coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोस्रो चरण निर्वाचनको मनोनयन दर्ता आज

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनावमा प्रत्यक्ष प्रणालीतर्फका लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावका लागि प्रत्यक्ष चुनाव लड्न इच्छुक उम्मेदवारले बिहीबार उम्मेदवारी दर्ता गराउनेछन्  । यस चुनावबाट दुवै तहमा गरी ३ सय ८४ प्रतिनिधि छानिनेछन् । यसमा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ प्रतिनिधि छनोट हुनेछन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनाव सफल बनाउन सबै जुट्न आग्रह गरेका छन् । यादवले दोस्रो चरणका लागि बिहीबार सबै राजनीतिक दललगायत स्वतन्त्र उम्मेदवारलाई मनोनयन दर्ताका लागि आह्वान गरेका छन् । मनोनयन दर्ता सम्बन्धित निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार बिहान १० बजेदेखि ५ बजेसम्म हुने आयोगले जनाएको छ ।
प्रमुख आयुक्त यादवले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आयोग निरन्तर रुपमा लागिरहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि चुनाव हुन लागेको प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।
उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा उम्मेदवारलाई उच्च सुरक्षा व्यवस्था मिलाउन आयोगले सुरक्षा निकायलाई निर्देशन दिएको छ । आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई मनोनयन दर्ता व्यवस्थित, मर्यादित र भयरहित बनाउन आग्रह गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्दसूची कात्तिक १७ मा सार्वजनिक गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ७४ लाख मतपत्र छापिसकिएको निर्वाचन आयोगले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशपछि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई तहका लागि छुट्टाछुट्टै पानामा मतपत्र छपाइ सुरु भइसकेको आयोगको भनाइ छ । आयोगले प्रतिनिधिसभा सदस्यका लागि हल्का हरियो रङमा मतपत्र छाप्दैन ।
आयोगले २१ जिल्लाको मतपत्र छाप्न थालेको र कात्तिक २० सम्म पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मतपत्र पठाइसक्ने जानकारी दिएको छ । आयोगले मतदाता शिक्षासम्बन्धी तालिम, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न गृहकार्य गरिरहेको बताएको छ ।
कहीँकतैबाट आचारसंहिता उल्लंघन भएमा यस विषयमा कारबाही गर्न ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई आवश्यक निर्देशन दिइसकेको आयोगले जनाएको छ ।
फोटासहितको मतदाता नामवलीमा नाम समावेश भएका निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायतको मताधिकार सुरक्षितका लागि अध्ययन गर्न समिति आयोगले बनाएको छ । निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुरोध गरेको छ ।
मंसिर २१ मा  प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, प्रदेश ४ मा पूर्वी नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, त्यसैगरी प्रदेश ५ का पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके, बर्दिया, प्रदेश ६ का सल्यान, सुर्खेत, दैलेख र प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा मतदान हुनेछ ।

प्रकाशित: १६ कार्तिक २०७४ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App