१६ चैत्र २०८० शुक्रबार
राजनीति

वाम गठबन्धनको पकड बलियो

सुरेन्द्र पौडेल/भाषा शर्मा

काठमाडौं- मंसिर १० गते प्रदेश नम्बर नम्बर ६ को सात जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । पहिलो चरणअन्तर्गत निर्वाचन हुन लागेका प्रदेश नं. ६ को जिल्लामा रुकुम (पश्चिम), डोल्पा, कालिकोट, जुम्ला, मुगु, हुम्ला र जाजरकोट छन्। यी सात जिल्लाबाट प्रतिनिधिसभामा ७ जना (प्रत्येकबाट एक–एक) र प्रदेशसभामा १४ जना (प्रत्येक जिल्लाबाट दुईदुई) निर्वाचित हुनेछन् । प्रतिनिधिसभा र प्रदेशसभामा कुल २१ जनाले प्रतिनिधित्व गर्नेछन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले प्राप्त गरेको मतलाई आधार मान्दा प्रदेश नंं.६ का सात जिल्लाको एकबाहेक सबै सिटमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा बलियो देखिएको छ । 

वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, परिवार दल, चुरेभाबर, जनजागरण पार्टी नेपाल, समाजवादी जनता पार्टी छन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल छन् ।

रुकुम (पश्चिम)

प्रदेश विभाजन गर्दा रुकुमलाई दुई प्रदेशमा राखिएको छ । रुकुमको पश्चिम भागलाई प्रदेश नं.६ मा राखिएको छ भने पूर्वी भागलाई प्रदेश नं.५ मा । प्रदेश नं.६ मा रहेको पश्चिम रुकुममा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तह छन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा पश्चिम रुकुमका ६ वटै स्थानीय तहमा माओवादीले ‘क्लिन स्विप’ गरेको थियो ।  जिल्लामा लोकतान्त्रिक गठबन्धनले एक स्थानीय तहमा पनि जित्न सकेको थिएन ।

पश्चिम रुकुमबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जनाले प्रतिनिधित्व गर्नेछन् । स्थानीय निर्वाचनमा यो जिल्लामा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखलाई कुल ५५ हजार ४ सय ४७ मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनको भन्दा १६ हजार ४ सय २८ मत बढी पाएको थियो । स्थानीय निर्वाचनमा वाम गठबन्धनले ३५ हजार ८ सय ८१ मत र लोकतान्त्रिक गठबन्धनले १९ हजार ४ सय ५३ मत पाएका थिए ।

पश्चिम रुकुम प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले १८ हजार ३ सय ३५ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले १० हजार ८ सय ४२ । यस क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ७ हजार ४ सय ९३ मत बढी प्राप्त गरेको थियो । यस्तै, स्थानीय निर्वाचनमा पश्चिम रुकुम प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ८ हजार ९ सय ३५ मत ल्याएको थियो। यस क्षेत्रमा वाम गठबन्धनले १७ हजार ५ सय ४६ र लोकतान्त्रिक गठबन्धनले ८ हजार ६ सय ११ मत पाएका थिए।

डोल्पा

मंसिर १० गते हुने निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभामा १ जना र प्रदेशसभामा २ जना उम्मेदवार निर्वाचित हुनेछन् । डोल्पामा दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह छन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा डोल्पाका स्थानीय तहमध्ये ३ वटामा माओवादी, ३ वटामा एमाले र २ वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । लोकतान्त्रिक गठबन्धनले डोल्पाको एउटा स्थानीय तहमा पनि पकड जमाउन सकेको थिएन ।

प्रतिनिधिसभाका लागि एक सिट रहेको डोल्पामा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि १२ हजार ३ सय ६३ मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले ८ हजार २ सय ९६ र लोकतान्त्रिक गठबन्धनले ३ हजार २ सय ७ मत प्राप्त गरेका थिए । लोकतान्त्रिक गठबन्धनको भन्दा वाम गठबन्धनले डोल्पामा ५ हजार ८९ मत बढी पाएको थियो ।

