coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोलखामा माओवादी केन्द्रलाई सिट नदिन एमाले भित्र चर्को लबिङ

दोलखा- एमाले र नेकपा माओवादी केन्द्रबीच ‘पानी बाराबार’ सम्मको टकराव सम्बन्ध रहेको दोलखामा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई सिट नदिन एमाले जिल्ला नेतृत्वले पार्टी केन्द्रमा चर्को दबाब थालेको छ।

द्वन्दकाल देखि शान्ती प्रक्रियाका साथै स्थानीय र संविधान सभा चुनाव र विभिन्न घटनाक्रमका क्रममा विपरित ध्रुवमा बसेर एक अर्का विरुद्ध लडेका  दुई दलका नेता कार्यकर्ताबीच जिल्लामा टकरावपूर्ण सम्बन्ध रहेका कारण माओवादी केन्द्रका उम्मेदवारलाई भोट माग्न नसक्ने भन्दै एमाले जिल्ला कमिटिले तीन ओटै सिटमा एमालेकै उम्मेदवार उठाउन माग गर्दै केन्द्रीय नेतृत्व समक्ष ‘डेलिगेसन’ लिएर गएको छ।

दोलखामा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र छन्। गत स्थानीय चुनावमा गौरीशंकर गाउँपालिका २ मा माओवादी आक्रमणबाट एमाले कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै परिवारको तर्फबाट एमाले जिल्ला नेतृत्व मार्फत माओवादीका पोलिटब्युरो सदस्य देवी खड्का, गंगा कार्की, जिल्ला नेताहरु बिशाल खड्का सहित ३९ जना नेता कार्यकर्ता विरुद्व दायर भएको मुद्दा जिल्ला अदालतमा अझै विचाराधिन छ।

बहुदल यता अधिकांश चुनाव र स्थानिय तहमा कांग्रेस माओवादी केन्द्र मिल्दा समेत एमालेले एक्लै जितेको र स्थानिय चुनावको मतपरिणाम अनुसार माओवादी केन्द्र कमजोर मत परिणाम सहित तेश्रो स्थितीमा रहेको भन्दै दोलखाका तीन ओटै सिट माओवादीलाई दिन नहुने उनिहरुको भनाई थियो।

एमाले जिल्ला नेतृत्वले गत सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी ओली, नेताहरु माधव नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल सहित माओवादी केन्द्र संगको सिट बाँडफाडमा रहेका नेताहरुलाई भेटेर दोलखा बहुदल यताका प्राय चुनाव एमालेले एक्लै जित्दै आएको जिल्ला भएको र माओवादी केन्द्रसंग टकरावपूर्ण सम्बन्ध रहेका कारण उनिहरुसंग मिलेर जिल्लामा चुनाव लड्न नसकिने भन्दै दोलखामा सिट नदिन लविङ गरेका थिए।

स्रोतका अनुसार डेलिगेसनमा एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, उपाध्यक्ष नरबहादुर श्रेष्ठ, सचिव भरत दुलाल, उपसचिव डबल पाण्डे, शनिबार कार्यकाल सकिएको संसदका सांसदहरु, दोलखा एमालेबाट केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने नेता सहित राजधानीमा उपलब्ध जिल्ला नेता कार्यकर्ता सहभागी थिए।

          स्रोतका अनुसार उनिहरुले गत स्थानीय चुनावमा गौरीशंकर गाउँपालिकाको जुंगुमा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको हत्या गरेको, पोलिटब्युरो सदस्य सहित जिल्लाका ३९ जना माओवादी नेता कार्यकर्ता विरुद्व अदालतमा हत्या मुद्दा बिचाराधिन रहेको, केन्द्रमा एकीकरण भएपनि तल्लो तह सम्म टकराव कै स्थिति रहेको र यस्तो स्थितीमा माओवादी केन्द्रका उम्मेदवारलाई भोट माग्न नसकिने तर्क एमाले अध्यक्ष ओली सहितका नेताहरुलाई गरेका थिए।

बहुदल यता अधिकांश चुनाव र स्थानिय तहमा कांग्रेस माओवादी केन्द्र मिल्दा समेत एमालेले एक्लै जितेको र स्थानिय चुनावको मतपरिणाम अनुसार माओवादी केन्द्र कमजोर मत परिणाम सहित तेश्रो स्थितीमा रहेको भन्दै दोलखाका तीन ओटै सिट माओवादीलाई दिन नहुने उनिहरुको भनाई थियो।

प्रतिउत्तरमा अध्यक्ष ओलीले ६०/४० को भागबण्डा मिलाउनुपर्ने भएका कारण समस्या रहेको भन्दै सकभर दोलखा एमाले प्रति न्यायोचित निर्णय गर्ने प्रतिक्रिया दिएका थिए।

स्रोतका अनुसार कार्यदलमा रहेका एमाले नेताले केही जिल्लामा यस्तै टकरावपूर्ण सम्बन्धका कारण समस्या रहेको भन्दै माओवादी जनाधार बलियो भएको जिल्लामा माओवादी केन्द्र र एमाले बलियो भएको जिल्लामा एमालेलाई नै सबै सिटमा जिताउने गरी वाम गठबन्धन लाग्ने बिषयमा छलफल चलिरहेको समेत बताएका थिए।

