८ वैशाख २०८१ शनिबार
राजनीति

सहमति प्रयास विफल हुँदा तनावमा यादव

सिरहा क्षेत्र नम्बर १ का मुख्य तीन प्रतिस्पर्धी उम्मेदवार प्रदीप गिरी (लोकतान्त्रिक गठबन्धन), गंगाप्रसाद यादव (वाम गठबन्धन) र राजलाल यादव (फोरम–राजपा गठबन्धन) ।तस्बिर : मिथिलेश

लहान – सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार बिहान ११ बजे लहानस्थित आफ्नौ पार्टीका नेता राजलाल यादवको निवास आउँदा हतास देखिन्थे । राजलाल सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। 

उपेन्द्र आउनुअघि राजलालले आयोजना गरेको पत्रकार भेटघाटका लागि संवाददाताको बाक्लै उपस्थिति थियो । पत्रकार भेटघाट कार्यक्रम सकिएलगत्तै राजलालको मोबाइलमा उपेन्द्रको फोन बज्यो । उनले मुख बिगार्दै उपेन्द्रको फोन उठाए र भने– बाहिर फैलाएको भ्रमात्मक सन्देश चिर्न पत्रकारसँग कुराकानी गर्दैछु। 

यति भन्दै फोन काटेपछि उपस्थित संवाददाताले जिज्ञासा राखिहाले– को थियो ? जबाफमा राजलालले भने– फोरम अध्यक्ष उपेन्द्र यादव आउँदै हुनुहुन्छ । केही बेरपछि यादव राजलाल निवास आइपुगे । यादवमा छटपटी थियो । संवाददातालाई देखेपछि उपेन्द्रको छटपटी झनै बढेको देखिन्थ्यो । उनले राजलालसँग गोप्य वार्तालाप गर्ने संकेत गरे । राजलाल उनलाई लिएर भित्रको कोठामा गए । करिब आधा घन्टाको वार्तालापपछि राजलाल प्रतीक्षारत संवाददातासमक्ष उपेन्द्रको सन्देश लिएर आइपुगे– कृपया, पत्रकारलाई फिर्ता जान भनिदिनुस्।

उपेन्द्रले राजलाल निवासमा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य (क) का उम्मेदवार बैद्यनाथ साह र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार राजकुमार गुप्तालाई समेत बोलाएका थिए । तर, उनको विशेष रुचि राजलालसँग थियो । राजलालले उम्मेदवारी फिर्ता लिऊन् भन्ने चाहना लिएर आएका थिए यादव । लामो वार्तालापपछि पनि राजलालले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडान राखेपछि उपेन्द्र फर्केका थिए । उपेन्द्रले राजलालको उम्मेदवारी फिर्ता गराए कांग्रेसले सिरहा क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार क्रमशः मोक्तार अहमद र अमर रेग्मीको उम्मेदवारी फिर्ता गराउने सहमति थियो । ‘यी दुई उम्मेदवार सिरहास्थित निर्वाचन अधिकृतको कार्यालयमा समेत पुगिसकेका थिए’, कांग्रेस स्रोतले भन्यो, ‘राजलालले उम्मेदवारी फिर्ता नलिएपछि यी दुई उम्मेदवार पनि फिर्ता नलिई फर्केका थिए।’

सिरहा क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रदीप गिरी प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनको प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार राजलाल यादव ब्याक भए गिरीको पल्ला भारी हुने कांग्रेस समर्थक बुद्धिजीवीको विश्लेषण छ । राजलाल ब्याक भए गिरीको प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार गंगाप्रसाद यादवसँग हुन्छ।

तर राजलालले कुनै पनि सर्तमा आफू ब्याक नहुने अडान राख्दै नागरिकसँग भने, ‘बाहिर भ्रमात्मक प्रचार गरिएको छ, म आफ्नो उम्मेदवारीमा अडिग छु ।’ 

यसकारण उपेन्द्रलाई तनाव 

सप्तरी क्षेत्र नम्बर २ बाट फोरम–राजपाका साझा उम्मेदवार उपेन्द्र यादव तनावमा छन् । कारण उनकै क्षेत्रबाट फोरम–राजपा गठबन्धनका नेता जयप्रकाश ठाकुर बागी उम्मेदवार बनेका छन् । अर्कोतर्फ वाम गठबन्धनका साझा उम्मेदवार उमेश यादवको जोड्दार टक्करले पनि यादव  तनावमा देखिन्छन् । 

यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा ७९ हजार २ सय ६३ मतदाता छन् । तीमध्ये करिब १३ हजार यादव समुदायका रहेको अनुमान छ । वाम गठबन्धनका उमेश यादव र उपेन्द्र यादवबीचको प्रतिस्पर्धाले यो जातीय मत बाँडिन सक्ने सप्तरीका बुद्धिजीवी विष्णु मण्डलको विश्लेषण छ । तत्कालीन क्षेत्र ३ र २ का केही भाग समेटेर हालको क्षेत्र २ बनाइएको छ । दोस्रो संविधानसभा निर्वाचनमा २ बाट माओवादीका अशोककुमार मण्डल र ३ बाट माओवादीकै उमेशकुमार यादव विजयी भएका थिए । फोरम दुवैमा दोस्रो भएको थियो । गत स्थानीय तह निर्वाचनमा भने फोरम र राजपाले उत्साहजनक मत प्राप्त गरेका छन् । 

