१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रमुख दल ‘समर्थक’ मात्र

अाेमप्रकाश अाजाद र पशुपतिदयाल मिश्र

नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं २ नेपालगन्ज उपमहानगरपालिका रहेकाले मात्र होइन, पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको बिरासत भएकाले पनि उत्तिकै ओझपूर्ण मानिन्छ । तर, प्रजातन्त्र पुनस्र्थापनापछिको करिब २५ वर्षे राजनीतिक इतिहासमा यस क्षेत्रमा कांग्रेस पहिलोपटक ‘रुखविहीन’ अवस्थामा चुनावी मैदानमा उत्रिएको छ।

केन्द्रमा भएको तालमेलअनुसार उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस समर्थनमा राप्रपाका ओमप्रकाश आजाद चुनावी मैदानमा ओर्लिएका छन् । कांग्रेस जिल्ला नेतृत्वले अनेक प्रयास गरे पनि कोइरालाको बिरासतलाई निरन्तरता दिन सकेन । नेपालगन्ज उपमहानगरका मेयरसमेत रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाको जोडबलमा बाँके–२ राप्रपाको पोल्टामा पर्‍यो।

आफ्ना उम्मेदवार नभएका तीन ठूला दल निर्णायक नतिजा निकाल्न समर्थकको भूमिकामा छन्। तीन ठूला दल कांग्रेस र एमाले–माओवादी गठबन्धनले समर्थन गरेका उम्मेदवार राजावादी पृष्ठभूमिका हुन्। 

यो क्षेत्रमा आफ्नो उम्मेदवार खडा गर्न कांग्रेस त चिप्लियो नै, देशका अन्य दुई ठूला दल एमाले र  माओवादी केन्द्र पनि आप्mना उम्मेदवार उठाउन असफल भए । राजपाबाट अलग्गिएका पशुपतिदयाल मिश्रले स्वतन्त्र राजनीतिक समूहको नाममा सूर्य चिह्न लिनेगरी मनोनयन दर्ता गरेका छन् । वाम गठबन्धनअघि नै एमालेले मिश्रलाई समर्थन गर्ने सहमति भएको थियो । त्यसैले गठबन्धन बनेपछि माओवादीका आकांक्षीले पनि मिश्रका लागि मैदान खाली गरिदिए । ‘चुनावमा सूर्य चिह्न लिए पनि भविष्यमा मेरो राजनीतिक हैसियत स्वतन्त्र राजनीतिकर्मीकै हुनेछ,’ मिश्र भन्छन्, ‘एमालेसहित वाम समर्थन पाउनु मेरा लागि खुसीको कुरा हो।’

मिश्रसहित राजपा नेताहरू नवलपरासीका हृदयेश त्रिपाठी, कपिलबस्तुका बृजेशकुमार गुप्तालगायतले असोज १६ गते एमालेसँग स्वतन्त्र राजनीतिक समूहको नाममा सूर्यचिह्न लिएर चुनावमा जाने सहमति गरेका थिए ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका आफ्ना उम्मेदवार मैदानमा नरहेपछि साना दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । राप्रपाका आजाद, स्वतन्त्र राजनीतिक समूहका मिश्र, राजपाका विजयकुमार गुप्ता र संघीय समाजवादी फोरमका इस्तियाक राई प्रमुख प्रतिस्पर्धी छन् । तीन ठूला दल भने निर्णायक नतिजा निकाल्न समर्थकको भूमिकामा छन्।

बाँके कांग्रेस नेता एवं महासमिति सदस्य मेघराज ओली केन्द्रीय नेतृत्वको बेवास्ताका कारण पार्टीले जित्ने सुनिश्चित रहेको निर्वाचन क्षेत्र गुमाएको बताउँछन् । स्थलगत र वस्तुगत अवस्था राम्ररी नबुझेरै तालमेलको नाममा भागबण्डा गर्दा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘स्थानीय तह निर्वाचन परिणामलाई आधार मानेर टिकट लेनदेन भयो, जुन सरासर गलत हो,’ उनी भन्छन्, ‘किनभने स्थानीय निर्वाचनमा मतदाताले उम्मेदवारको अनुहारलाई बढी प्राथमिकता दिन्छन्, राष्ट्रिय निर्वाचनमा वैचारिक र नीतिगत कुरा हेरिन्छ ।’ राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाका २३ मध्ये तीनवटा वडामात्र जित्दासमेत मेयरमा राणाले जित्नुको पछाडि राजनीतिकभन्दा व्यक्तिगत प्रभाव बढी रहेको उनले बताए । जबकि कांग्रेसले आठवटा वडामा जित हात पारेको छ।

