coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

काठमाडौं- नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

एमाले संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रसहितका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजक समितिको बैठकमा यस्तो आशंका व्यक्त भएको हो । बैठकले निर्धारित मितिमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई भेटेरै दबाब दिने निर्णय गरेको छ ।

‘चुनाव नगराउने कुनै प्रावधान कतै पनि छैन, चुनाव गराउनेबाहेक अर्को बाटो छैन, संवैधानिक, राजनीतिक, नैतिक कुनै पनि ढंगले चुनाव नगराउन मिल्दैन’- केपी शर्मा ओली।

एमाले, माओवादी केन्द्रसहित नयाँ शक्ति नेपाल पार्टीबीच गठबन्धन भएपछि कांग्रेस आत्तिएकाले निर्वाचन नगराउन सक्ने आंशका गरिएको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए । ‘प्रगतिशील र वामपन्थी शक्ति मिलेर यो देश जोगाउने र समृद्धि कायम गर्न नेपालको संविधान र कानुनबमोजिम चल्दा पनि तथानाम किसिमले बदनाम गर्दैछन्,’ गौतमले बैठकपछि भने, ‘यसले के देखाउँछ भने अहिले नेपाली कांग्र्रेसको स्थिति ज्यादै कमजोर छ, अत्तालिएको छ र हत्तासिएको अवस्थामा पुगेको छ ।’
गठबन्धन अत्यधिक सिट संख्यासहित विजयी हुन सक्ने अवस्था देखिएकाले कांग्रेसले निर्वाचन गराउन नसक्ने आंशका गर्दै छलफल भएको हो । बैठकमा माओवादीका मन्त्री बर्खास्त गर्नेदेखि अन्य असंवैधानिक काम हुन सक्ने भन्दै सामूहिक रुपमा प्रधानमन्त्रीलाई भेटेर नै ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
‘कमजोर भएको अवस्थामा राजनीतिक पार्टीका नेता निराश हुन्छन्, त्यस्तो बेला उनीहरुले अराजकता फैलाउँछन्, आतंक मच्चाउन सक्छन् वा आत्मसमर्पण गर्न पनि सक्छन,’ गौतमले भने, ‘संविधान र कानुनबमोजिम केही षड्यन्त्र गर्छन् भन्ने शंका लागेको छ, त्यसो नगर्न चेतावनी दिने, उनीहरुसँग बसेर तदनुरुप काम गर्ने÷गराउने, मिति घोषणा गरिसकिएकाले धाँधलीरहित तरिकाले चुनाव सम्पन्न गरियोस् भनेर सल्लाह दिने कुरा भएको छ ।’ उनका अनुसार त्यस्तो सल्लाह सामूहिक रुपमा नै दिइनेछ ।

प्रधानमन्त्री देउवाले मंसिर १० को निर्वाचनलाई स्थगित गरी मंसिर २१ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने आन्तरिक तयारी गरिरहेको आंशका वामपन्थी गठबन्धनको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति सार्ने विषय सोच्न पनि नसकिने उल्लेख गरेका छन् । ‘चुनाव नगराउने कुनै प्रावधान छैन, चुनाव गराउनेबाहेक अर्को बाटो छैन, संवैधानिक, राजनीतिक, नैतिक कुनै पनि ढंगले चुनाव नगराउन मिल्दैन’, बैठकपछि सञ्चारकर्मीसँग ओलीले भने, ‘यो सरकार अब काम चलाउ, बिल्कुल काम चलाउ हो, यसको काम चुनाव गराउनेमात्र हो ।’ उनका अनुसार निर्वाचनबाहेक अन्य काम नगर्न पनि ओलीले चेतावनी दिएका छन् ।
 

मन्त्री हेरफेर-विस्तारमा आपत्ति
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी मन्त्रीलाई बर्खास्त गरी कमल थापा नेतृत्वको राप्रपालगायतका दललाई लगेर सरकार पुनर्गठन गर्ने प्रधानमन्त्री देउवाको आन्तरिक तयारीप्रति आपत्ति जनाएका छन् ।
‘आचारसंहिता लागू भएपछि मन्त्रिमण्डल हेरफेर गर्न मिल्दैन,’ ओलीले भने, ‘यसअघिको विस्तारबारेमा पनि  दुईदुईपटक पत्र काटेर निर्वाचन आयोगले सच्याऊ भनिसक्यो ।’
सिट बाँडफाँट अन्तिमतिर
एमाले र माओवादी केन्द्रबीच प्रदेश तथा प्रतिनिधिसभा सदस्य सिट संख्या बाँडफाँट अन्तिमतिर पुगेको नेताहरुले बताएका छन् ।
बैठकमा निर्वाचन क्षेत्र निर्धारण समिति र घोषणापत्र तयारी समितिका बारेमा भएको छलफलबारे जानकारी गराइएको थियो । ‘भोलि (मंगलबार) सम्ममा सिट बाँडफाँट अन्तिम टुंगोतिर पुग्ने प्रयास छ’, गौतमले भने ।

प्रकाशित: २४ आश्विन २०७४ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App