६ वैशाख २०८१ बिहीबार
राजनीति

मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ (रासस)-  प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवासमा आज भएको निर्वाचन आयुक्तसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएकाले अधिकतम मत खस्ने र न्यून बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गरे। “मतदातालाई आफ्नो मताधिकार स्वतन्त्र रुपमा प्रयोग गर्नेगरी वातावरण गर्नुहोस्”, प्रधानमन्त्रीले भने, “मतदाता भ्रममा नपर्ने गरी मतदाता शिक्षा प्रभावकारी बनाउँदै मत बदरलाई न्यून बनाउनेगरी व्यवस्थापन गर्नुहोस्।” प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारका तर्फबाट आवश्यक सबै सहयोग २४सै घण्टा उपलब्ध गराउन आफू तयार रहेको बताए।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको शुरुदेखिको प्रतिबद्धताकै कारण तोकिएको समयमा सम्पन्न हुने भएको जनाउँदै धन्यवाद दिए। “प्रधानमन्त्रीज्यूकै प्रतिबद्धताका कारण स्थानीय चुनाव सम्पन्न भयो र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने भएको हो”, डा यादवले भने, “म निर्वाचन आयोगका तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु।”

आयोगका अन्य पदाधिकारीले पनि प्रधानमन्त्रीले चुनावलाई अर्जुनदृष्टि बनाएकै कारण तोकिएको मितिमा चुनाव सम्पन्न हुने निश्चित भएको जनाउँदै सरकारका तर्फबाट पूर्ण सहयोग पाइएको बताए। बैठकमा प्रमुख आयुक्त डा यादव, आयुक्त ईश्वरी पौडेल, इला शर्मा, सुधीरकुमार शाह र निर्वाचन आयोगका सचिव वेगेन्द्र शर्मा सहभागी थिए।
 

 

प्रकाशित: १७ कार्तिक २०७४ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App