स्थानीय निर्वाचनमा प्राप्त मतको आधारमा डोल्पाको सबै क्षेत्रमा वाम गठबन्धन मजबुत देखिन्छ । डोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा एक हजार ५ सय ४३ बढी मत पाएको थियो । उक्त क्षेत्रमा वाम गठबन्धनले कुल २ हजार ९ सय ९६ र लोकतान्त्रिक गठबन्धनले १ हजार ४ सय ५३ मत पाएको थियो । यस्तै, डोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनले ५ हजार ३ सय र लोकतान्त्रिक गठबन्धनले १ हजार ७ सय ५४ मत पाएका थिए । यस क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ३ हजार ५ सय ४६ बढी मत पाएको थियो ।

कालीकोट

कालीकोटबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना उम्मेदवार निर्वाचित हुनेछन् । कालीकोटमा तीन नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह छन् । यसै वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा कालीकोटका स्थानीय तहमध्ये ५ वटा माओवादी, ३ वटामा एमाले र एउटामा कांग्रेसले कब्जा जमाएको थियो । स्थानीय निर्वाचनमा वाम गठबन्धनले ८ र लोकतान्त्रिक गठबन्धनले एक तहमा जितेका थिए । स्थानीय तहको निर्वाचनमा प्राप्त मतअनुसार कालीकोटमा पनि वाम गठबन्धन निकै मजबुत देखिएको छ ।

प्रतिनिधिसभाका लागि एक सिट रहेको कालीकोटमा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि ४२ हजार ८ सय २५ मत खसेको थियो । खसेको मतमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १४ हजार २ सय २५ मत बढी पाएको थियो । स्थानीय निर्वाचनमा कालीकोटमा वाम गठबन्धनले २८ हजार ४ सय ६० मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले १४ हजार २ सय ३५ ।

कालीकोट प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले १२ हजार १ सय ४ मत पाएको थियो। यही क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले ५ हजार ६ सय ९९ मत पाएको थियो । यस क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ६ हना। ४ सय ५ मत बढी ल्याएको थियो । यस्तै, कालीकोट प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनले १६ हजार ३ सय ५६ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ८ हजार ५ सय ३६ । यहाँ लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ७ हजार ८ सय २० मत बढी पाएको थियो ।

जुम्ला

मंसिर १० गते हुने निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना उम्मेदवार निर्वाचित हुनेछन् । जुल्लामा एक नगरपालिका र सात गाउँपालिका गरी ८ स्थानीत तह छन् । गत स्थानीय निर्वाचनमा जुम्लाका स्थानीय तहमध्ये ४ वटामा कांग्रेस, ३ वटामा माओवादी र एउटामा एमाले विजयी भएको थियो ।

प्रतिनिधिसभाका लागि एक सिट रहेको जुम्लामा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखका लागि ४० हजार ३ सय ७९ मत खसेको थियो । यो मतमध्ये वाम गठबन्धनले २५ हजार ७ सय १२ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ५ सय ८ मत प्राप्त गरेका थिए । लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले जुम्लामा १३ हजार २ सय ४ मत बढी पाएका थिए ।

जुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले १४ हजार ९७ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ६ हजार ३८ । यस क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ८ हजार ५९ मत बढी पाएको थियो ।

जुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ५ हजार १ सय ४५ मत बढी ल्याएको थियो । स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले कुल ११ हजार ६ सय १५ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ६ हजार ४ सय ७० ल्याएको थियो ।

मुगु

मुगुबाट प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई उम्मेदवार चयन हुनेछन् । मुगुमा एक नगरपालिका र तीन गाउँपालिका गरी ४ स्थानीय तह छन् । स्थानीय निर्वाचनमा तीन वटामा कांग्रेस र एउटामा एमाले विजयी भएको थियो । प्रतिनिधिसभाका लागि एक सिट रहेको मुगुमा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि कुल २१ हजार १ सय ७४ मत खसेको थियो । यसमध्ये वाम गठबन्धनले १२ हजार ९ र लोकतान्त्रिक गठबन्धनले ८ हजार ८ सय १४ मत पाएका थिए । मुगुमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ३ हजार १ सय ९५ मत बढी ल्याएको थियो ।

