१६ चैत्र २०८० शुक्रबार
राजनीति

उदयपुरमा कांग्रेसलाई साख बचाउने चुनौती

कांग्रेस उम्मेदवार खड्का ।

उदयपुर- लगातार २ पटक चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कालाई आउँदो संघीय प्रतिनिधिसभा चुनाव ‘फलामको च्युरा’ सावित हुने अनुमान गरिएको छ। डा. खड्काले ०६४ र ०७० को दुईवटै संविधानसभा चुनावमा प्रतिस्पर्धी एमाले र माओवादीलाई फराकिलो अन्तरले पराजित गर्न सफल भएका थिए।

कांग्रेसले निवर्तमान सांसद खड्कालाई साविककै निर्वाचन क्षेत्र १ मा उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । २ मा अर्का निवर्तमान सांसद नारायण कार्कीलाई उठाउने तय गरेको छ । गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेद्वार बन्नेको नाम टुंगो भने लाग्न बाँकी छ। खड्काको प्रतिस्पर्धीका रुपमा माओवादीका स्थायी समिति सदस्य सुरेश राई (हिमाल) र एमाले वैकल्पिक केन्द्रीय सदस्य मञ्जु चौधरीमध्ये एक चुनावी मैदानमा उत्रने निश्चित छ । उनीहरुमध्ये को उम्मेद्वार बन्ने भन्ने कुराको छिनोफानो आईतबारभित्रै हुने गठबन्धन स्रोतले जनाएको छ।

तर, उम्मेद्वार जो भए पनि आउँदो मंसिर २१ गते हुन गईरहेको दोस्रो चरणको संघीय प्रतिनिधिसभा चुनावमा बामपन्थी तालमेलका कारण खड्कालाई ह्याट्रिक गर्न भने गाह्रो छ । उनलाई मात्र हाईन, सिंगो नेपाली कांग्रेसलाई नै उदयपुरमा बाम गठबन्धन्धनको चर्को सामना गर्नुपर्ने देखिन्छ । ०७० को संविधानसभा चुनावमा दुईवटै निर्वाचन क्षेत्र कब्जा जमाउन सफल कांग्रेसलाई गत स्थानीय तह चुनावको मत परिणामले वाम तालमेलको प्रतिस्पर्धामा खरो उत्रिन कठिनाई पर्ने देखिएको हो।

असार १४ गते सम्पन्न स्थानीय तह चुनावको मत परिणाम अनुसार कांग्रेसभन्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त मतसंख्या झण्डै दोब्बर रहेको छ । यही आधारमा आउँदो चुनावमा मत खस्ने हो भने कांग्रेसका उम्मेद्वारलाई चुनाव जित्न निकै कठिन हुने स्थानीय नेता कार्यकर्ताहरुको विश्लेषण छ।

४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा अहिले २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको छ । जस अनुसार १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ३ वटा नगरपालिकाहरु सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका समेटिएको छ । २ नम्बरमा सुनकोसी, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिका तथा कटारी नगरपालिका रहेका छन्।

त्यसैगरी प्रदेशसभातर्फ चौदण्डीगढी र बेलका नगरपालिकालाई क र त्रियुगालाई ख निर्वाचन क्षेत्र कायम गरिएको छ । सुनकोसी, रौतामाई र उदयपुरगढी गाउँपालिकालाई २ नम्बरको क र ताप्ली गाउँपालिका र कटारी नगरपालिकालाई समेटेर ख प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको छ ।

गत चुनावमा १ नम्बरको क अन्तरगत बेलका र चौदण्डीगढी नगरपालिकामा खसेको मत संख्या एमाले र माकेको जोड्दा ८ हजार ५ सयले बढी छ । २ वटा नगरपालिकामा खसेको एमाले र माकेको संख्या २० हजार ७ सय ५० हो भने कांग्रेसको १२ हजार १ सय ६६ मत मात्र। स्थानीय तह चुनावमा बेलकामा मेयर, उपमेयर र बहुमत वडाध्यक्ष एमालेले जितेको थियो भने चौदण्डीगढीमा १० वडामध्ये एउटाबाहेक मेयर उपमेयरसहित वडाध्यक्ष कांगे्रसले जितेको थियो ।

त्यस्तै मेयर र बहुमत वडाध्यक्ष एमालेले जितेको १ नम्बरको ख क्षेत्र बनाइएको त्रियुगामा उममेयरसहित दोस्रो संख्यामा वडाध्यक्ष जितेको कांग्रेसकोभन्दा बाम गठबन्धनको मत संख्या झण्डै ८ हजारले बढी छ। त्रियुगामा कांग्रेसले पाएको मत संख्या ११ हजार २ सय ९६ हो भने एमाले र माकेको मतसंख्या १९ हजार १७ हो । यो आधारमा १ नम्बर क्षेत्र प्रतिनिधिसभामा बाम गठबन्धनको मतसंख्या ३९ हजार ७ सय ६७ हुन आउँछ जव की कांग्रेसको मतसंख्या २३ हजार ४ सय ६२ मात्र।

