८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस–लोकतान्त्रिक फोरम एकीकरण घोषणा आज

काठमाडौं– नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आइतबार हुने भनिएको एकीकरण अन्तिम समयमा रोकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ दुई दलबीच एकीकरण गर्ने जनाइए पनि निर्वाचन आयोगमा समय दिनुपरेकाले एकीकरण घोषणा सोमबारका लागि सारिएको हो। 

दुवै दलका नेता समानुपातिकतर्फको सूचीलाई अन्तिम रुप दिन आयोगमा जानुपरेकाले एकता घोषणा सोमबार सारिएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘आइतबार नै दुई दलबीच एकीकरण घोषणा गर्ने तय भएको हो,’ उनले भने, ‘अब सोमबार बिहान ११ बजे एकीकरण घोषणा हुन्छ।’

कांग्रेस र फोरम लोकतान्त्रिकबीच आइतबार साढे पाँच बजे प्रधानमन्त्री निवासमा एकीकरणको समय तय भए पनि गच्छदारले कैलालीमा आफूनिकट दुई नेतालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए । सुरुमा उक्त प्रस्ताव अस्वीकार गरेको कांग्रेस पछि दुई सिट दिन सहमत भएको थियो । कैलालीको क्षेत्र विवाद समाधान भएपछि पौने आठ बजे फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारका साथै कांग्रेस केन्द्रीय सदस्य कार्की र शेखर कोइराला एकीकरण घोषणाका लागि बालुवाटार पुगेका थिए । तर, लगत्तै नेताहरु निर्वाचन आयोग जानुपर्ने भएकाले एकीकरण रोकिएको बताइएको छ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्रीका प्रमुख स्वीकय सचिव भानु देउवाले एकीकरणका लागि आइतबार ढिला भएकाले सोमबार सारिएको जानकारी दिए । ‘अहिले राति भयो,’ उनले भने, ‘भोलि गर्दा माहोल पनि बन्ने भएकाले सारिएको हो।’  

पहिलो संविधानसभा निर्वाचनको संघारमा २०६४ फागुनमा कांग्रेस छाडेर तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल प्रवेश गरेका गच्छदारले २०६६ मा उक्त दल विभाजन गर्दै फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यसको नेतृत्व गर्दै आएका गच्छदार १० वर्षपछि फेरि कांग्रेस फर्कन लागेका हुन् । उनलाई पार्टी महामन्त्रीको जिम्मेवारी दिने तयारी भए पनि प्रदेश र केन्द्रको निर्वाचनपछि मात्र आपसी समझदारीमा जिम्मेवारी बाँडफाँट गर्ने दुईदलीय एकीकरणको मस्यौदामा उल्लेख गरिएको छ। 

कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले तयार गरेको दुईदलीय एकीकरण मस्यौदामा प्रदेश, केन्द्र, राष्ट्रिय सभाका साथै पार्टी र भ्रातृ संगठनको संरचनामा आपसी समझदारी र छलफलका आधारमा समायोजन र प्रतिनिधित्व गर्ने उल्लेख छ। 
फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले केन्द्रीय समितिदेखि सबै विषयमा संख्यामै टुंगो लगाउनुपर्ने प्रस्ताव गरे पनि देउवाले विगतमा पनि सँगै काम गरेको भन्दै मिलाएरै पार्टीलाई अघि बढाउने आश्वासन दिएका छन्।  

प्रकाशित: ३० आश्विन २०७४ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App