१६ चैत्र २०८० शुक्रबार
राजनीति

२६ वर्षपछि मर्स्याङदी पारी पुनःभोट माग्दै गुरुङ

लमजुङ- आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिसभा सदस्यमा चुनावी मैदानमा उत्रिएका देवप्रसाद गुरुङ २६ वर्ष पछि पुनः भोट माग्दै पूर्वीभेगका गाउँवस्तीमा पुगेका छन्।

२०४८ सालमा निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा उत्रिएका गुरुङ आफुलाई भोट माग्दै सो भेगका मतदाता समक्ष पुगेका थिए। तत्कालिन माले र नेकपा मसाल सम्मिलित वाम गठबन्धनका साझा उम्मेदवार बनेका गुरुङ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र अधिकारी सँग भिडेका थिए । उनी भोट माग्दै मर्स्याङदी पारीका चिती क्षेत्र, दोर्दी गाउँपालिका, राईनासटार नगरपालिका र दुधपोखरी गाउँपालिकाका विभिन्न वस्तीहरुमा पुगेका गुरुङलाई देखेपछि अघिल्लो पुस्ताका मतदाता दङ्ग परेका छन् । पूर्वीभेगको बेसीक्षेत्र तार्कुघाट देखि जिल्लाकै माथिल्लो भेगको वस्ती दुधपोखरीको पात्ले, सप्रुङ, माडी, चित्रेगाउँसम्मका सयौं वस्तीमा पुगेर आफुलाई भोट मागेका गुरुङ यस पटक पनि कार्यकर्ता र दलवल सहित सो क्षेत्रको फन्को लगाउँदै छन् । आफुलाई माया गर्ने पुराना कार्यकर्ता र शुभेच्छुकहरुले धेरै पछि आफ्नै घरगाउँमा भेट्न पाएको भन्दै खुशी भएको गुरुङ बताउँछन् । वुढावुढीहरुले खुशी भएर टिका र फुलमालाले स्वागत गर्दै हात समातेर आसिर्दवाद दिएको पनि उनले बताए।

उनको गृहजिल्ला मनाङ भएपनि मामाघर लमजुङमा भएकाले आफु यहीं हुर्की बढेको, पढेको र यहाँको भूगोलसँग मावली साईनो रहेको बताउँदै मतदाताको मन पगाल्ने प्रयासमा छन् । संविधानसभा सदस्य, सांसद बनाएर एकपटक स्थानीय विकास मन्त्री र अर्कोपटक कानुन मन्त्रीको जिम्मेवारी सम्हाल्ने भूमिकामा पुग्दासम्म लमजुङको भूमिका आफ्नो गृहजिल्ला जत्तिकै रहेको पनि गुरुङले मतदातालाई बताउँदै आएका छन्। २६ वर्ष अघिको निर्वाचनमा पनि पूर्वीभेगका मतदाताले माया गरेकै कारण ११ हजार मत ल्याएको बताउँदै आउँदो निर्वाचनमा विजयी गराउने जिम्मेवारी स्वयं मतदातालाई दिएको भन्दै स्थानीयलाई जिम्मेवारी वोध समेत गराएको प्रचारप्रसार अभियानमा सहभागी नेकपा माओवादी केन्द्रका नेता पारसमणि पौडेलले बताए।

वाम गठवन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार गुरुङले जिल्लाका बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, राईनासटार नगरपालिका र मस्र्याङ्दी, क्हेंलासोथर, दोर्दी र दुधपोखरी गाउँपालिकामा पहिलो चरणको कार्यकर्ता भेट गरिसकेको वाम गठवन्धन संयुक्त निर्वाचन परिचालन कमिटीले जनाएको छ। वाम गठवन्धनका प्रदेशसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार धनञ्जय दवाडी र क्षेत्र नं २ का उम्मेदवार पृथ्वीसुब्बा गुरुङसँग समय व्यवस्थापन गरी आलोपालो चुनावी कार्यक्रम र घरदैलो कार्यक्रममा सहभागी भईरहेको जनाईएको छ । सो अवसरमा दुवै पार्टीको संयुक्त बैठक, अगुवा कार्यकर्तालाई प्रशिक्षण, कार्यकर्तालाई सम्बोधन गर्नुको साथै चुनावी रणनीति तथा प्रचार–प्रसार, वडास्तरीय भेला, बैठक, मतदाताहरुलाई सम्बोधन जस्ता कार्यक्रम भईरहेको नेकपा एमालेका सचिव कृष्णप्रसाद अधिकारी बताउँछन्।

 

प्रकाशित: २० कार्तिक २०७४ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App