एमाले जिल्ला सचिव भरत दुलालले वाम गठबन्धनलाई नै अफ्ठेरो पार्ने गरी सम्बन्धको बिषयलाई लिएर डेलिगेसन गएको नभई धुम्बाराहीमा जिल्ला तहका केही पदाधिकारीले केन्द्रिय नेतालाई भेटेर सिट बाँडफाड बारे सुझाव मात्र दिएको दाबी गरे। ‘जिल्लामा दुई पार्टी बिचको सम्बन्धलाई लिएर वाम गठबन्धनलाई नै अफ्ठेरो पार्ने नियतले ‘डेलिगेसन’ भनेर हामी धुम्बाराही गएका हैनौ’ उनले नागरिकसंग भने– ‘एकीकरण प्रक्रिया चलेपनि दुई पार्टी आ–आफ्नै चुनाव चिन्हबाट निर्वाचन लड्न लागिरहेका कारण एमाले जनाधार भएको जिल्लाका सबै सिटमा एमाले उम्मेदवार र माओवादी केन्द्रको जनाधार भएको जिल्लाका सबै सिटमा माओवादी केन्द्रका उम्मेदवार मात्र लड्ने गरी सिट बाँडफाँडको निती बनाउन नेताहरु समक्ष सुझाव दिन गएका थियौं।’

माओवादी केन्दको ‘लविङ’ प्रतिनिधि सभा
प्रदेशमा २ र केन्द्रमा १ सिट रहेको दोलखामा प्रतिनिधि सभा (केन्द्र) सदस्यका लागी माओवादी केन्द्रले पोलिटब्युरो सदस्य देवी खड्कालाई पार्टीको तर्फबाट सर्वसम्मत उम्मेदवार घोषणा गरिसकेको  छ।

कानुनअनुसार समावेशी सहभागिताका लागी अब बन्ने व्यवस्थापिका संसदमा महिलाको संख्या पु¥याउनु पर्ने र उक्त संख्या पुर्ती समानुपातिकबाट मात्र नहुने कारण प्रत्यक्ष तर्फ आफ्नो पार्टीबाट महिला उम्मेदवार रहेकाले प्रतिनिधि सभा सदस्य उम्मेदवार लिन माओवादी केन्द्रको सिट बाँडफाड कार्यदलमा रहेका नेताहरु समक्ष जिल्ला नेतृत्वले लविङ गरिरहेको छ।

एमाले र माओवादी केन्द्र गरेर दुवै पार्टीको कार्यदलका सदस्यहरुको लिष्टमा महिला मुद्धालाई जोडेर दोलखाको प्रतिनिधि सभा सदस्यको सिट माओवादी केन्द्रको भागमा पर्न लागेको थाहा पाएपछि उक्त बिषय कमजोर बनाउन एमाले जिल्ला नेतृत्वले हल्ला चलाएको माओवादी केन्द्रको आरोप छ।

‘महिलाहरुको सिट नपुग्ने कारण देवी दड्काका लागी केन्द्रिय समितिकै नेताहरुले वकालत गरिरहनुभएको छ’ जिल्ला नेता बिशाल खड्काले भने – ‘प्रतिनिधि सभा सदस्यको सिट माओवादी केन्द्रले लैजाने भो भनेर यो बिषय कमजोर बनाउन उहाँहरु (एमाले) ले हल्ला मात्र चलाउनुभएको हो, केही हैन’ – ‘समानुपातिकमा मात्र राख्दा पछि समस्या हुने भएका कारण महिलालाई प्रत्यक्ष तर्फ समेत वाम गठबन्धनले उतार्न लागेकाले हाम्रो जिल्ला पार्टीका सर्वसम्मत उम्मेदवार देवी खड्काले वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनाईने निर्णय हुनेछ’।

आईतबार साँझ सम्म खड्काको नाम समानुपातिकको बन्द सुचीमा राखेर पठाईएको चर्चा चलेपनि असोज ६ गते उम्मेदवारी फिर्ता गर्दा नाम फिर्ता लिन मिल्ने कारण ५ गते प्रत्यक्ष तर्फ उम्मेदवारी दिएर प्रत्यक्ष निर्वाचन लड्न खड्कालाई अवरोध नहुने बिशालको तर्क छ ।

माओवादीलाई एक या दुई
दोलखामा संघको टिकटमा माओवादीको समेत उतिकै दाबी छ । ‘संघ नपाए दुई प्रदेश माओवादी केन्द्रले पाउने गरी निर्णय हुन्छ’ – ‘जिल्ला सहईन्चार्ज समेत रहेका खड्काले भने– । एमाले भित्र भने माओवादीलाई सकभर समानुपातिकमा मात्र रहने गरी अटाउन अन्यथा प्रतिनिधि सभा (संघ) र क्षेत्र नं १ लिएर क्षेत्र नं २ मात्र माओवादीलाई दिन एकथरी नेताको लविङ छ ।

प्रकाशित: २९ आश्विन २०७४ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App