नेपालगन्ज उपमहानगरपालिका रहेको यो निर्वाचन क्षेत्रमा कांग्रेस पूर्वसभापतिसमेत रहेका कोइराला २०४८ यताका पाँचवटा चुनाव लडेका थिए । २०५१ को मध्यावधि र २०६४ को संविधानसभा निर्वाचनमा पराजय भोगे पनि अरु निर्वाचनमा उनले जित हासिल गरेका थिए । यसपटकको निर्वाचनमा पनि कांग्रेसले बाँकेका तीनमध्ये यो निर्वाचन क्षेत्रलाई सहज ठानेको थियो । ‘तर पार्टी केन्द्रले यो वास्तविकता बुझेन, स्वर्गीय कोइरालाको बिरासतलाई पनि महत्त्व दिएन,’ ओली भन्छन्, ‘यसकै परिणामस्वरुप कांग्रेस पहिलोपटक रुखलाई छोडेर अन्य दललाई समर्थन गर्न बाध्य भयो।’

कांगे्रस जिल्ला कार्य समितिले उक्त क्षेत्रका लागि राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, अब्दुल हमिद सिद्दिकी (भोला), मोहम्मदी सिद्दिकी र मोहम्मद याकुब अन्सारीलाई सिफारिस गरी केन्द्रमा पठाएको थियो।

माओवादी केन्द्र र एमाले पंक्तिमा पनि ‘आप्mनो उम्मेदवार’ मैदानमा नहुँदाको पीडा झल्किन्छ । पाँचवटै संसदीय (संविधाससभा) चुनावमा कमजोर परिणाम आए पनि पछिल्लो समय दुवै दलले सांगठनिक अवस्था सुधारेका छन् । ‘भरसक लामो समय पार्टीमा बसेर संगठन निर्माणमा दुःख गरेका साथी उम्मेदवार होउन् भन्ने चाहना थियो,’ एमाले बाँकेका एक नेता भन्छन्, ‘तर ‘चुनाव जित्नका लागि’ भन्दै सांगठनिक रुपमा अपरिचितलाई उम्मेदवार बनाइयो, हामीसँग चुप लाग्नुको विकल्प छैन।’

माओवादी केन्द्रमा त पछिल्लो समय पार्टी निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गरेका दामोदर आचार्य, अतहर हुसेन फारुकी, नारद पुरीजस्ता नेताले टिकट लिन निकै कसरत गरेका थिए । तर, गठबन्धनअघि नै बनेको सहमतिमा बाँधिन बाध्य भए।

राजावादी पृष्ठभूमि

संयोग नै मान्नुपर्छ– कांग्रेस, एमाले र माओवादी केन्द्रले समर्थन गरेका प्रमुख दुई उम्मेदवारसँग राजावादी पृष्ठभूमि जोडिएको छ । आजाद राजतन्त्रको वकालत गर्ने राप्रपाका केन्द्रीय सदस्य हुन् भने मिश्र राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन जिविस सभापति मनोनित भएका व्यक्ति हुन् । मिश्र सभापति हुँदा आजाद सोही समय नेपालगन्जको उपमेयर मनोनित भएका थिए।

गणतन्त्र ल्याउन संघर्ष गरेका प्रमुख तीन दलले राजावादी पृष्ठभूमि बोकेका अर्को दलका नेतालाई समर्थन गरेकोमा बाँकेको राजनीतिक वृृत्तमा कटाक्ष सुरु भएको छ । राष्ट्रिय जनमोर्चाका नेता कृष्ण पाण्डेले अाफ्नाे फेसबुक पेजमा लेखेका छन्, ‘बाँके–२ मा हुने अबको चुनाव गणतन्त्रवादी र राजावादीबीचको जनमत हो कि !’

प्रकाशित: १९ कार्तिक २०७४ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App