१६ चैत्र २०८० शुक्रबार
राजनीति

लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा

सुरेन्द्र पौडेल/भाषा शर्मा

काठमाडौं – प्रनिधिनिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा प्रदेश नम्बर ४ का ६ जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश नं. ४ का गोरखा, लमजुङ, बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यी ६ जिल्लाबाट प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १६ जना निर्वाचित हुनेछन् ।

यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले प्राप्त गरेको मतलाई आधार मान्दा मंसिर १० गते निर्वाचन हुने प्रदेश नं. ४ का ६ जिल्लामा लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । यी जिल्लाका अधिकांश स्थानमा दुई गठबन्धनका उम्मेदवारबीच ४६ देखि दुई हजारसम्मको मतान्तर हुने देखिन्छ । 

स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा प्रदेश नं. ४ का ६ जिल्लाबाट प्रतिनिधिसभाका लागि निर्वाचित हुने ८ सिटमा लोकतान्त्रिक र वाम गठबन्धनको आधा–आधा (४/४) स्थानमा पकड देखिएको छ । प्रदेशसभाका लागि निर्वाचित हुने १६ स्थानमा पनि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको आधा–आधा (८÷८) स्थानमा स्थिति मजबुत देखिएको छ । अधिकांश स्थानमा दुई गठबन्धनका उम्मेदवारबीच थोरै मत मात्र अन्तर हुने स्थानीय निर्वाचनमा खसेको मतले देखाउँछ । 

लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल छन् । यस्तै, वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, परिवार दल, चुरे भाबर, जनजागरण पार्टी नेपाल, समाजवादी जनता पार्टी छन्। 

गोरखा

पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा बढीले उत्सुकतासाथ हेरेको जिल्ला हो– गोरखा । गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्रतिस्पर्धा गर्दैछन् । श्रेष्ठ पूर्वउपप्रधानमन्त्री हुन् भने भट्टराई पूर्वप्रधानमन्त्री । कुनै समय एउटै पार्टीमा रहँदा पनि एकअर्काको प्रतिस्पर्धीमा परिचित श्रेष्ठ र भट्टराई अहिले फरकफरक पार्टीबाट मैदानमा छन् । भट्टराईलाई लोकतान्त्रिक गठबन्धनको साथ छ श्रेष्ठलाई वाम गठबन्धनको साथ छ। 

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको गोरखामा प्रदेशसभामा चार क्षेत्र छ । जिल्लामा  २ नगरपालिका र ९ वटा गाउँपालिका छन्। 

स्थानीय निर्वाचनमा गोरखामा गाउँपालिका अध्यक्ष तथा नगरप्रमुखलाई एक लाख ६ हजार ८ सय ६० मत खसेको थियो, जसमध्ये लोकतान्त्रिक गठबन्धनले ५३ हजार ४ सय ७० र वाम गठबन्धनले ५२ हजार ९ सय २७ मत पाएका थिए । गोरखाका ११ स्थानीय तहमध्ये गत स्थानीय निर्वाचनमा दुई नगरपालिकासहित ९ मा कांग्रेस र दुईमा माओवादी विजयी भएका थिए। 

स्थानीय निर्वाचनलाई आधार मान्दा गोरखाका अधिकांश निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धन मजबुत देखिएको छ । गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा गत स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले ३२ हजार ६ सय ९४ मत पाएको थियो भने वाम गठबन्धनले ३२ हजार ४ सय २० । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धन मात्र २ सय ७४ मतले वाम गठबन्धनभन्दा अगाडि छ । स्थानीय निर्वाचनको परिणामअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ मा पनि लोकतान्त्रिक गठबन्धन नै बलियो देखिन्छ । यस क्षेत्रमा लोकतान्त्रिकले वाम गठबन्धनभन्दा ३ सय ७ मत बढी पाएको थियो । स्थानीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ मा लोकतान्त्रिक गठबन्धनले २० हजार ८ सय १४ र वाम गठबन्धनले २० हजार ५ सय ७ मत पाएका थिए। 

गोरखा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा भने वाम गठबन्धन बलियो देखिएको छ । यहाँ गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले २० हजार ७ सय ७२ र लोकतान्त्रिक गठबन्धनले १८ हजार ९ सय ७ मत प्राप्त गरेका थिए । दुई गठबन्धनबीचको मतभिन्नता एक हजार ८ सय ६५ थियो। 

गोरखा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख)मा लोकतान्त्रिक गठबन्धन बलियो देखिएको छ । यस क्षेत्रमा गएको स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले १३ हजार ८ सय ३ र वाम गठबन्धनले ११ हजार ६ सय ४८ मत पाएका थिए । यहाँ लोकतान्त्रिकले गठबन्धनले वाम गठबन्धनको भन्दा २ हजार १ सय ५५ बढी मत पाएको थियो। 