स्थानीय निर्वाचनमा मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा लोकतान्त्रिक गठबन्धनले ४ हजार ८ सय ६५ मत पाएको थियो भने वाम गठबन्धनले ४ हजार ४ सय ६१ । यस क्षेत्रमा वाम गठबन्धनको भन्दा ४ सय ४ मत बढी लोकतान्त्रिकले पाएको थियो । मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धन मजबुत देखिन्छ । गत स्थानीय निर्वाचनमा यस क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ३ हजार ६ सय ९ मत बढी पाएको थियो । यस क्षेत्रमा वाम गठबन्धनले ७ हजार ५ सय ३४ मत पाएकोे थियो भने वाम लोकतान्त्रिक गठबन्धनले ३ हजार ९ सय २५ पाएको थियो ।

हुम्ला हुम्लाबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना चयन हुनेछन् । हुम्लामा सात गाउँपालिका छन्। स्थानीय निर्वाचनमा ४ वटामा माओवादी, २ वटामा कांग्रेस र एउटामा एमाले विजयी भएका थिए । हुम्लाका कुल स्थानीय तहमध्ये वाम गठबन्धनले ५ वटामा र लोकतान्त्रिक गठबन्धनले दुई वटामा विजय प्राप्त गरेका थिए ।

हुम्लाको सबै क्षेत्रमा वाम गठबन्धनको पकड बलियो देखिएको छ । स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखका लागि कुल १९ हजार २ सय ९६ मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले ११ हजार ८ सय ६६ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ७ हजार ४ सय ३० । लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले हुम्लामा ४ हजार ४ सय ३६ मत बढी ल्याएको थियो ।

स्थानीय निर्वाचनमा हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा वाम गठबन्धनले ७ हजार ६ सय ५५ र लोकतान्त्रिक गठबन्धनले ३ हजार ६ सय ८४ मत ल्याएका थियो । यहाँ वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ३ हजार ९ सय ७१ मत बढी पाएको थियो । हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ४ सय ६५ मत बढी पाएको थियो । यस क्षेत्रमा वाम गठबन्धनले ४ हजार २ सय ११ मत पाएको थियो भने लोकतान्त्रिकले ३ हजार ७ सय ४६ ।

जाजरकोट

जाजरकोटबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना निर्वाचित हुनेछन् । जाजरकोटमा ३ नगरपालिका र ४ गाउँपालिकार गरी ७ स्थानीय तह छन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनको मत परिणामलाई आधार मान्दा यहाँ लोकतान्त्रिकको तुलनामा वाम गठबन्धन बलियो देखिन्छ । ७ स्थानीय तहमध्ये स्थानीय निर्वाचनमा एमालेले ३ वटा, माओवादीले २ र कांग्रेसले २ वटामा जित निकालेका थिए । जाजरकोटका स्थानीय तहमध्ये ५ वटामा वाम गठबन्धन र २ वटामा लोकतान्त्रिक गठबन्धनको पकड रहेको देखिन्छ ।

स्थानीय निर्वाचनमा प्रतिनिधिसभाका लागि एक मात्र सिट रहेको जाजरकोटमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि ५७ हजार ८ सय ५० मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले ३८ हजार ६१ र लोकतान्त्रिक गठबन्धनले १९ हजार ७ सय ७० मत पाएका थिए । जाजरकोटमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १८ हजार २ सय ९१ मत बढी पाएका थिए ।

जाजरकोट प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ९ हजार ६ सय ५५ मत बढी ल्याएको थियो। यस क्षेत्रमा वाम गठबन्धनले २० हजार २ सय ९४ मत र लोकतान्त्रिक गठबन्धनले १० हजार ६ सय ३९ मत पाएका थिए । यस्तै, जाजरकोट प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनले १७ हजार ७ सय ६७ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ९ हजार १ सय ३१ । यस क्षेत्रमा लोकतान्त्रिकको भन्दा ८ हजार ८ सय ३६ मत बढी वाम गठबन्धनले ल्याएको थियो ।

प्रकाशित: १५ कार्तिक २०७४ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App