८ वैशाख २०८१ शनिबार
राजनीति

निर्देशन कुर्दै समिति

काठमाडौं– नेपाली कांग्रेसले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खर्चका लागि आर्थिक जोहो अझै सुरु गरेको छैन । मनोनयन दर्ता गराउने क्रममा आफ्ना उम्मेदवारलाई ‘टोकन मनी’ दिए पनि कांग्रेसले खर्च व्यवस्थापनका लागि हालसम्म प्रक्रिया अघि बढाएको छैन।

विगतका निर्वाचनमा उम्मेदवारी मनोनयनअघि नै निर्वाचन खर्चका लागि छुट्टै समिति गठन गर्दै स्वदेश र विदेशमा रहेकासँग कांग्रेसले चन्दा माग्ने गथ्र्यो । यसपटक उम्मेदवारी मनोनयन भइसक्दा समेत कांग्रेसले अर्थ संकलनका लागि औपचारिक रुपमा कुनै पनि पक्षलाई अपिल गरेको छैन। 

मनोनयन दर्ता गराउने क्रममा आफ्ना उम्मेदवारलाई ‘टोकन मनी’ दिए पनि कांग्रेसले खर्च व्यवस्थापनका लागि हालसम्म प्रक्रिया अघि बढाएको छैन।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की संयोजकत्वको आर्थिक समितिले निर्वाचन खर्च जोहो गर्ने कांग्रेसको आन्तरिक तयारी छ । कार्कीको संयोजकत्वमा खुमा अर्याल, उमेश श्रेष्ठ र अनिल रुँगटा सदस्य रहेको आर्थिक समितिले विभिन्न पक्षसँग आर्थिक सहयोगका लागि पहल जारी राखेको स्रोतको दाबी छ । समितिले उद्योगी, व्यवसायीका साथै निकटकासँग आर्थिक सहयोगका लागि आग्रह गरेको र उनीहरुले सहयोग गर्दै आएको स्रोतको दाबी छ। 

समिति सदस्य अर्यालले भने निर्वाचन परिचालनका लागि कसरी आर्थिक संकलन गर्ने भन्नेमा पार्टी निर्देशनको पर्खाइमा रहेको सुनाए । पार्टी नेता उम्मेदवारी मनोनयनका लागि जिल्लाजिल्ला पुगेकाले त्यस विषयमा छलफल हुन नसकेको बताउँदै उनले भने, ‘दुईतीन दिनमा बैठक बस्ला र पार्टीको निर्देशन आउँछ होला । हामी त्यसलाई क्यारी गर्नेछौं ।’ 
वाम गठबन्धनका कारण कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै उभिएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन सबै पक्षलाई सहयोगका लागि अपिल गर्ने अर्यालले बताए । ‘समितिका तर्फबाट हामीले केही काम गरेका छौं,’ उनले भने, ‘पार्टी नेताबाट कस्तो निर्देशन आउँछ, सोहीअनुसार चुनावका लागि आन्तरिक व्यवस्था मिलाउँछौं ।’ कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई क्रमशः दुई लाख र एक लाख रुपैयाँका दरले केहीलाई रकम उपलब्ध गराइसकेको छ भने केहीलाई उपलब्ध गराउने तयारीमा छ।

कांग्रेसले २०४८ र ०५१को निर्वाचनमा प्रत्यक उम्मेदवारलाई २५÷२५हजार, २०५६मा ५० हजार उपलब्ध गराएको थियो । पहिलो संविधानसभामा एक लाख र दोस्रो संविधानसभामा दुई लाख रकम उपलब्ध गराएको थियो। 

कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाणले पार्टीले टोकन मनीका रुपमा केही रकम उपलब्ध गराए पनि चुनाव खर्चका लागि आवश्यक अन्य रकमको प्रबन्ध उम्मेदवार आफैंले गर्ने बताए । ‘उम्मेदवार आफैंले खर्चको व्यवस्था गर्ने हो,’ उनले भने, ‘उम्मेदवारलाई आफ्ना शुभेच्छुक, शुभचिन्तकले पनि आर्थिक सहयोग गर्ने गरेका छन् । कतिले निजी सम्पत्ति बिक्री गरेर निर्वाचनमा खर्च गर्दै आउनुभएको छ।’ 

निर्वाचन प्रचारका लागि पार्टीले केही सामग्री उपलब्ध गराउने खाणले जानकारी दिए । ‘पार्टी झन्डा, घोषणापत्र, निर्वाचन चिह्न र पार्टी सभापतिको अपिल केन्द्रीय कार्यालयले उपलब्ध गराउँछ,’ खाणले भने, ‘अरु उम्मेदवार आफैंले व्यवस्था गर्ने हो ।’

कांग्रेसले प्रत्यक प्रदेशसभामा एक हजार झन्डा, दुई हजार चुनाव चिह्न, संक्षिप्त र पूर्ण गरी तीन हजार घोषणापत्र केन्द्रीय कार्यालयले उपलब्ध गराउने नीति बनाएको छ । पार्टी सभापतिको अपिल पनि केन्द्रले उपलब्ध गराउने भएको छ ।
‘परम्परागत प्रचार सामग्रीका साथै रेडियो, टिभीमार्फत पनि पार्टीको पक्षमा सन्देश र विचार प्रवाह गर्नेछौं,’ खाणले भने, ‘सातैवटा प्रदेशमा पार्टीले चुनावी सभा पनि गर्नेछ।’

पार्टी सभापतिसहित शीर्ष नेतालाई नै प्रदेश केन्द्रित सात सभामा उपस्थित गराउने गरी कार्यतालिका तय गर्ने जानकारी दिँदै खाणले आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा भने, ‘प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा वरिष्ठ पार्टी नेता र प्रदेशसभाका सबै क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउँछौं।’

 

प्रकाशित: २० कार्तिक २०७४ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App