गोरखा प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (क) मा गत स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनको भन्दा एक हजार ७ सय ७३ बढी मत पाएको थियो । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले ८ हजार ६ सय ७४ र वाम गठबन्धनले ६ हजार ९ सय १ मत पाएको थियो । यस्तै, गोरखा प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (ख) मा लोकतान्त्रिकले वाम गठबन्धनको भन्दा मात्र ४० मत बढी मत पाएको थियो । स्थानीय निर्वाचमा यस क्षेत्रमा लोकतान्त्रिकले ८ हजार ७३ र वाम गठबन्धनले ८ हजार ३३ मत पाएका थिए। 

लमजुङ

लमजुङबाट मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभामा १ जना र प्रदेशसभामा २ जना निर्वाचित हुनेछन् । चार नगरपालिका र चार गाउँपालिका गरी ८ स्थानीय तह रहेको लमजुङमा स्थानीय निर्वाचनको परणामअनुसार वाम गठबन्धन केही बलियो छ । स्थानीय निर्वाचनमा यहाँ रहेका ८ स्थानीय तहमध्ये ६ वटामा वाम गठबन्धन (एमाले–५ र माओवादी–१) र २ वटामा लोकतान्त्रिक गठबन्धन (कांग्रेस–२) विजयी भएका थिए। 

लमजुङमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि कुल ७० हजार ८ सय ३८ मत खसेको थियो । यसमध्ये वाम गठबन्धनले ३४ हजार ६ सय ४७ र लोकतान्त्रिक गठबन्धनले ३३ हजार ४ सय ४ मत पाएका थिए । यस क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १ हजार २ सय ४३ मत बढी पाएको थियो। 

गत स्थानीय निर्वाचनमा लम्जुङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनको भन्दा ७७ मत बढी ल्याएको थियो । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले १४ हजार ४ सय २६ र वाम गठबन्धनले १४ हजार ३ सय ४९ मत पाएका थिए। 

यस्तै, लमजुङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) वाम गठबन्धन बलियो देखिन्छ । यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले २० हजार २ सय ९८ र लोकतान्त्रिक गठबन्धनले १८ हजार ९ सय ७८ पाएका थिए । लोकतान्त्रिकको भन्दा वाम गठबन्धनको १ हजार ३ सय २० मत बढी थियो। 

बागलुङ 

बागलुङबाट प्रतिनिधिसभामा २ जना र प्रदेशसभामा ४ जनाले प्रतिनिधित्व गर्नेछन् । जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । स्थानीय निर्वाचनमा ४ स्थानीय तहमा एमाले, ४ मा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चा एक÷एक तहमा विजयी बनेका थिए । स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखलाई  जिल्लामा कुल ९७ हजार ९ सय ९३ मत खसेको थियो । त्यसमध्ये वाम गठबन्धनले ४८ हजार ७ सय ७२ र लोकतान्त्रिक गठबन्धनले ४१ हजार ७ सय १० मत पाएको देखिन्छ। 

बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा लोकतान्त्रिक गठबन्धन बलियो देखिएको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनको भन्दा १ हजार ८ सय १५ बढी मत पाएको थियो । यहाँ लोकतान्त्रिक गठबन्धनले २३ हजार ४ सय १२ र वाम गठबन्धनले २१ हजार ५ सय ९७ मत पाएका थिए । 

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ मा वाम गठबन्धन मजबुत देखिन्छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनले २७ हजार १ सय ७५ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले १८ हजार २ सय ९८ । वाम गठबन्धन स्थानीय निर्वाचनमा यस क्षेत्रमा लोकतान्त्रिक भन्दा ८ हजार ८ सय ७७ मतले अगाडि थियो। 

बागलुङमा प्रदेशसभाका लागि हुने चार क्षेत्रको निर्वाचनमा ३ मा वाम गठबन्धन र एकमा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ । गत स्थानीय निर्वाचनमा बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा वाम गठबन्धनले भन्दा लोकतान्त्रिक गठबन्धनले २ हजार ६ सय १५ मत बढी ल्याएको थियो । यहाँ लोकतान्त्रिक गठबन्धनले १२ हजार ३ सय ६ र वाम गठबन्धन्ले ९ हजार ६ सय ९१ मत पाएका थिए । बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धन बलियो देखिएको छ । यस क्षेत्रमा स्थानीय निर्वाचनमा वाम गठबन्धनले ११ हजार ९ सय ६ र लोकतान्त्रिक गठबन्धनले ११ हजार १ सय ६ मत पाएका थिए । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ८ सय बढी मत पाएको थियो। 

बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (क) मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ४ हजार ९ सय १३ बढी मत पाएको थियो । यस क्षेत्रमा वाम गठबन्धनले १६ हजार १ सय ४३ र लोकतान्त्रिक गठबन्धनले ११ हजार २ सय ३० मत पाएका थिए । प्रदेभसभा निर्वाचन क्षेत्र नं.२ (ख) मा पनि वाम गठबन्धन नै बलियो देखिएको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनले ११ हजार ३२ पात पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ७ हजार ६८ । यहाँ लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ३ हजार ९ सय ६४ मत बढी ल्याएको थियो । 

