७ वैशाख २०८१ शुक्रबार
राजनीति

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

लहान- गठबन्धन बनाएर आन्दोलन गर्ने, अलग अलग भएर चुनाव लड्ने मधेस केन्द्रित दलको प्रवृती यसपाली फेरिएको छ। प्रदेश दुईमा स्थानीय तह निर्वाचनको परिणामले उत्साहित मधेस केन्द्रित दल (संघीय समाजवादी फोरम, राजपा) मंसिर २१ गत्ते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन निर्माण गरेर साझा उम्मेदवार उठाएका छन्।

फोरम– राजपाबीच भएको चुनावी गठबन्धनले प्रदेश दुईमा बलियो उपस्थिति हुने अनुमान गरिएको छ। तर, गठबन्धनका कारण गठबन्धनभित्रैका नेताहरु असन्तुष्टी जनाउँदै बागी बनेका छन्।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पहिला चुनाव लड्दै आएको सुनसरी र मोरङ जिल्लाबाट सप्तरी झरेपछि गठबन्धनभित्र खैलाबैला मच्यो। उनको आगमनले सप्तरीको चुनावी चर्चामा नौलो चर्चा थपियो– टुरिष्ट उम्मेदवार। उनलाई टुटिष्ट अर्थात आयातित उम्मेदवार भनेर चर्चा चलाइएपछि यादवको नागरिकता प्रमाण पत्र समाजिक सञ्जालमार्फत सार्वजनिक गरियो। जसमा उनको जन्मथलो सप्तरी जिल्लाको मधुवन –६ उल्लेख छ। उनी आयातित नभई सप्तरीको भूमिपूत्र भएको प्रष्टिकरण सहित समाजिक सञ्जालमा उनको नागरिकता प्रमाण पत्र सार्वजनिक गरि नकारात्मक आवज मत्थर पार्ने कसरत गरिंदै छ।

यादव विहीबार सप्तरी क्षेत्रन नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनलाई वाम गठबन्धनका उम्मेदवार उमेश यादवले कडा टक्कर दिँदै छन् । वाम गठबन्धनका उम्मेदवार बाहेक यादवलाई आफ्नै गठबन्धन फोरम–राजपा गठबन्धनकै बागी उम्मेदवारको समेत समाना गर्नुपर्ने चुनौती थपिएको छ। यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राजपा नेता जयप्रकाश ठाकुरले समेत उम्मेदवारी दर्ता गराएर यादवलाई चनौती थपिदिएको छ।

यता सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका आकांक्षी सत्यनारायण यादवलाई पार्टीले टिकट नदिएर अर्का नेता राजलाल यादवलाई दिएपछि उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि पोखे–‘मेरो राजनीतिक हत्या भयो।’ यादव बागी उम्मेदवार त बनेनन् तर, उनको असन्तुष्टि कायमै छ।

राजपा अध्यक्षमण्डलका नेता अनिलकुमार झाविरुद्ध पनि बागी उम्मेदवार खडा भएका छन् । दुई पार्टीबीच भएको गठबन्धन सहमति विपरीत पूर्वसांसद तथा संघीय फोरम नेपालका नेता बबन सिंहले झाविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध उनकै पार्टीका नेता चन्देश्वर चौधरीले उम्मेदवारी दर्ता गराएका छन। महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका ठाकूरलाई एक महिनाअघि आफैंले टीका लगाएर पार्टीमा प्रवेश गराएका चौधरीले बागी उम्मेदवार बनेर चुनौती थपेका छन्।

सिरहा र सप्तरीका यी दुई फरक आन्तरिक असन्तुष्टिका प्रसँग उदाहरण मात्र हुन । प्रदेश दुईमा एकनम्बर बन्ने जोशका साथ साझा उम्मेदवार प्रस्तुत गरेको फोरम राजपा गठबन्धनभित्र देखिएको बागी स्वर र उम्मेदवारीले चुनौती थपेको सप्तरीका वुद्धिजिवि विष्णु मण्डल बताउँछन्। ‘वाम र लोकतान्त्रिक गठबन्धनको चुनौती छदैँ थियो,’ उनले भने,‘आफ्नै भित्रका बागीले उहाँहरु(फोरम राजपा गठबन्धन उम्मेदवार)लाई बिताउने देखिन्छ।’ लोकतान्त्रिक गठबन्धनलाई बाम गठबन्धनसँग र वामलाई लोकतान्त्रिक गठबन्धनसँग चुनौती छ तर, फोरम राजपा गठबन्धनलाई यी दुई गठबन्धन बाहेक तेस्रो चुनौती आन्तरिक बागीसँग छ, उनले भने। बागी बिचार र उम्मेदवारलाई सुल्झाउन नसके फोरम राजपा गठबन्धनले सोचेजस्तो परिणाम ल्याउन मुस्किलै पर्ने मण्डलको विश्लेषण छ।

मधेस आन्दोलनको उद्गम भूमीमा त्रिपक्षीय टक्कर

२०५१ र २०५६ सालको संसदिय निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका कांग्रेसका बौद्धिक नेता प्रदिप गिरी मंसिर २१ गत्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र परिवर्तण गर्दै सिरहा १ बाट उम्मेदवारी दर्ता गराएका छन्।

०५१ सालको संसदीय निर्वाचनमा जितेका गिरी ०५६ सालमा एमाले उम्मेदवार धर्मनाथ साहसँग १०४ मतले पराजित भएका थिए । त्यसपछि उनी झन्डै दुई दशकपछि  चुनाव लड्दै छन् । यसपालि राज्य पुनःसंरचनासँगै निर्वाचन क्षेत्रहरु खुम्चिएका छन् । गिरी यसपाली क्षेत्र फेरेका छन । उनी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन् । उनलाई टक्कर दिन फोरम–राजपा गठबन्धनबाट राजलाल यादवसँगै उनकै गाउँले वाम गठबन्धबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गंगाप्रसाद यादव आमनेसामने छन् । गिरीको आगमनले यस क्षेत्रको चुनावी चाँसो र चुनौती बढेको छ । वाम गठबन्धनको बलियो पकड रहेको यो क्षेत्रमा उनको आगमनले चुनावी टक्कर त्रिकोणत्मक बनाईदिएको छ । फोरम राजपा गठबन्धन, लोकतान्त्रिक गठबनधन र वाम गठबन्धन।

         

 

 

 

प्रकाशित: १८ कार्तिक २०७४ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App