          २ नम्बर प्रतिनिधिसभामा पनि स्थानीय तह चुनावमा गठबन्धन र कांग्रेसबीच खसेको मतान्तर उत्तिकै फरक रहेको छ । १ नगरपालिका र ४ गाउँपालिका समेटिएको २ नम्बर निर्वाचन क्षेत्रमा सुनकोसीको उपाध्यक्षबाहेक ५ वटै स्थानीय तहमा कांग्रेस एमालेभन्दा पछाडि रहेको छ भने माओवादी केन्द्र तेस्रो भएको छ । त्यहाँको मतान्तर गठबन्धनको मत कांग्रेसभन्दा झण्डै दुईतिहाईले कमी छ । एमाले र माकेको मतसंख्या ३० हजार ३ सय १८ छ भने कांग्रेसको १२ हजार ९ सय ३५ खसेको थियो ।

२ नम्बरको प्रदेशसभा क अन्तर्गत सुनकोसी, उदयपुरगढी र रौतामाईमा दोब्बरभन्दा बढी कांग्रेसको भन्दा गठबन्धनको मत खसेको छ । गठबन्धनको मतसंख्या १४ हजार २ सय ८७ हो भने कांग्रेसको ६ हजार २० मत खसेको थियो । त्यस्तै प्रदेशसभा ख को कटारी नगरपालिका र ताप्ली गाउँपालिकाको संयुक्त मत कांग्रेसभन्दा गठबन्धनको झण्डै दोब्बर खसेको थियो । कांग्रेसले सो क्षेत्रमा ६ हजार ९ सय १५ पाएको थियो भने गठबन्धनले १६ हजार ३१ मत पाएको थियो ।

माथिको मतसंख्यालाई आधार मान्ने हो भने कांग्रेसलाई आउँदो चुनावमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न गाह्रो देखिन्छ । प्रजातान्त्रिक गठबन्धनका राष्ट्रिय प्रजातान्त्र पार्टी, संघीय समाजबादी फोरम, कांग्रेसमा विलय भएको विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता दल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा खसेको मत जोड्दा पनि वाम गठबन्धनको मतसंख्या नै पल्लाभारी देखिन्छ। 

वाम गठबन्धनबाट कसले टिकट पाउने भन्ने यकिन भईनसके पनि जिल्लाको चुनावी राजनीतिक जोडघटाउले भने उदयपुर तातिसकेको अवस्था छ । बहुदलीय व्यवस्थाको सुरुवातीताका २ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा ०४८ सालदेखि नै एमालेले जित्दै आएको हो । ०४८ पछि ०५१ को मध्यावधि जितेको एमालेले ०५४ को स्थानीय निकायमा दुई तिहाई जितेको थियो ।

०५६ को संसदीय चुनावमा पनि दुवैक्षेत्र एमालेकै कब्जामा परेको उदयपुरमा ०६४ को पहिलो संविधानसभा चुनावमा ३ निर्वाचन क्षेत्र बन्न पुग्यो । त्यो बेला भने १ नम्बरमा कांग्रेसका खड्का र बाँकी २ मा माओवादीका क्रमशः मणि खम्बु किराती र मोहन खत्रीले बाजी मारेका थिए । ०७० को चुनावमा फेरि २ वटै निर्वाचन क्षेत्रमा खुम्चिएको जिल्लामा १ नम्बरमा पुनः खड्का र २ मा पनि कांग्रेसकै नारायण कार्कीले चुनाव जितेका थिए । 

कांग्रेसी नेताहरुलाई भने अन्तर्घात नभएमा चुनाव जित्न सहजै सकिने कुरामा विश्वस्त रहेका छन् । पार्टी सभापति विदुर बस्नेत वाम गठबन्धन भए पनि चुनाव जित्न गाह्रो नहुने तर, अन्तर्घात भने हुन नहुने बताउँछन्। यसअघि जति पनि कांग्रेसले चुनाव हारेको कारण सबै अन्तर्घात कै नतिजा भएको उनको ठहर छ । पार्टी २ नम्बर (हाल १ मा समाहित) क्षेत्रीय सभापति बसन्त बस्नेत र त्रियुगा नगर सभापति सरोज बस्नेत पनि यस कुरामा सहमत छन् ।

‘०४८ को संसदीय चुनावदेखि ०७४ को स्थानीय तह चुनावसम्ममा कांग्रेस हार्नुमा अन्तर्घातकै कारण हो’ नगर सभापति बस्नेत भन्छन् ‘कांग्रेसलाई हराउने भनेको कांग्रेसले मात्र हो, बाम गठबन्धनले हराउन सक्दैन ।’ धेरै कांग्रेसीमा यस्तो धारणा रहे पनि पछिल्लो चुनावमा खसेको मतको आाधारमा वाम गठबन्धन भने हौसिएर टिकटको लडाईमा न्वारानदेखिको बल निकालेर जुटेको छ।

 

प्रकाशित: १२ कार्तिक २०७४ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App