१६ चैत्र २०८० शुक्रबार
राजनीति

वाम गठबन्धनमा खटपट

काठमाडौं- चुनावी तालमेल गरेका वामपन्थी दलबीच सिट बाँडफाँटमा विवाद चर्किएपछि दरार देखिएको छ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच विवाद बढेपछि गठबन्धनमा दरार देखिएको हो ।
एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी गठबन्धनसहित पार्टी एकता घोषणा गरिएको छ ।
माओवादीसँग विवाद बढेपछि नयाँ शक्ति पार्टीले गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएको छ । उसले आफूले दाबी गरेअनुसार सिट नपाए शुक्रबारसम्म गठबन्धनबाट बाहिरिने  अल्टिमेटम दिएको छ ।
‘भोलि (शुक्रबार) हुने पार्टीको केन्द्रीय समितिको बैठकअघि नै सहमति हुन सकेन भने हामी ‘आँखा’ चुनाव चिह्न लिएर अघि बढ्ने छौं,’ सिट बाँडफाँटका लागि नयाँ शक्तिबाट कार्यदलमा प्रतिनिधित्व गरेका गंगा श्रेष्ठले भने, ‘एमाले होइन, हामीप्रति माओवादी बढी रिजिड भयो । तीन दलका शीर्ष नेता मिलेर समस्या समाधानका लागि प्रयास भएको हो । हामी चुनावी गठबन्धनमा मात्रै आएका होइनौं ऐतिहासिक पार्टी एकताका लागि आएका हौं ।’
उनले सहमति भए सूर्य र नभए ‘आँखा’ चुनाव चिह्न लिएर चुनावमा जानेछौं । नयाँ शक्तिले प्रत्यक्षतर्फ १५ सिट मागेको छ । उसले पार्टी संयोजक बाबुराम भट्टराईका लागि गोर्खा निर्वाचन क्षेत्र नं–२ मागेको छ । सो क्षेत्रबाट माओवादी केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उठाउने तयारी गरेको छ । माओवादी केन्द्रले भट्टराईलाई काठमाडौंको कुनै क्षेत्र वा समानुपातिकतर्फबाट उम्मेदवार हुन सुझाएको छ ।
एमाले र माओवादीबीच ६० र ४० को अनुपातमा सिट भागबन्डा गर्ने सहमति भएको छ । माओवादी केन्द्रका नेता श्रेष्ठले गोरखा दुईबाट आफ्नो उम्मेदवारीका लागि सिफारिस भएको बताएका छन् । ‘बाबुरामजीले के गर्नु हुन्छ थाहा भएन । पार्टीले गर्ने निर्णय मेरा लागि सर्वोपरी हो,’ श्रेष्ठले भने । माओवादीले भट्टराईले संविधानसभाबाट राजीनामा दिएर जनमतको अपमान गरेको आरोप लगाएको छ ।
दोस्रो संविधानसभाबाट संविधान जारी हुनेबित्तिकै भट्टराईले माओवादी केन्द्र र संसद् सदस्यबाट राजीनामा दिएका थिए ।
‘माओवादी र नयाँ शक्तिबीच अलिबढी भावनात्मक समस्या जस्तो देखिएको छ’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘तीन दलबीच पार्टी एकता घोषणा भएको हो । त्यसैले चुनावी गठबन्धनको विषय समस्या पार्ने गरी अघि जाँदैन ।’

प्रकाशित: २७ आश्विन २०७४ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App