सबै मतदान केन्द्र कब्जामा लिएर कांग्रेसलाई ‘क्लिन स्विप आउट’ गर्ने चेतावनी दिएका थिए। जिल्लामा यस अघि तिन ओटै दलको दबदबा हुने मतदान केन्द्रहरु शान्त बनाउन स्थानिय प्रशासन लागिपरेको छ ।

एमाले र माओवादी केन्द्रको दबदबा हुने मतदान केन्द्रहरु
जिल्लाको गौरीशंकर गाउँपालिकामा यस पटक एमाले र माओवादी केन्द्रले बलजफ्ती गर्न सक्ने भन्दै कांग्रेसले त्यहाँको सुरक्षा ब्यबस्था बढाउन प्रशासनलाई दबाब दिएको छ।
गाउँपालिकाको जुँगुका दुवै मतदान केन्द्र, झ्याकु ३ को मतदान केन्द्र, सुरी, चंखु, मार्बु र खारे र गौरीशंकरमा वाम गठबन्धनबाट बलजफ्ती हुन सक्ने आशंका कांग्रेसको छ।

नगरपालिकाको १ र २ नं वडामा पर्ने जुंगुका दुवै मतदान केन्द्र अघिल्लो संविधान सभा निर्वाचनमा माओवादीले कब्जा गरेर मत हालेको थियो । अरु दलका कार्यकर्ता, समर्थक र मतदाताले मत हाल्न पाएका थिएनन् । त्यहाँ स्थानिय चुनावमा एमाले कार्यकर्ताको हत्या समेत भएको थियो । यस्तै मार्बुमा एमाले कार्यकर्ताले चुनावमा उपस्थित नभएका मतदाता र अन्तिममा बाँकी रहेको सबै मत एकलौटी खसालेका थिए । सुरी, चंखु र खारेमा बलजफ्ती हुन सक्ने आशंकमा जिल्ला स्थित कम्युनिष्ट ईत्तरका शक्तीहरुको छ ।   

यस्तै वैत्येश्वर गाउँपालिका स्थित वडा नं ४ र ५ काब्रेमा एमालेको दबदबा रहन्छ । त्यहाँ समेत हरेक निर्वाचनमा बुथ कब्जा हुने गरेको कांग्रेस र यस अघि छुट्टै निर्वाचन लड्दै आएको माओवादी केन्द्रले आरोप लगाउने गरेको थियो।

वैत्येश्वरकै ७ नं वडा स्थित मार्बुमा समेत अघिल्लो स्थानिय तह चुनावमा एमालेले कब्जा गरेको कांग्रेस र माओवादी केन्द्रको आरोप थियो । सोही गाउँपालिकाको ८ नं वडा स्थित क्षेत्रपामा अघिल्लो स्थानिय चुनाव शुरुमा एमालेले कब्जा गर्न खोजेपछि कांग्रेस संगको सहयोगमा माओवादी केन्द्रले प्रतिकार गरेर एकलौटी मत हाली आफ्नो पार्टीका वडाध्यक्ष जिताएको थियो । एमालेले प्राय कब्जा जमाउने तामाकोशी गाउँपालिकाको शहरेमा हरेक चुनाव अशान्त हुने गर्छ । त्यहाँ कां्रग्रेस कार्यकर्ताले यस पटकको चुनावमा समेत भोट हाल्न नसक्ने आशंका कांग्रेसको छ । हावा, च्यामा र मालुमा समेत कम्युनिष्ट गठबन्धनबाट वलजफ्ती हुने डर कांग्रेसलाई छ । जिरीका केही मतदान केन्द्रहरु पनि संवेदनशिल रहन्छन् ।

काँग्रेसको दबदबा रहने मतदान केन्द्रहरु
वैत्येश्वर गाउँपालिकाको गैरीमदुीका दुवै वडाका लागि कांग्रेस र कम्युनिष्ट गठबन्धन दुवैले कब्जा प्रयास गर्न सक्ने त्रास स्थानियमा छ । वैत्येश्वरकै नाम्द र तामाकोशी गाउँपालिकाको झुलेमा कांग्रेसको नियन्त्रण रहन सक्ने डर कम्युनिष्ट गठबन्धलाई छ। उता वैत्येश्वरको मिर्गेमा कांग्रेस र माओवादी केन्द्र शक्ती संघर्षका हिसाबले बराबरी रहेका कारण अशान्त हुने चिन्ता प्रशासनलाई छ । डाडाँखर्क र नाम्दुको मतदान केन्द्रमा कांग्रेसले वलजफ्ती गर्न सक्ने डर कम्युनिष्ट गठबन्धनको छ।

जिल्ला बाहिरका युवा पनि चुनौती
चुनावका बेला पैसा दिएर बाहिरबाट झिकाउने युवा प्रशासनका लागि चुनौती हुने गर्छ । गाउँमा विपक्षीलाई तर्साउन र बुथ कब्जा गर्न सजिलो बनाउनका निम्ती बाहिरबाट झिकाईने युवाहरुलाई नियन्त्रण गर्न प्रहरीले बिशेष सतर्कता अपनाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला भित्रिने प्रमुख नाकामा चेकजाँच कडाई हुने डरले उनिहरु नचलेका नाकाबाट भित्रिने र चुनाव सम्म जलबिद्युत आयोजनाका क्याम्पमा बस्ने, गाउँमा उम्मेदवारहरुका चुनावी सेल्टरहरुमा जोगिएर बस्ने गर्छन् ।

प्रदेश ख पनि उतिकै संवेदनशील
जिल्लाको तत्कालिन क्षेत्र नं २ हालको प्रदेश सभाको ख क्षेत्र पनि उतिकै संवेदनशिल छ । विगु, कालिञ्चोक, शैलुङ गाउँपालिकाका मतदान केन्द्रहरु र भीमेश्वर नगरपालिकाको क्षमावती, र लाँकुरीडाँडा मतदान केन्द्र संवेदनशिल छ ।

‘शान्त चुनाव गराउछौं’
प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले शान्ती सुरक्षाका दृष्टिकोणले कुनै पनि मतदान केन्द्रमा वलजफ्ती र बाधा हुन नदिने बताएका छन् ।
उनले सिङगै जिल्ला संवेदनशिलको सुचीमा परेका कारण सरकारले दोलखामा बिशेष जनशक्ती परिचालन गरेर चुनाव शान्तीपूर्ण गराउने बताए । उनका अनुसार यस पटक डिआईजी स्तरका प्रहरी अधिकारी दोलखा बसेर चुनावी कमाण्ड सम्हाल्नेछन् । यस्तै प्रत्येक मतदान केन्द्रमा ईन्सपेक्टरको कमाण्डमा सुरक्षा टोली खटाउने प्रयास भईरहेको छ। उनका अनुसार प्रत्येक गाउँपालिकामा एउटा सशस्त्र प्रहरीको बेस क्याम्प खडा गरिनेछ।

प्रकाशित: २० कार्तिक २०७४ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App