coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दोलखामा कसले मार्ला बाजी ?

दोलखा – बहुदल आएयता प्रायः चुनावमा कम्युनिस्टको पल्ला भारी हुनेगरेको दोलखामा यसपालि भने कांग्रेस र कम्युनिस्टबीच रोचक प्रतिस्पर्धा देखिँदैछ। 

यसअघि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा बहुदलयताका ५ चुनावमध्ये २०५१ मा क्षेत्र नं. १ कांग्रेस र २०६४ मा दुवै क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । त्यसबाहेक २०५१ मा क्षेत्र नं. २ सहित अन्य संसदीय चुनाव एमालेले जितेको थियो। 

दोलखाको राजनीतिमा पञ्चायतकालम खड्का र उप्रेती हाबी थिए । बहुदल कालमा कम्युनिस्ट सशक्त हुनुमा पञ्चायतकालमा हाल राष्ट्रिय तहमा प्रभावशाली रहेका कम्युनिस्ट नेताले दोलखालाई केन्द्र बनाएर गरेको भूमिगत संगठन कारण थियो । त्यतिमात्र नभएर बहुदल कालमा दोलखामा एमालेले गरेको एनजिओ खेती पनि अर्को कारण रहेको बुझाइ स्थानीयको छ। 

९ गाउँपालिका रहेको जिल्लाबाट एकजना प्रतिनिधिसभा सदस्य र दुईजना प्रदेशसभा सदस्य चुनिनेछन् । गौरीशंकर, वैत्येश्वर, तामाकोसी, मेलुङ गाउँपालिका र जिरी नगरपालिका प्रदेशसभा (क) मा र बिगु, कालिञ्चोक, सैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिका प्रदेशसभा (ख) मा छन् ।

प्रतिनिधिसभा सदस्य र प्रंदेशसभा सदस्य (ख) नेकपा एमाले र प्रदेशसभा सदस्य (क) नेकपा माओवादी केन्द्रले बाँडेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसले तीनवटै पदमा एक्लै उम्मेदवारी दिएको छ । कांग्रेसलाई राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतको साथ छ। 

प्रतिनिधिसभाका लागी कांग्रेसले पार्टी सभापति रुद्रबहादुर खड्कालाई मैदानमा उतारेको छ भने वाम गठबन्धनका तर्फबाट पूर्वसांसद एवं एमाले केन्द्रीय सदस्य पार्वत गुरुङ मैदानमा छन् । यो पदमा विवेकशील साझासहित केही साना दलले समेत उम्मेदवारी दिएका छन् । यस्तै बुथ प्रतिनिधि राख्न र मतगणनामा आफूनिकटका प्रतिनिधि थप्न सजिलो हुने भन्दै मुख्य प्रतिस्पर्धी खड्का र गुरुङले नै केही कार्यकर्तालाई स्वतन्त्र उम्मेदवारी हाल्न लगाएका छन्। 

उता प्रदेशसभा (क) मा कांग्रेसले जिल्ला नेता बर्मा लामालाई मैदानमा उतारेको छ भने वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता विशाल खड्का प्रतिस्पर्धा गर्दैछन् । प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट एमालेले पोलिटब्युरो सदस्य पशुपति चौलागाईंलाई उतारेको छ भने कांग्रेसका तर्फबाट महासमिति सदस्य केशवराज चौलागाईं प्रतिस्पर्धामा छन् । यही प्रदेशमा एमाले उम्मेदवार चौलागाईंविरुद्ध उनकै दलका पुराना नेता एवं पूर्व जिविस सभापति लालकुमार केसीले नेकपा मालेका तर्फबाट उम्मेदवारी दिएका छन्। 

प्रतिनिधिसभामा रोचक प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका खड्का र एमालेका गुरुङबीच नै मुख्य प्रतिस्पर्धा छ । दुवैबीच कडा टक्कर छ । खड्का र गुरुङ कुनै बेलाका व्यावसायिक साझेदार हुन् । २०४९ मा कांग्रेसका तर्फबाट जिविस सभापति बनेर ५ वर्ष जिल्ला हाँकेका खड्का जिल्लामा लोकप्रिय छन् । दोलखा एमालेभित्रको राजनीतिमा पछिल्लो पुस्तामाझ एक दशकअघि मात्र एकैपटक प्रभावशाली बनेर उदाएका गुरुङ राजनीतिमा कनिष्ट भए पनि २०७० मा चुनाव जितेका कारण उत्तिकै लोकप्रिय छन् । दुवै गौरीशंकर गाउँपालिकाका हुन् । सुरी गाउँका गुरुङ त्यहाँका पुराना नेता मकरध्वज गुरुङका छोरा हुन् । झ्याँकु गाउँका खड्का २२ वर्षको उमेरदेखि नै राजनीति गरेका पुराना नेता हुन् । उनी ३२ वर्षको उमेरमा जिल्ला विकास समितिको सभापति बनेका थिए । 

बहुदल आएपछिको सुरुवाती दिनमा जिल्लाको विकास निर्माणको ढोका खोल्ने बागडोर सम्हालेर काम गरेका कारण खड्का चर्चित छन् भने गुरुङ पार्टीअध्यक्ष हुँदा गरेको केही सामाजिक कामका कारण चर्चित छन् । 

