८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस

पश्चिमेली ब्युरो
नेपालगन्ज- आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले धमाधम उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेका छन् । नेता–कार्यकर्तालाई खुसी पार्न मापदण्ड नबनाएरै जिल्ला तहबाट ठूलो संख्यामा आकांक्षीको नाम सिफारिस गरिएपछि केन्द्रलाई उम्मेदवार छान्न असहज हुने भएको छ ।
प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ छ निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा चारजनाको नाम सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष झविलाल पोखरेलले बताए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बृजेशकुमार गुप्ताको नाम सर्वसम्मत सिफारिस गरिएको छ । त्यस्तै प्रतिनिधिसभातर्फको ३ नम्बर निर्वाचन क्षेत्रमा पाँचजनाको नाम सिफारिस गरिएको छ । कपिलवस्तुको प्रदेश सभातर्फको निर्वाचन क्षेत्र नम्बर १ मा एक महिलासहित पाँच जनाको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर २ मा पाँच जनाको नाम केन्द्रमा पठाइएको एमालेले जनायो । प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर ३ मा दीर्घनारायण पाण्डेको एकल नाम सर्वसम्मत सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ मा तीनजनाको  नाम प्रदेश सांसदका लागि सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर ६ मा मिर्जा अर्रसद बेगको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख एलपी बेल्वासेले बताए ।
बाजुरामा माओवादीले दुवै निर्वाचनका लागि २८ जनाको नाम सिफारिस गरेको छ । बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी २८ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको नाम सर्वसम्मत गरिएको छ भने प्रत्यक्षतर्फको समानुपातिकतर्फ सातजनाको नाम सिफारिस गरिएको पार्टी कार्यालय सचिव सुरेश विकले बताए । प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्षमा दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ आठजनाको नाम केन्द्रमा पठाइएको छ । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ पनि दुईजनाकै नाम सिफारिस गरिएको छ ।  समानुपातिकतर्फ भने नौं जनालाई छानिएको छ ।
एमालेले प्रदेश र संघको निर्वाचनका लागि ४६ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४६ जनाको नाम सिफारिस गरेको हो ।
मुगुमा एमालेले प्रदेशसभामा प्रत्यक्षतर्फ दुईजना, प्रतिनिधिसभामा एकजना गरी तीनजना र समानुपातिकतर्फ पनि तीनजना गरी छ जनाको नाम छनौट गरेको छ ।
कांग्रेसले पनि प्रतिनिधिसभाका लागि हस्तबहादुर मल्लको नाममात्र सिफारिस गरेको छ भने प्रदेशसभाका लागि पनि एक नम्बर क्षेत्रमा तिलकबहादुर मल्ल र दुई नम्बर क्षेत्रमा खडकबहादुर शाहीको नाम सिफारिस गरेको छ । समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाको निर्वाचनका लागि दुईजना तथा प्रदेशसभाका लागि एकजनाको नाम सिफारिस गरेको कांग्रेसले बताएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि मंगलबहादुर शाहीको नाम र  प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट सन्तोषकुमार मल्ल, क्षेत्र नम्बर २ का बाट राजु कार्कीलाई उम्मेदवार बनाएको छ  ।
बझाङमा कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ र २ बाट खुला र समानुपातिक गरी ५४ जनाको नाम केन्द्रमा पठाएको छ । एमालेले पनि खुलामा १ नम्बर क्षेत्रबाट तीनजना र दुई नम्बर क्षेत्रबाट तीनजना र प्रतिनिधिसभाका लागि दुईजनाको नाम पठाएको छ । एमालेले भने समानुपातिको नाम छनोट गरेको छैन । माओवादी केन्द्रले खुला र समानुपातिक गरी ११ जनाको नाम केन्द्रमा पठाएको बताएको छ ।
जाजरकोटमा एमालेले मतदान प्रक्रियाबाट उम्मेदवारको नाम छनोट गरेको छ । संघीय संसदका लागि  केन्द्रीय सदस्य भैरबसुन्दर श्रेष्ठ र  पूर्वसांसद गोविन्दविक्रम शाहको नाम टुंग्याइएको छ । प्रदेशसभा अन्तरगत  क्षेत्र नम्बर १ बाट एक महिलासहित तीनजनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट पनि तीनजनाको नाम सिफारिस गरिएको बताइएको छ । कांग्रेसबाट प्रतिनिधिसभाका लागि वर्तमान सांसद राजीवविक्रम शाह, प्रदेशसभाका लागि  क्षेत्र नम्बर १ बाट वेदराज सिंह र दुईबाट पूर्वसांसद तथा पार्टी सभापति  दीपकजंग शाहको नाम टुंगिएको छ । माओवादी केन्द्रबाट  प्रतिनिधिसभाका लागि पूर्वगृहमन्त्री तथा सांसद शक्तिबहादुर बस्नेत, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नम्बर २ बाट नरबहादुर कार्कीको नाम सिफारिस गरिएको छ ।
