१६ चैत्र २०८० शुक्रबार
राजनीति

चित्रबहादुरको मैदानमा कांग्रेस एमालेका खेलाडी

बागलुङ- लामो समयदेखि बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दोस्रो संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष चुनाव लडेनन्।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा जनमोर्चाको पकड क्षेत्र मानिएको बागलुङ क्षेत्र नम्बर २ मा उनी झिनो मत अन्तरले नेपाली कांग्रेसका मणिभद्र कँडेललाई पराजीत गर्न सफल भएका थिए । राष्ट्रिय जनमोर्चाको सरकारमा नजाने नीति र विरोध मात्रै गरिरहने कारण अब उनलाई निर्वाचन जित्न गाह्रो हुँदैछ भन्ने अड्कलबाजीका बीच उनी समानुपातिक सूचीमा बसे । चित्रबहादुर केसीको उत्तराधिकारीको रुपमा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राजेन्द्र ढुङ्गाना नेपाली कांग्रेसका प्रकाश पौडेलसंग दुई हजार बढि मत अन्तरले पराजित भए। अहिले भौगोलिक संरचना र राजनीतिक समिकरण दबै फेरिएको छ ।

राज्यको पुनःसंरचना संगसंगै बागलुङ १० स्थानीय तह, दुई संघीय निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको छ। अहिलेको समयमा नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको निर्विकल्प अध्यक्षको रुपमा देखिएका केसीले पटक—पटक निर्वाचन जित्दै आएको क्षेत्र अहिले संघीय सभाको एक नम्बर क्षेत्रमा पर्छ । उनको आफ्नै घर भएको भू—भाग भने क्षेत्र नम्बर २ मा पर्छ। यस पटक पनि केसी समानुपातिक सूचीमा बसेका छन्। पछिल्लो समय बदलिएको राजनीतिक समीकरणमा राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनको साथ दिएको छ। यद्यपी यस गठबन्धनप्रति जनमोर्चाको सबै पङ्क्ती खुशी नभएको राष्ट्रिय जनमोर्चा निकट स्रोत बताउँछ। निर्णायक जनमत भएको बागलुङ दुई वटा प्रदेश सभा सदस्य मात्र लिएर अरु सबै एमाले–माओवादीलाई जिम्मा लगाएको भन्दै भित्रभित्रै चर्को असन्तुष्टी रहेको बताईन्छ।

 नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले प्युठानबाट आफ्नी पत्नीलाई निर्वाचन जिताउन बागलुङलाई कुर्बानी गरेको पनि कतिपय कार्यकर्ता बताउने गर्छन् । नेतृत्वको सहमतीप्रति असन्तुष्टी भए पनि गठबन्धन प्रति भने राष्ट्रिय जनमोर्चा पूरै इमान्दार रहेको स्रोतले बतायो। ‘राष्ट्रिय जनमोर्चालाई राष्ट्रिय दल बनाउने ठाउँ भनेको बागलुङ नै हो,’ स्रोतले भन्यो,‘केन्द्रको निर्णय चित्त नबुझे पनि हामी गठबन्धनप्रति इमान्दार छौं । वाम गठबन्धलाई जिताउने हाम्रो उद्देश्य हुनेछ ।’ राष्ट्रिय जनमोर्चाले दुईटा प्रदेश सदस्यमा चित्त बुझाएपछि चित्रबहादुर केसीको मैदानमा अहिले कांग्रेस एमालेका खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने उक्त ठाउँमा नेपाली काँग्रेसले वर्तमान सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनले नेकपा एमालेका सूर्य पाठकलाई मैदानमा उतारेको छ।

खड्का संविधानसभा निर्वाचन २०७० मा क्षेत्र नम्बर १ बाट निर्वाचित आफ्ना पति हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा विजयी भएकी थिईन् । पाठक भने क्षेत्र नम्बर २ बाट काँग्रेसका प्रकाश शर्मा पौडेलसंग पराजीत भएका थिए। क्षेत्र नम्बर २ मा उक्त निर्वाचनमा राष्ट्रिय जनमोर्चा दोस्रो, माओवादी तेस्रो एमाले चौथो स्थानमा थियो। संघीय निर्वाचनमा उम्मेदवार भएका दुवैले अहिले विकासे नारा अगाडी सारेका छन् । कांग्रेस उम्मेदवार खड्काले विकास निर्माणसंगै गरिबी निवारण र महिलाहरुको सशक्तीकरणमा लाग्ने जनाएकी छिन् । उनी जिल्लाकी एक्ली महिला उम्मेदवार पनि हुन्। ‘अहिले म मात्रै यहाँको महिला उम्मेदवार हुँ, मैले निर्वाचन जित्नु भनेको यहाँका सारा महिला महिलाको प्रतिनिधित्व हुनु हो,’ उनले भनिन्,‘अब हाम्रो ध्यान पूरै विकास निर्माण केन्द्रीत हुनेछ । यदि मैले निर्वाचन जिते भनें यहाँको विकासंगै गरिबी निवारण र महिलाहरुको सशक्तीकरणमा ध्यान दिनेछु ।’ उनले यहाँको भौतिक पूर्वाधारको निर्माण तथा पर्यटन विकासमा समेत जोड दिएकी छिन्।

 ‘यहाँको धेरै ठाउँमा सडक त पुगेको छ तर गुणस्तरीय सडक सञ्जाल पुर्‍याउन सकिएको छैन,’ उनले भनिन्,‘सडक सञ्जालको विस्तार र यहाँका विभीन्न ठाउँमा रहेको पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र विकासका लागि पहल गर्नेछु ।’ उनले स्वास्थ्य, शिक्षा, खानेपानी लगायत भौतिक पूर्वाधार निर्माणलाई अगाडी बढाउने प्रतिवद्धता जनाईन् । वाम गठबन्धनका उम्मेदवार सूर्य पाठकले नीतिगत रुपमा भएका समस्याहरुको सुधार गर्दै जिल्लाको विकासका लागि पहल गर्ने बताएका छन् । ‘हाम्रो क्षेत्रमा धेरै प्राकृतिक सम्पदाहरु छन्, त्यसको सही परिचालन र स्रोतको पहिचान गर विकासलाई तीव्रता दिने मेरो पहिलो प्रयास हुनेछ,’ उनले भने,‘कृषि, पर्यटन तथा उद्योगको माध्यमबाट यहाँका युवाहरुलाई यही स्वरोजगार बनाउनेतर्फ लाग्नेछु ।’

 उनले यहाँका कच्ची सडकहरुको कालोपत्रे गरी त्रिदेशीय व्यापारसंग जोड्ने बताए । ‘यहाँका सडकहरुको कालोपत्र गर्ने र कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई भारत र चीनसंगको व्यापार विस्तारका लागि विकास गर्नेछु,’ पाठकले भने,‘ढोरपाटनको विकास गरी त्यहाँ घुम्न आउने पर्यटकहरुलाई एक रात बागलुङ बजारमा बसेर जाने गरी व्यवस्था मिलाउनेछु ।’ विगतको क्षेत्र नम्बर २ मा पर्ने भू—भागको अहिलेको क्षेत्र नम्बर १ प्रदेश सभा (२) को निर्वाचनमा भने फेरि राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेस नै आमन सामने हुँदैछन् । नेपाली कांग्रेसले पूर्व सांसद प्रकाश शर्मा पौडेल र राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई प्रदेश सभा उम्मेदवार बनाएको छ ।

 

प्रकाशित: २० कार्तिक २०७४ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App