coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

रौतहट-  देशको सबैभन्दा बढी नगरपालिका भएको रौतहटको स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन्। १६ नगरपालिका र २ गाउँ पालिका गरी १८ स्थानिय तह रहेको रौतहटमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा ग्राही मर्कामा परेका छन्।

स्थानीय तहको निर्वाचन सम्पन्न भएर जननिर्वाचित प्रतिनिधिहरुले काम काज थालेको एक महिना बित्दा पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा कामकाजमा निकै असजिलो भइरहेको छ । स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा एउटै कर्मचारीले एकभन्दा बढी ठाउँमा जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ । एक कर्मचारीले एकभन्दा बढी ठाउँमा जिम्मेवारी निर्वाह गर्नुपर्दा काम प्रभावकारी हुन नसकेको गुनासो बढेको छ।

१८ स्थानीय तहको १५७ वडा रहेको जिल्लामा ७० जना वडा सचिव मात्र रहँदा सेवाग्रहीहरु समयमा कामकाज गराउन निकै मर्कामा परेका हुन् । वडा सचिवकै भरमा ५ वटा नपा र २ वटा गाउँपालिका संचालन हुँदा जनप्रतिनिधि आइसक्दा पनि कर्मचारीको यथोचित व्यवस्थापन हुन सकेको छैन ।

प्रहलाद तिवारी गढिमाई नपा, विरेन्द्र चन्द्रवंशी बौधीमाई नपा, राजदेव मुखिया कटहरिया नपा, मनोज झा देवाही गोनाही नपा र प्रमोद वर्मा राजदेवी नपा तथा प्रमोद कुमार ठाकुर दुर्गा भगवती र शिवपुजन राय यादव यमुनामाई गाउँपालिकामा निमित्त कार्यकारीको हैसियतमा काम काज गरिरहेको भए पनि उनीहरु विभिन्न पदबाट पदोन्नती भई सचिव भएकाहरुलाई निमित्त कार्यकारी बनाइएका छन् ।

लेटरप्याड र स्टाम्प परिवर्तन भए पनि कार्यशैली पुरानै हुदा सर्वसाधारण सेवाग्रहीहरु समयमै छिटो छरितो सेवा सुविधा पाउनबाट बंचित भईरहेको अवस्था सृजना भएको गरुडा नगरपालिकाका मनोज कुमार चौधरीले बताएका छन्।

नपा र गाउँपालिकाको कार्यालय स्थापना संगै निर्वाचित जनप्रतिनिधिहरु वडा कार्यालय समेत स्थापना गरिसक्दा पनि वडा सचिव कार्यालयमा उपस्थित नहुँदा कामकाज गराउन आउने सेवाग्रहीहरु रित्तो हात घर फर्किन बाध्य भएका आरोप उनले लगाए।

वृन्दावन नगरपालिका वडा नम्वर ४ को वडा कार्यालय संचालन गर्न जिम्मेवारी पाएका प्राविधिक सहायक होसनारायण यादव वडा कार्यालयमा ताला लगाई नपाको कार्यालय विश्रामपुरमा बस्दा आज सो वडाका बासिन्दाहरु कार्यालयमा नारावाजी गरेको नवनिर्वाचित वडाध्यक्ष श्यामप्रसाद यादवले  बताए।

स्थानीय बासिन्दाहरु प्राविधिक सहायक यादवको काम कारवाहीबाट असन्तुष्ट हुँदै भोली नपाको कार्यालयमा गएर प्रदर्शन गर्ने चेतावनी दिदै स्थानीय बासिन्दाहरु घर फर्किएको गुनासो उनले गरे । जनताको कामकाजको लागि विहानै देखि वडा कार्यालयमा बस्दा पनि कर्मचारीको वदमासीले गर्दा जनताहरुलाई आक्रोशित बनाउने काम गरेको आरोप उनले लगाए।

कर्मचारी अभाव सम्बन्धमा जिल्ला समन्वय समिति रौतहटका प्रमुख एवं जिल्ला कर्मचारी व्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका स्थानीय विकास अधिकारी उमेश बस्नेतले मन्त्रालयबाट कर्मचारी खटाइसक्दा पनि यहाँ सम्पर्कमा नआएको बताए। कतिपय नपामा उपसचिवको दरबन्दी भएपनि अधिकृत स्तरका कर्मचारी उपलब्ध नहुँदा समन्वयका लागि कामकाज गर्न सचिवलाई निमित्त कार्यकारी बनाएर पठाइएको स्वीकार गरे।

धेरै सचिव सेवानिवृत्त भईसकेको अवस्थामा यहाँ उपलब्ध जनशक्तिलाई परिचालन गर्न समेत अपुग हुँदा काम काज गर्न निकै अप्ठ्यारो भईरहेको तथा निर्वाचित जनप्रतिनिधिहरुलाई कामकाज कसरी गर्ने हो जानकारी नहुँदा उनीहरुलाई समुचित रुपमा तालिमको व्यवस्थापन गरिनु नितान्त आवश्यक देखिएको बताए । विभाग एवं मन्त्रालयबाट यस जिल्लाको विभिन्न नगरपालिका एवं गाउँपालिकामा खटाइएका कर्मचारीलाई यथाशिघ्र पठाउन सम्बन्धित निकायसंग माग गरे।

दरबन्दी अनुसारको कर्मचारी नहुँदा सिंहदरबारको अधिकार जनताको घरमा भन्ने भनाइप्रति सेवाग्राहीको विश्वास कम हुँदै गएको आरोप रहेको छ।

प्रकाशित: १४ कार्तिक २०७४ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App