दार्चुलामा एमालेले केन्द्रीय सदस्य तथा सांसद गणेशसिंह ठगुन्नालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस गरेको छ । समानुमातिकतर्फ पाँचजनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा क्षेत्र नं. १ बाट  प्रत्यक्षतर्फ तीनजनाको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको छ भने समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख खडकसिंह वडालले बताए  । त्यस्तै २ नम्बर क्षेत्रबाट प्रत्यक्षका लागि वीरबहादुर ठगुन्नालाई सर्वसम्मत चयन गरिएको छ भने समानुपातिकमा दुई जनाको नाम सिफारिस गरिएको एमाले दार्चुलाले जनाएको छ ।
बैतडीमा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सातजना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
रोल्पामा कांग्रेसले संघको प्रत्यक्षतर्फ सिँचाइ राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्पm नौं जनाको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभातर्फ प्रत्यक्षमा क्षेत्र नम्बर १ मा जिल्ला सचिव शेरबहादुर महरा र क्षेत्र नम्बर २ मा कोषाध्यक्ष खट्कबहादुर खत्री, खगेन्द्रप्रकाश हमाल, दीपक श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट आठजनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ बाट सातजनाको नाम सिफारिस गरेको हो ।  एमालेले प्रत्यक्षतर्फ पोलिटब्युरो सदस्य तथा सचेतक गोकुलप्रसाद घर्ती र समानुपातिकतर्फ कुमार दसौदीको नाम सिफारिस गरेको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ  क्षेत्र नम्बर १ मा पर्शुराम घर्ती र २ मा जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ १६ जनाको नाम पठाएको बताइएको छ ।     माओवादी केन्द्रले संघमा प्रत्यक्षतर्फ पूर्व अर्थमन्त्री वर्षमान पुनमगरलाई चुनावी मैदानमा भिडाउने भएको छ । यसैगरी प्रदेशका लागि क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य जोखबहादुर महरा र कुलप्रसाद केसीको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट केन्द्रीय सचिवालय सदस्य दीपेन्द्रकुमार पुनमगर भिड्ने भएका छन् । यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि दुईजना र प्रदेशका लागि क्षेत्र नं. १ र २  बाट सात÷सात जनाको नाम सिफारिस गरिएको छ ।
गुल्मीमा एमालेले दुवै क्षेत्रबाट सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले गुल्मीको बैठकले पार्टीका दुई केन्द्रीय सचिव प्रदीप ज्ञवाली र गोकर्ण बिष्टलाई सिफारिस गरेको हो । ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट र बिष्ट क्षेत्र नम्बर २ बाट सिफारिस भएका हुन् । जिल्लाबाट ४ वटा प्रदेशसभामा विभाजन भएको छ । यस्तै प्रदेशसभातर्फ २ नम्बर क्षेत्रबाट पूर्वसांसद कमल श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । अन्य तीनवटा प्रदेशका क्षेत्रबाट धेरै आकांक्षीहरु भएसँगै नाम सर्वसम्मत बनाउने तयारी भइरहेको एमाले गुल्मीले जनाएको छ ।
कांग्रेसले दुवै निर्वाचनका लागि ९३ जनाको नाम केन्द्रमा पठाएको छ  । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्ष र समानुपातिक गरी ३४ जना र क्षेत्र नम्बर २ बाट १८ जनाको नाम केन्द्रमा सिफारिस गरिएको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ २२ जना र समानुपातितर्फ १९ जनाको नाम केन्द्रमा पठाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको लागि गरी प्रत्यक्ष र समानुपातिक गरी कुल ९३ जनाको नाम केन्द्रमा पठाइएको कांग्रेसले जनाएको छ ।

राजदूत उपाध्याय उम्मेदवार सिफारिस  
कांग्रेस क्षेत्रीय समिति कपिलबस्तुले पूर्वमन्त्री तथा भारतका लागि राजदूत दीपकुमार उपाध्यायको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ । क्षेत्र नम्बर १ ले उनको नाम सिफारिस  गरी जिल्लामा पठाएको हो । उनीसँगै सांसद अतहर कमाल र पूर्वराज्यमन्त्री कमलेशकुमार शर्माको नाम पनि सिफारिस गरी पठाइएको छ ।

प्रकाशित: २२ आश्विन २०७४ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App