एमाले र माओवादीबीच गठबन्धन भए पनि दोलखामा द्वन्द्वकालमा माओवादीका कारण सबैभन्दा धेरै पीडा एमालेका कार्यकर्ताले बेहोर्नुपरेको साथै शान्तिप्रक्रियायता एमाले र माओवादीबीचको

टकरावका कारण माओवादीतर्फको मत गुरुङले भन्दा आफूले बढी पाउने आश खड्काले लिएका छन्  । शेर्पा समुदायसँग विवाह गरेका खड्का माथिल्लो भेगमा रहेका शेर्पा साथै गुरुङलगायतका आदिवासी जनजातिको मत तान्ने ध्याउन्नमा छन् । उता गुरुङ आफैं जनजाति भएको र २०७० मा समेत मत पाएर जितेका कारण जनजातिको समर्थन आफैंले पाउनेमा ढुक्क छन् । 

गौरीशंकर र बिगु गाउँपालिकामा बाहुल्य रहेको खड्का समुदायको समर्थन पाउनेमा खड्काको आशा छ । गुरुङ भने सो क्षेत्रमा आफ्नो पकड जमाउन लागिपरेका छन् । जिरीमा व्यवसाय गरेर लामो समय बसेका खड्का जिरीआसपासको मत पाउनेमा ढुक्क छन् । उता गुरुङ माओवादीको सहयोग लिएर जिरी नगरपालिकाको मत आफैंतिर तान्ने ध्याउन्नमा छन् । प्रतिनिधिसभाका लागि मेलुङ, तामाकोसी, वैत्येश्वर, भीमेश्वर, सैलुङ र कालिञ्चोकका मतदाता निर्णायक हुन सक्छन् । 

प्रदेश (क) मा अझ बढी टक्कर

प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विशाल खड्का र कांग्रेसका बर्मा लामाबीच कडा टक्कर छ । एमाले र माओवादीको अत्यधिक टकराव रहेको यो क्षेत्र माओवादीलाई दिइएका कारण एमालेभित्र असन्तुष्टि देखिन्छ । यो क्षेत्रका चर्चित एमाले नेता बुद्धिमान पाख्रिनको द्वन्द्वकालमा माओवादी कार्यकर्ताले हत्या गरेका थिए । गत स्थानीय निर्वाचनमा पनि विशालकै गाउँ जुगुका एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या भएपछि माओवादी केन्द्रका ३९ जना जिल्ला नेताविरुद्ध एमालेले दायर गरेको हत्या मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । मुद्दा खेप्नेमा वाम गठबन्धनको उम्मेदवार रहेका विशाल पनि छन् । 

दुई दलबीचको यस्तो टकरावले आफूलाई फाइदा हुने कांग्रेसको विश्लेषण छ । लामा एमाले कार्यकर्तालाई माओवादीले सबैभन्दा बढी सताएको क्षेत्र भएका कारण एमाले कार्यकर्ताको समर्थन आफूले पाउनेमा ढुक्क छन् । यद्यपि कांग्रेसले यो क्षेत्रका ५ मध्ये एउटा गाउँपालिका जितेको, मेलुङ, तामाकोसी र वैत्येश्वरका अधिकांश स्थानमा आफ्नो बलियो संगठन नै जितको आधार रहेको दाबी बर्माको छ । उता माओवादी केन्द्रका विशाल भने एमालेबाट आफूलाई धोका नहुने विश्वासका साथ चुनाव जित्नेमा ढुक्क छन् । 

प्रदेश (ख) मा एमालेलाई बागीको तगारो

प्रदेश (ख) मा विगतदेखि नै एमाले बलियो देखिँदै आए पनि यसपटक यो पार्टीका उम्मेदवारका लागि एमालेकै पुराना नेता लालकुमार केसी तगारो बनेका छन् । सुरुमा प्रतिनिधिसभामा दाबी गरेका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं प्रदेशको सिटमा आएर चुनाव लडेपछि असन्तुष्ट बनेका पूर्व जिविस सभापति केसीले नेकपा मालेबाट उम्मेदवारी दिए । 

केसी बिगु गाउँपालिकाका हुन् । उत्तरमा पर्ने बिगु र कालिञ्चोक गाउँपालिकाबाट उनले ४ हजार मत कटाउन सक्ने आकलन कतिपयको छ । यो क्षेत्रमा भीमेश्वर नगरपालिकाको मत करिब बराबरजस्तै हुन्छ । सैलुङ गाउँपालिका, भीमेश्वर र कालिञ्चोकको गठबन्धनभित्रको मत र बिगुको बहुमत मतले जित्नेमा पशुपति ढुक्क छन् । तर सैलुङ गाउँपालिकामा कांग्रसभित्रको द्वन्द्व समाधान गरेर र भीमेश्वर नगरपालिकामा केही सुधार गर्नुका साथै कालिञ्चोकमा पार्टीको मत जोगाएमा आफूले जित्नेमा कांग्रेस उम्मेदवार केशवराज ढुक्क छन्।

प्रकाशित: १३ कार्तिक २०७४ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App