coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश २ र ६ मा आधा–आधा सिट

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनको कार्यदलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर ६ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बराबरी हुनेगरी सिट संख्या बाँडफाँट गर्ने प्रारम्भिक सहमति भएको छ ।
प्रारम्भिक सहमति अनुसार प्रदेश २ मा एमालेले १६ र माओवादीले १६ सिट तथा प्रदेश ६ मा एमालेले ६ र माओवादी केन्द्रले ६ सिट पाउने छन् । प्रदेश २ र ६ सहित अन्य प्रदेशका बारेमा निर्णय लिन बिहीबार बिहान संयुक्त कार्यदलको बैठक बस्दैछ ।
‘प्रदेश नम्बर २ मा एमाले र माओवादीबीच बराबर हुनेगरी प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र भागबन्डा गर्ने सहमति भइसकेको छ,’ माओवादी नेता भरत साहले नागरिकसँग भने, ‘जसअनुसार प्रदेश नम्बर २ मा एमालेले १६ र माओवादीले १६ वटा सिट पाउने छ । त्यसका लागि कुनकुन निर्वाचन क्षेत्र भन्ने विषयमा कार्यदलको बैठकले अन्तिम टुंगो लगाउनेछ ।
‘प्रदेश २ बाट  प्रतिनिधिसभाका कम्तीमा १५ वटा सिट जित्ने उद्देश्यसहित भागबन्डा गरिँदैछ,’ स्रोतले भन्यो । जसअनुसार सप्तरी, वारा र पर्सामा एमालेले बढी क्षेत्र पाउने छ भने माओवादीले सिरहामा बढी क्षेत्र पाउने छ । ६४ वटा प्रदेशसभा सदस्यको हकमा एमालेले जितेका स्थानीय तह रहेका प्रदेशमा एमालेले नै प्राथमिकता पाउने छ भने माओवादीको हकमा पनि यही नीति लागू हुनेछ ।
प्रदेश नम्बर ६ बाट प्रतिनिधिसभामा १२ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये एमालेलाई ६ र माओवादीलाई ६ वटा बाँटफाँट गर्ने प्रारम्भिक सहमति जुटेको छ । तर, ६ नम्बर प्रदेशसभाका बारेमा भने सहमति हुन सकेको छैन ।
एमालेको भागमा दैलेखका २ वटा निर्वाचन क्षेत्रसहित मुगु, डोल्पा र सुर्खेत–१ परेको छ भने माओवादी केन्द्रलाई जाजरकोट, रुकुम, सल्यान, कालिकोट, जुम्ला परेको छ । तर, सुर्खेत–२ र हुम्ला कसलाई दिने÷लिने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।
‘सुर्खेत–२ र हुम्ला कुन पार्टीले लिने र प्रदेशसभा सदस्य सिट संख्या बाँडफाँट टुंगिन बाँकी छ,’ एमाले प्रचार विभागका सचिव विष्णु रिजालले भने । उनका अनुसार केही दिनभित्र यो विषय टुंगो लाग्दैछ ।
प्रदेश नम्बर १ मा माओवादीलाई प्रतिनिधिसभाका लागि ५ सिट दिइने प्रस्ताव एमालेबाट गएको छ । प्रदेश ४ मा  माओवादीलाई अन्य प्रदेशमा भन्दा बढी सिट दिने विषयमा मोटामोटी सहमति भएको छ । तर, प्रदेश नम्बर ३ मा सिट बाँडफाँटमा सबैभन्दा बढी जटिलता देखिएको छ । एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट पाउने सहमतिअनुसार निर्वाचन क्षेत्र भागबन्डा गरिँदैछ । कार्यदललाई असोज २२ गते नै बाँडफाँट टुंग्याउनुपर्ने निर्देशन भए पनि दुवै दलले आन्तरिक तयारी पूरा नगर्दा बुधबारसम्म पनि टुंगिन सकेको छैन् ।
 

संयुक्त घोषणापत्रको तयारी
एमाले र माओवादीले संयुक्त रुपमा चुनाव घोषणापत्र निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएका छन् । आत्मनिर्भरतासहितको आर्थिक विकास र समृद्धिको मूल अजेन्डासहितको घोषणापत्र लेखन कार्य भने अन्तिमतिर पुगेको बताइएको छ । ‘सामाजिक समानता र न्यायसहितको आर्थिक समृद्धि र विकास मुख्य अजेन्डा रहनेछ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘घोषणापत्र लेखन कार्य अन्तिमतिर पुगिसकेको छ ।’ उनका अनुसार कार्यदलका सदस्यलाई विभिन्न विषय बाँडफाँट गरेर घोषणापत्र लेखन कार्य भइरहेको छ ।  

प्रकाशित: २६ आश्विन २०७४ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App