७ वैशाख २०८१ शुक्रबार
राजनीति

ठाकुरलाई मुख्यमन्त्री प्रस्ताव

काठमाडौं – संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्री प्रस्ताव गरेको छ । फोरम र राजपाका नेताहरूले २ नम्बर प्रदेशको मुख्यमन्त्री फोरम–राजपा गठबन्धनले पाउनुपर्ने अडान नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनसँग राखेका छन् । यसमा कांग्रेस पनि सहमत हुने विश्वास राजपा नेताहरूको छ। 

राजपा नेता सर्बेन्द्रनाथ शुक्लले २ नम्बर प्रदेशमा संघीय फोरम र राजपाले ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको  बताए । ‘२ नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागि सबैभन्दा उपयुक्त व्यक्ति महन्थ ठाकुर भएको हाम्रो बुझाइ रहेको छ,’ शुक्लले भने, ‘त्यसैलै हामीले उहाँलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका हौं ।’ यो  प्रस्तावमा कांग्रेस सहमत हुने दाबी उनले गरे । ‘२ नम्बर प्रदेशमा हाम्रो बहुमत पुग्छ । त्यसैले हाम्रो यो प्रस्तावमा कांग्रेस सहमत नहुने कुरै छैन,’ उनले भने। 

यसैगरी राजपाका अर्का नेता बृषेसचन्द्र लालले ठाकुरलाई मुख्यमन्त्रीको प्रस्तावको कुरा आए  पनि टुगों नलागेको बताए । ‘उहाँ (ठाकुर) लाई मुख्यमन्त्री बनाउने कुरा आएको छ । तर यसबारेमा टुगों लागेको छैन,’ उनले भने।

राजपा प्रवक्ता सन्तोष मेहेताले भने ठाकुरलाई मुख्यमन्त्रीको प्रस्ताव कांग्रेसबाट आएको बताए । ‘हाम्रा अध्यक्षलाई मुख्यमन्त्रीको प्रस्ताव कांग्रेसबाट आएको हो तर यसबारे टुंगो लागेको छैन,’ उनले भने । राजपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक प्रारम्भिक सूचीमा ठाकुरको नाम  पहिलो नम्बरमा छ । राजापका केही नेताले ठाकुरलाई प्रत्यक्ष्य चुनाव लड्न दबाब दिइरहेका छन् । मुख्यमन्त्रीमा ठाकुरको नाममा सहमति भए उनी  प्रदेशसभा सदस्यमा जानुपर्ने हुन्छ।   

स्रोतका अनुसार राजपा–फोरम नेपालका नेताले कांग्रेसँग २ नम्बरमा प्रदेशमा मुख्य  मन्त्री  र ५ नम्बर प्रदेशमा उपमुख्यमन्त्री आफूहरूले पाउनुपर्ने माग राखेका छन् । 

दुईतिहाइ दाबीबाट ब्याक
संघीय समाजवादी फोरम र राजपाका नेताहरू २ नम्बर प्रदेशमा चुनावी तालमेल गर्दा आफूहरूलाई दुईतिहाइ सिट दिनुपर्ने दाबीबाट पछि हटेका छन् । यसअघि उनीहरूले लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको कांग्रेससँग २ नम्बर प्रदेशमा ३२ सिटमध्ये २४ सिट पाउनुपर्ने दाबी गरेका थिए । तर बिहीबार कांग्रेससँगको बैठकमा फोरम–राजपा नेताहरू दुईतिहाइको दाबीबाट पछि हट्ने संकेत गरेका हुन् । बैठकमा फोरम–राजपाका नेताहरूले २ नम्बर प्रदेशका ३२ सिटमध्ये १२ कांग्रेसलाई दिन सक्ने बताएको सहभागी एक नेताले जानकारी दिए । बैठकमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काले सिट बाँडफाँटबारे बिहीबारको बैठकमा कुनै सहमति नभएको बताए । मधेसका २० जिल्लामा लोकतान्त्रिक गठबन्धन दलका शीर्ष नेताको हकमा तालमेल गर्नेबारे  सैद्धान्तिक सहमति भएको नेताहरूले बताएका छन् । 

प्रकाशित: १० कार्तिक २०७४ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App