७ वैशाख २०८१ शुक्रबार
राजनीति

क्षेत्रीय दल छाड्दै एमाले कांग्रेसमा

बुटवल – मधेसका प्रभावशाली नेता हृदयेश त्रिपाठी २०४८ सालदेखि चुनावी मैदानमा छन् । २०४८ सालपछिका तीन चुनावमा मधेस केन्द्रीत नेपाल सद्भावना पार्टीबाट उम्मेदवार बनेका त्रिपाठी पछिल्ला दुई चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट उठे । आफ्नै अग्रसरतामा स्थापना भएको  तमलोपासहित मधेसका ६ दल एक भई राष्ट्रिय जनता पार्टी गठनपछि निस्क्रियझैं रहेका त्रिपाठीले त्रिवेणी सुस्ता पश्चिमको नवलपरासी—१ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरे । त्रिपाठीले कुनै बेलाको कट्टर विरोधी दल एमाले रोज्नुको कारण हो, विजयको आशा । किनभने एमालेको सहयोगबिना नवलपरासी—१ मा जित्न मुस्किल छ।

२०६४ सालको संविधानसभा चुनावमा फोरम नेपालले कपिलवस्तु—५ बाट  अभिषेकप्रताप साहलाई टिकट दियो । त्यसबेला पुराना नेता तमलोपाका डा. मञ्जुर खाँलाई  हराउँदै २६ वर्षीय साह सबैभन्दा कान्छा सभासद् बने । २०७० को दोस्रो संविधानसभा चुनावमा पनि साह विजयी भए । संघीय समाजवादी  फोरमको उपमहासचिवका रूपमा पार्टी केन्द्रीय नेतृत्वमा पुग्न सफल साहले चुनावको मुखमा दुई चुनाव जिताएको पार्टी छाडेका छन् । कांग्रेसले टिकट दिने भएपछि दुई साता अघि उनी कांग्रेस पसे । उनले कपिलवस्तु—३ बाट उम्मेदवारी दिएका छन्।

मधेस केन्द्रीत दलबाट राजनैतिक हैसियत बनाएका र चुनाव जित्दै आएका त्रिपाठी र साह मात्रै नभएर अरु नेताले पनि चुनाव जित्नका लागि मुख्य राजनैतिक दल पसेर चुनाव जित्ने दाउ गर्दैछन्।

पश्चिम तराईको नवलपरासी, रूपन्देही र कपिलवस्तुको मधेसी समुदायको बाहुल्य रहेको क्षेत्रमा मुख्य राजनैतिक दलले मधेस केन्द्रीत दलबाट आएका तिनै नेतालाई उम्मेदवार बनाएर मैदानमा उतारेका छन्।

रूपन्देहीको क्षेत्र नम्बर ४ रहेको मर्चवारमा राजनैतिक वर्चश्व कायम राख्दै आएका सर्वेन्द्रनाथ शुक्ललाई अहिले कांग्रेस र एमाले उम्मेदवारले कडा चुनौती दिँदैछन् । दुई साताअघि प्रवेश गरेका प्रमोद यादवलाई कांग्रेसले उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर ४ को प्रदेश–१ बाट बसुद्दिन खाँले कांग्रेसबाट उम्मेदवारी दिए । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य खाँ यादवसँगै प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवाबाट मर्चवारमा आयोजित एक कार्यक्रममा टीका लगाएर कांग्रेस प्रवेश गरेका थिए।

क्षेत्र नम्बर ४ मा एमालेले राष्ट्रिय जनता पार्टीको उपाध्यक्ष छाडेर प्रवेश गरेका  ओमप्रकाश गुल्जारीलाई उम्मेदवार बनाएको छ । पहिलो संविधानसभामा भैरहवासमेत पर्ने रूपन्देही—२ बाट चुनाव जितेका गुल्जारी कृषी राज्यमन्त्री भएका थिए । दोस्रो संविधानसभामा मर्चवार क्षेत्रबाट पराजित उनले एमालेको आडमा शुक्लालाई पराजित गरेर  मर्चवारमा शुक्लाको वर्चश्व तोड्ने योजना बनाएका छन् । त्यसका लागि उनले गएको स्थानीय तहको चुनावमा  फोरम लोकतान्त्रिकबाट सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्लालाई पनि आफूसँगै एमाले प्रवेश गराए । मर्चवार क्षेत्रका लोकप्रिय युवा शुक्लाको पार्टी प्रवेशले एमाले पंक्ति उत्साहित छ । क्षेत्र नम्बर ४ को प्रदेश—१ बाट एमालेले शुक्लाकी पत्नी पल्लवी शुक्लालाई प्रदेश सभासद्को उम्मेदवार बनाएको छ।

गएको स्थानीय तहको चुनावमा लुम्बिनी नगरपालिकाको मेयरमा संघीय समाजवादी  फोरमबाट मेयरमा उम्मेदवारी दिएर लोकप्रिय मत ल्याएका फकरुद्दीन खाँले अहिले कांग्रेसबाट प्रदेश सभासदमा उम्मेदवारी दिए । उनी रूपन्देही क्षेत्र नम्बर ५ को प्रदेश—१ बाट उम्मेदवार बनेका हुन्।

२०६४ सालको संविधानसभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीको उम्मेदवार भई कपिलवस्तु—४ बाट चुनाव जितेका इश्वरदयाल मिश्र भौतिक योजना मन्त्री बने । गएको चुनावमा पराजित मिश्रले अहिले स्थानीय तहको चुनावमा एमाले पहिलो दल भएपछि उनले पनि एमाले रोजे । कपिलवस्तु—३ बाट एमालेले मिश्रलाई उम्मेदवार बनाएको छ ।
वृजेशकुमार गुप्ता कपिलवस्तुका सक्रिय राजनीतिज्ञ हुन् । २०५६ सालमा उनी राप्रपाबाट चुनाव लडे । कांग्रेस नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका गुप्ताले दुई वटा संविधानसभाका चुनाव तमलोपाबाटै जिते । अहिले उनी एमालेबाट उम्मेदवार बनेका छन् । एमालेले चुनाव जित्नकै लागि गुप्तालाई  कपिलवस्तु—२ को उम्मेदवार बनाएको हो । उनको प्रतिस्पर्धा कांग्रेसका सुरेन्द्र आचार्यसँग हुनेछ।

नवलपरासी–१ को प्रदेश–१ बाट एमालेले अजय शाहीलाई उम्मेदवार बनाएको छ । कुनै बेला राप्रपाबाट उम्मेदवार बनेका शाही संविधानसभाको चुनावमा तमलोपाबाट उम्मेदवार बनेका थिए । अहिले उनी एमालेका उम्मेदवार बनेका छन्।

विश्लेषक तुलानारायण साहले मधेस आन्दोलन असफल भएपछि आफ्नो राजनैतिक भविष्य सुरक्षित गर्न नेताहरूले ठूला राजनीतिक दल रोजेको धारणा राख्छन् । ‘नाकाबन्दी सकिएपछि  मधेस आन्दोलन तुहियो, त्यसपछि  नेताहरू जता लाग्दा राजनैतिक भविष्य सुरक्षित हुन्छ, त्यतै लागे,’ उनले भने।

तर नयाँ राजनीतिक समीकरणलाई जनताले कसरी लिनेछन् भन्ने त चुनाव परिणामले नै देखाउनेछ।

प्रकाशित: १७ कार्तिक २०७४ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App