coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनको उम्मेदवार निर्धारण कार्यदल गठन

काठमाडौं- नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले उम्मेदवार चयनका लागि सात सदस्यीय कार्यदल बनाएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सात सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण कार्यदल गठन गरिएको हो । कार्यदलमा पोखरेलसहित एमालेका तीन, माओवादी केन्द्रका तीन र नयाँ शक्ति पार्टीबाट एक सदस्य छन् ।
कार्यदलमा एमालेका महासचिव पोखरेल, नेताहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ छन् । श्रेष्ठले  कार्यदलले बिहीबारदेखि काम थाल्ने बताए ।
कार्यदललाई नयाँ शक्ति तथा अन्य दलका लागि छुट्ट्याइएको उम्मेदवारबाहेक प्रत्यक्षतर्फ एमालेलाई ६० प्रतिशत र माओवादी केन्द्रलाई ४० प्रतिशत हुने गरी उम्मेदवार तय गर्ने जिम्मेवारी दिइएको छ । एमाले, माओवादी र नयाँ शक्तिले मंगलबार चुनावी तालमेलसँगै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् ।
त्यसैगरी चुनाव घोषणापत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल र प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ र विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा छन् ।
पार्टी एकता संयोजन समितिले समानुपातिकतर्फका उम्मेदवारी भने आआफ्नै दलका तर्फबाट दिने निर्णय गरेको छ ।
आगामी असोज २९ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारी निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ । त्यसैगरी कात्तिक ५ गते प्रदेश तथा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयनका दर्ता गर्ने तालिका निर्वाचन आयोगले जारी गरेको छ ।

प्रकाशित: १९ आश्विन २०७४ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App