म्याग्दी

म्याग्दीबाट प्रतिनिधिसभामा १ जना र प्रदेशसभामा २ जना उम्मेदवार निर्वाचित हुनेछन् । म्याग्दीमा एक नगारपालिका र पाँच गाउँपालिका गरी ६ स्थानीय तह छन् । स्थानीय निर्वाचनमा ६ मध्ये ४ मा कांग्रेस र २ मा एमाले विजयी भएको थियो । जिल्लामा बढी स्थानीय तह कांग्रेसले जिते पनि समग्रमा बढी मत भने वाम गठबन्धनमा रहेका पार्टीमा झरेको देखिन्छ । त्यसैले म्याग्दीमा लोकतान्त्रिकको तुलनामा वाम गठबन्धन केही मजबुत देखिएको छ । म्याग्दीमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखलाई कुल ४२ हजार ९ सय ५९ मत झरेको थियो । वाम गठबन्धनले २६ हजार ३ सय ७४ र लोकतान्त्रिक गठबन्धनले १६ हजार १ सय ६४ मत पाएका थिए । लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनले १० हजार २ सय १० मत बढी पाएको देखिन्छ। 

प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ वाम गठबन्धन मजबुत देखिएको छ। 

म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा भने लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ । गत स्थानीय निर्वाचनमा यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनको भन्दा १ हजार ६ सय ५१ मत बढी ल्याएको थियो । लोकतान्त्रिक गठबन्धनले १३ हजार ४ सय ५८ र वाम गठबन्धनले ११ हजार ८ सय ५ मत पाएका थिए। 

म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनको पकड बलियो छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनले १४ हजार ५ सय ६७ र लोकतान्त्रिक गठबन्धनले २ हजार ७ सय ६ मत पाएका थिए । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ११ हजार ८ सय ६१ बढी मत पाएको थियो। 

मुस्ताङ 

सबैभन्दा कम मतदाता रहेको जिल्लामध्ये एक हो मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जनाले प्रतिनिधित्व गर्नेछन् । मुस्ताङमा ५ वटा गाउँपालिका रहेका छन् । स्थानीय निर्वाचनमा ३ वटामा कांग्रेस, एकमा एमाले र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । मुस्ताङमा गत स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुख तथा नगरपालिका प्रमुखका लागि ६ हजार १ सय १४ भोट खसेको थियो । प्रतिनिधिसभाका लागि एक सिट रहेको मुस्ताङमा लोकतान्त्रिक गठबन्धनले २ हजार ६ सय ५ मत पाएको थियो भने वाम गठबन्धनले २ हजार २३ । वाम गठबन्धनको तुलनामा लोकतान्त्रिकले मुस्ताङमा ५ सय ८२ मत प्राप्त गरेको थियो। 

स्थानीय निर्वाचनमा प्राप्त मत परिणालाई आधार बनाउँदा मुस्ताङका दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये लोकतान्त्रिक र वाम गठबन्धको पकड एकएक क्षेत्रमा देखिन्छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा लोकतान्त्रिकको पकड राम्रो रहेको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनको भन्दा ६ सय ९८ मत बढी पाएको थियो । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले ८ सय ६ र वाम गठबन्धनले १ सय ८ मत प्राप्त गरेका थिए । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धन केही मजबुत रहेको छ । यो क्षेत्रमा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले १ हजार ९ सय १५ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले १ हजार ७ सय ९९ । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १ सय १६ मत बढी पाएको थियो। 

मनाङ 

सबैभन्दा कम मतदाता भएको जिल्ला हो – मनाङ । चार वटा गाउँपालिका रहेको मनाङबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जनाले प्रतिनिधित्व गर्नेछन् । स्थानीय निर्वाचनमा एमाले र कांग्रेसले दुई÷दुई स्थानीय तह जितेका थिए । मनाङमा स्थानीय चुनावमा गाउँपालिका अध्यक्षलाई २ हजार ५ सय मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले १ हजार ३ सय ३९ र लोकतान्त्रिक गठबन्धनले १ हजार २ सय १९ मत प्राप्त गरेका थिए । मनाङमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १ सय २० मत बढी पाएको थियो। 

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा लोकतान्त्रिक उम्मेदवार मजबुत देखिन्छन् । स्थानीय निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको भन्दा लोकतान्त्रिक गठबन्धनले ४६ मत बढी पाएको थियो । यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले ७ सय ५८ र वाम गठबन्धनले ७ सय १२ मत पाएका थिए । यस्तै, मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धन मजबुत देखिएको छ । यस क्षेत्रमा स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १ सय ६६ बढी मत पाएको थियो। 

प्रकाशित: १४ कार्तिक २०७४ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App