coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पकड कसिलो पार्दै वाम गठबन्धन

लहान- आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर २ मा मजबुत उपस्थितिका लागि वाम गठबन्धन, मधेस केन्द्रित दल र कांग्रेसले राणनीतिक कसरत तीव्र पारेका छन् ।
निर्वाचनको संघारमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम, नेकपा एमाले, माओवादी केन्द्रबीचको वाम गठबन्धन र नेपाली कांग्रेस, राप्रपासहितका दलको लोकतान्त्रिक गठबन्धन निर्माण गरी दलहरूबीच सुरु भएको राजनीतिक धु्रवीकरणका कारण प्रदेश नम्बर २ मा  दलहरूलाई टिकट वितरणमा सकस परेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न दुई दिन मात्र बाँकी हुँदा पनि दलहरुले उम्मेदवार छनोट गर्न सकेका छैनन् । प्रदेश तथा प्रतिनिधिसभाको टिकट पाउन आकांक्षीहरु नेताको घरदैलो धाइरहेका छन् । मधेस केन्द्रित संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले तालमेल गरी निर्वाचन लड्ने निर्णय गरेका छन् ।
प्रदेश नम्बर २ मा यी दुवै दलले १७ र १५ सिट लिने गरी सहमति गरेका छन् । दुवै दलले सिट बाँडफाँट गरेर कांग्रेसले निर्माण गरेको लोकतान्त्रिक गठबन्धनसँग समेत तालमेल गर्न छलफल जारी राखेका छन् । यसैबीच, फोरम–राजपा सिट बाँडफाँट टुंगो लागाएको घोषणा गरेलगत्तै बालुवाटारमा नेपाली कांग्रेससँग चुनावी तालमेलको छलफलमा सहभागी भयो । राजपाका एक नेताले भने, ‘लोकतान्त्रिक गठबन्धनसँग हामीले भनेअनुसारको चुनावी तालमेलको सम्भावना कम छ ।’  
 स्थानीय तह निर्वाचनको परिणामबाट फोरम– राजपाका आकांक्षीहरु उत्साहित छन् । फोरमका एक आकांक्षीले भने, ‘स्थानीय तह निर्वाचनमा जनाधार गुमाएको क्षेत्रमा त्यो पार्टीका लागि पनि सिट छाड्नुपर्ने अवस्था स्वीकार्य हँुदैन ।’ दोस्रो चरणका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ता मिति तोकिएको छ ।
वाम गठबन्धनले सिट बाँडफाँट गरेपछि स्थानीय स्तरमा पकड कसिलो बनाउन नेताहरु अर्को पार्टीका चर्चित नेता भित्र्याउन व्यस्त छन् । ४ वटा निर्वाचन क्षेत्र रहेको सिरहामा एमाले र माओवादी केन्द्रले २ र २ सिट बाँडेका हुन् । क्षेत्र नम्बर १ र ३ एमालेको भागमा र क्षेत्र नम्बर २ र ४ माओवादी केन्द्रको भागमा परेको माओवादी केन्द्रका सचिवालय सदस्य जगतप्रसाद यादवले बताए ।
दोस्रो संविधानसभा निर्वाचनमा एमालेले १ सिट जितेको थियो । माओवादीले पनि १ सिट जितेको थियो । गत महिना सम्पन्न स्थानीय तहको निर्वाचनमा वाम गठबन्धन र फोरम राजपा गठबन्धनले बलियो उपस्थिति जनाएका छन् । १७ स्थानीय तहमध्ये ६ तह माओवादी केन्द्र र ४ तह एमालेले जितेका छन् । समाजवादी फोरमले ५ तह जितेको छ । कांग्रेसले २ तहमा जितेको छ ।
एमाले भागमा परेका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा गत स्थानीय तह निर्वाचनमा यो पार्टी पहिलो थियो । क्षेत्र नम्बर १ मा लहान नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लक्ष्मीपुरपतारी गाउँपालिका, भगवानपुर गाउँपालिका र धनगढीमाई नगरपालिकाका १ र २ नम्बर वडा छन् । जसमा लहान नगरपालिका र सखुवानन्कारकट्टी गाउँपलिका एमालेले जितेको छ । भगवानपुर गाउँपालिकामा एमाले दोस्रो स्थानमा छन भने लक्ष्मीपुरपथारीमा तेस्रो छ । धनगढीमाई नगरपालिका माओवादी केन्द्रले जितेको छ । स्थानीय तह निर्वाचनको मतका हिसाबले प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धन बलियो प्रतिस्पर्धी देखिन्छ ।
प्रदेशअन्तर्गत क्षेत्र नम्बर १ ‘क’ मा लहान नगरपालिकाका १९ वटा वडा र धनगढीमाई नगरपालिकाका १ र २ वडा छन् । यस क्षेत्रमा पनि गत स्थानीय तहको मतका हिसाबले वाम गठबन्धन मजबुत प्रतिस्पर्धी देखिन्छ । गठबन्धनलाई थप बलियो बनाउन मंगलबार एमाले पार्टीले गत स्थानीय तह निर्वाचनमा लहान नगरपलिकाको मेयर मा राप्रपाबाट उम्मेदवार भई ४४६५ मत प्राप्त गरेका लगनलाल चौधरीलाई पार्टीमा प्रवेश गराएको छ । उनी ०४९ देखि ०५४ सम्म लहान नगरपालिकाका मेयर थिए । ‘उहाँको आगमनले एमाले सिरहालाई थप बलियो र कसिलो बनाएको छ’, एमाले केन्द्रीय सदस्य गंगा यादवले भने, ‘यस क्षेत्रमा हामी बलियो छँदै थियौं अब थप बलियो भयौं ।’ चौधरीलाई प्रदेशसभाअन्तर्गत क्षेत्र नम्बर १ (क) मा उम्मेदवार बनाउने योजनाअनुसार एमालेले पार्टीमा भित्र्याएको स्रोतले बतायो ।

प्रकाशित: १६ कार्तिक २०७४ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App