१६ चैत्र २०८० शुक्रबार
राजनीति

६ जिल्लामा बागी

काठमाडौंं- चुनावी परिणाम आफ्नो पक्षमा पार्न तालमेल गरेका प्रमुख दलमा आन्तरिक व्यवस्थापन गर्न नसक्दा असन्तुष्टि चुलिएको छ ।परिणामस्वरुपरामेछाप, ओखलढुंगा, मनाङ, जाजरकोट, मुगु र बझाङ जिल्लामा विद्रोही उम्मेदवारी परेको छ ।
रामेछापमा माओवादी केन्द्रकी पूर्वसांसद लक्ष्मी गुरुङ आफ्नै दलका उम्मेदवार बिनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध उम्मेदवार बनेकी छिन् ।पहिलो संविधानसभामा समानुपातिकतर्फकी सांसद गुरुङ दोस्रो सविधानसभा चुनावमा रामेछाप–१ मा पराजित भएकी थिइन् । यस्तै प्रदेशसभातर्फ(क) मा माओवादीका जिल्ला नेता हेमन्त पौडेल र (ख)मा मदनकुमार मोक्तानले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ती क्षेत्रमा क्रमशः एमालेका शान्तिप्रसाद पौडेल र कैलाश ढुंगेल उम्मेदवार छन् ।
वामपन्थी गठबन्धनमा जाजरकोटमा सबैभन्दा ठूलो समस्या देखिएको छ । जाजरकोटका प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार रहेका पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।प्रदेशसभातर्फ एमालेका निरज आचार्य र करवीर शाहीकोे उम्मेदवारी परेको छ ।माओवादीका नरबहादुर कार्कीले शाहीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
राप्रपाबाट २०५६ सालमा जाजरकोटमा चुनाव जितेका शाहले दोस्रो संविधानसभा चुनावमा सोही दलबाट प्रतिस्पर्धा गरेका थिए । केही वर्षअघि मात्रै एमालेमा प्रवेश गरेका शाह जिल्लाका प्रभावशाली नेतामा पर्छन् ।
एमाले र माओवादीबीच हुम्ला र जाजरकोटमा अन्तिम समयमा साटफेर भएको थियो । हुम्ला एमालेका अध्यक्ष दलबहादुर रावललाई प्रदेससभाको(ख) निर्वाचन क्षेत्रमा टिकट दिएपछि असन्तुष्ट माओवादी नेतालालकेस जौसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । केन्द्रमा हुम्लामाप्रतिनिधिसभाको एक र प्रदेशसभाका दुवै निर्वाचन क्षेत्र माओवादीले लिने सहमति भएको थियो । सो विषयले एमालेभित्र ठूलो विवादको रुप लिएको थियो ।
मुगुमा एमालेले तीनवटै स्थान प्राप्त गरेपछि माओवादी नेताले त्यसविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी नेता सन्तोषकुमार मल्लले प्रतिनिधिसभा,मंगल शाहीले प्रदेशसभा(क) बाट र सुरतबहादुर बुढाले प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बझाङमा उम्मेदवारीको विषयमा नेकपा एमालेभित्र विवाद चर्किएको छ । वैकल्पिक केन्द्रीय सदस्य भैरवबहादुर सिंहलाई प्रतिनिधिसभातर्फ टिकट दिएपछि केन्द्रीय सदस्य भानुभक्त जोशी असन्तुष्ट बनेका छन् । जोशी आफैंले उम्मेदवारी नदिएपनिउनको निकटका गोपाल खड्का प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका छन् । त्यसैगरी प्रदेशसभाको(क) निर्वाचन क्षेत्रमा एमालेका गोपालबहादुर बोहोराले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मनाङमा एमालेबाट उम्मेदवारमा सिफारिस भएपनि टिकट नपाएका दीपक मनाङे भनिने राजीव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गुरुङको पृष्ठभूमिका कारण मनाङको (क) बाट एकल सिफारिस परे केन्द्रले उनलाई टिकट दिएको थिएन ।
मुस्ताङमा रोमी गौचन थकालीविरुद्ध पूर्वमन्त्री सुशील शेरचन नेपाली कांग्रेस बिपी नामको नयाँ दल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । शेरचन र गौचनबीच पुस्तौनी पारिवारिक विवाद छ । शेरचन यसअघि कांग्रेसबाट मन्त्री थिए ।
ओखलढुंगामा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । कांग्रेसका आधिकारिक उम्मेदवार प्रदीप सुनुवारविरुद्ध ज्ञानेन्द्र रुम्दालीको उम्मेदवारी परेको हो । त्यहाँटिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका ३१ नेताले राजीनामासमेत दिएका छन् ।
त्यसैगरी पूर्वी रुकुममा माओवादी केन्द्रले आफ्नै पार्टीभित्रविद्रोह सामना गर्नुपरेको छ । माओवादीका केन्द्रीय सदस्य तेजेन्द्र खाममगर र पुनिराज घर्तीलेस्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । खाममगरले प्रतिनिधिसभामा र घर्तीले प्रदेशसभाको क्षेत्र (क) मा उम्मेदवारी दिएका हुन् । गठबन्धनका तर्पmबाट प्रतिनिधिसभामा माओवादीका कमला रोकामगर र क्षेत्र (क) मा पूर्णबहादुर घर्ती उम्मेदवार छन् ।
एमाले सचिव प्रदीप ज्ञवालीले गठबन्धनभित्रको स्वतन्त्र उम्मेदवार समस्यासमाधान हुने विश्वास व्यक्त गरे । ‘केही स्थानमा कम्युनिकेसन ग्याप भएर पनि समस्या भएको हो । जाजरकोट र हुम्लाकोसिट साटासाटको निर्णय उम्मेदवारी दर्ता गर्ने बिहानमात्रै भएको हो । यसबारेमा जानकारी समयमै गराउन नसक्दा समस्या देखियो,’ ज्ञवालीले भने, ‘समस्या भएको स्थानमा छलफल भइसकेको छ । मनोनयन फिर्ता लिने समयसम्ममा लिनुहुन्छ ।’  निर्वाचन आयोगले पहिलो चरणको उम्मेदवारी फिर्ता लिन बुधबार बिहान १० बजेदेखि १ बजेसम्मका समय तोकेको छ । पार्टीको निर्देशन अवज्ञा गरेर अघि बढ्नेविरुद्ध कडा कारबाही हुने चेतावनी ज्ञवालीले दिए ।

प्रकाशित: ७ कार्तिक २०७४ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App