१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश ७ का ४ जिल्लामा बाम गठबन्धन बलियो

बाजुरा— सुदूरपश्चिम हालको ७ नम्बर प्रदेश काँग्रेसको पकेड क्षेत्रमा रुपमा तिनिर्दै आएको छ। २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले पकड विस्तार गरे पनि पहिलो पार्टी काँग्रेस नै हुने गरेको थियो।

असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनबाहेक काँग्रेस पहिलो शक्ति हो, ७ नम्बर प्रदेशमा। ८८ वटा स्थानीय तह मध्ये एमाले ३९ र काँग्रेसले ३८ स्थानमा जित हात पारेका थिए। तर आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा भने ७ नम्बर प्रदेशका चार जिल्लामा बाम गठबन्धन बलियो देखिएको छ। स्थानीय तहको मत संख्या हेर्दा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठनबन्धन भन्दा बाम गठबन्धन निकै बलियो छ।

बाजुरामा ९ स्थानीय तहमध्ये ६ तहमा काँग्रेस र ३ तहमा एमालेले जितेको छ। एक्लाएक्लै बलियो देखिएको काँग्रेसलाई गठबन्धनले बाजुरामा पनि कामजोर बनाएको छ। जिल्लामा कम्युनिष्ट गठबन्धनका पक्षमा २७ हजार ४८० मत छ।

पछिल्लो निर्वाचन परिणामले कांग्रेसको पक्षमा २२ हजार ७९२ मत देखाएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले २२ हजार ७९२, एमालेले २२ हजार ५५ र माओवादीले ४ हजार ४२५ मत ल्याएका थिए। दार्चुलामा ९ वटा स्थानीय तह मध्ये गत असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनमा दार्चुलाका ९ स्थानीय तह मध्ये नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हात पारेको थियो।

स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार दार्चुलामा सत्तारुढ काँग्रेसभन्दा कम्युनिष्ट गठबन्धन बलियो देखिएको छ। दार्चुलामा वाम गठबन्धनका पक्षमा २९ हजार ७३८ मत रहेको छ।

स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार एक्ला–एक्लै कांग्रेस बलियो भए पनि एमाले–माओवादी गठबन्धनका कारण कमजोर देखिएको हो। काँग्रेसले स्थानीय तह निर्वाचनमा २२ हजार १६१ मत ल्याउँदा एमालेले २० हजार ६२६ र माओवादीले ९ हजार ११२ मत पाएका थिए।

यस्तै बैतडीमा १० वटा स्थानीय तह रहेकोमा काँग्रेस ६, एमालेले ३ र माओवादीले १ तहमा जित हासिल गरेको थियो। स्थानीय तह निर्वाचनको परिणामअनुसार बैतडीमा पनि गठबन्धन बलियो देखिन्छ। स्थानीय तहको निर्वाचन परिणामले कम्युनिस्ट गठबन्धनको पक्षमा ४६ हजार १०८ मतदाता रहेको देखाएको छ। राप्रपासँग तालमेल गरेको काँग्रेससँग ३३ हजार चार सय ९१ मत रहेको छ।

स्थानीय तह निर्वाचनमा बैतडीबाट एमालेले सबैभन्दा बढी २७ हजार ३८९ मत, काँग्रेसले २७ हजार ८७ मत, माओवादीले १८ हजार ७१९ मत र राप्रपाले ६ हजार ४०४ मत पाएका थिए।
बझाङमा १२ स्थानीय तह रहेकोमा ८ एमाले र ४ तहमा काँग्रेस विजयी भएको थियो। पछिल्लो चुनावको मत परिणामअनुसार काँग्रेसको तुलनामा एक्लै बलियो देखिएको एमालेलाई गठबन्धनले झनै मजबुत बनाएको छ।

बझाङमा पनि स्थानीय तहको मतलाई हेर्दा काँग्रेसभन्दा १५ हजारभन्दा बढी मत कम्युनिष्ट गठबन्धनको रहेको छ। बझाङको कुल मतदाता संख्या मध्ये वाम गठबन्धनसँग ४० हजार ७२२ र कांग्रेससँग २५ हजार ५८१ मत छ। स्थानीय तह निर्वाचनमा एमालेले २८ हजार ५८९ र माओवादीले १२ हजार १३३ मत ल्याएका थिए।

स्थानीय तहको वडा स्तरमा चुनाव लड्ने व्यक्तिको प्रभावका कारण मत घटबढ हुने भएकाले कसले बाजी मार्ला भन्ने अनुमान लगाउन भने सहज नभएको जानकारहरु बताउँछन्।

७ नम्बर प्रदेशमा पहिलो चरण अन्तर्गत हुन गइरहेका जिल्लाहरुबाट राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका तीन जना नेताहरु यस पटक प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन्। दार्चुलाबाट चुनाव लड्दै आएका काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू, बाजुराबाट राजनीतिक उचाई लिएका काँग्रेसकै बद्री पाण्डे र एमालेका कर्ण थापा प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका हुन्। उनीहरु तीनै जनालाई सम्बन्धित पार्टीहरुले समानुपातिकतर्फ सिफारिस गरेका छन्।

प्रकाशित: ८ कार्तिक २०७४ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App