स्थानीय तहको निर्वाचनमा यस क्षेत्रको राजविराज नगरपालिकामा राजपा, महदेवा गाउँपालिकामा फोरम, तिलाठी कोइलाडी गाउँपालिकामा राजपा र छिन्नमस्ता गाउँपालिकामा नयाँशक्तिले जितेका थिए । राजपा र फोरमको तालमेल भएकाले स्थानीय तहको मतका आधारमा उपेन्द्र बलिया देखिन्छन् । तर, गठबनधनभित्रकै बागी ठाकुर उनका लागि चुनौती बनेका छन् ।

गिरीको आगमनले तरंग

लहान– कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी २०५१ सालमा सिरहा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित भए । पाँच वर्षपछि (२०५६ साल) सोही क्षेत्रबाट उनी एमाले उम्मेदवार धर्मनाथप्रसाद साहबाट पराजित भए । त्यसपछि पहिलो र दोस्रो संविधानसभा निर्वाचन (२०६४ र २०७० साल) मा समानुपातिकबाट संविधानसभा सदस्य भए । १८ वर्षपछि पुनः गिरी प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । यसपालि उनी सिरहाकै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धी छन् । यसपालि एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार गंगाप्रसाद यादवले उनलाई टक्कर दिँदैछन् । फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार राजलाल यादव पनि चुनौती हुन् ।

आफूले निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारी नदिएर १ बाट उम्मेदवार बन्नुको कारण खुलाउँदै गिरीले भने, ‘फोरम राजपाका शीर्ष नेतृत्वकै सहमतिमा मैले यस क्षेत्रबाट उम्मेदवारी दिएको हुँ ।’ क्षेत्र नम्बर ४ मा राजपा अध्यक्ष मण्डलका नेता एवं फोरम राजपा गठबन्धनका साझा उम्मेदवार राजकिशोर यादव उम्मेदवार छन् ।

विचारधाराको चुनाव गर्न गिरीको आग्रह

सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप गिरीले आगामी निर्वाचनमा जनताले व्यक्तिको चुनावभन्दा पनि विचारधाराको चुनाव गर्नुपर्ने धारण राखेका छन् । शनिबार लहानमा प्रेस युनियनले आयोजनामा भएको पत्रकार भेटघाटमा गिरीले भने, ‘वाम र लोकतान्त्रिक विचारधाराको चुनाव आगामी निर्वाचनबाट जनताले गरुन् ।’

‘लोकतान्त्रिक विचारधारमा दसनंग्रा खियाएर काम गर्ने मजदुर र प्रधानमन्त्री दुवैको महŒव बराबर हुन्छ’, गिरीले भने, ‘वाम विचारधारामा व्यक्ति प्रधान हुन्छ, यो अधिनायकवादी विचारधारा हो । कुनै पनि वाद अन्तिम सत्य होइन तर वाम विचारधारामा यस्तो पाइन्छ जुन अधिनायकवादी विचारधारा हो ।’ आगामी निर्वाचनमा व्यक्तिभन्दा पनि विचारधाराको पक्षमा मतदान गर्न मतदातालाई उनले आग्रह गरे ।

वाम र लोकतान्त्रिक गठबन्धनको नाममा राजनीतिक  ध्रुवीकरण तेज भएका बेला गिरीले भने, ‘पैसा र जात होइन, विचारधाराको चुनावमा मधेसका मतदाता केन्द्रित हुनुपर्छ ।’ विचारधाराको चुनावको पक्षमा मतदातामाझ मात्र नभई मिडियामा पनि बहस प्रारम्भ हुनुपर्ने गिरीको धारणा थियो ।

‘मधेस मुद्दा सम्बोधन गराउन मैले संसद्मा खेलेको भूमिकाबारे मधेसीजन जानकार छन्’, गिरीले भने, ‘मैले मधेसको सवालमा बोलेर, लेखेर खेलेको भूमिका नै मेरो आत्मविश्वास हो, मधेसीजनको भोट मेरो पक्षमा खस्छ । जुन संविधान जारी हुँदा दर्जनौं मधेसीले सहादत दिए त्यो संविधानमा मेरो हस्ताक्षर छैन यही हो मेरो उम्मेदवारीको औचित्य’, उनले भने, ‘मधेसी अधिकारका लागि मैले संसद्समेत बहिष्कार गरेको छु, आफ्नै पार्टी नेतृत्वको सरकारको समेत आलोचना गरेको छु ।’

प्रकाशित: २० कार्तिक २०७४ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App